Logo
|
Saturday 20th April 2024
Logo

epaper

खोप अभाव हुने सम्भावना बढ्यो

खोप उत्पादक कम्पनि सेरमलाई सरकारको पत्राचार



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोप अभियानलाई निरन्तरता दिन खरिद प्रक्रियालाई तीब्रता दिएको छ । खोपको थप परिमाण यथाशीघ्र उपलब्ध गराउन खोप उत्पादक कम्पनिलाई पत्राचार गरेको छ ।
भारतबाट उपलब्ध कोभिसिल्ड खोप शुक्रवारसम्म १३ लाख ५० हजार भन्दा बढीले लगाइसकेका छन् । फागुन २३ गतेबाट शुरु गरिएको दोस्रो चरणको खोप अभियानमा ९ लाख भन्दा बढीले खोप लगाइसकेको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
यस अघि माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनाले खोप लगाएका थिए । सरकारले ७२ प्रतिशतलाई खोप लगाउने लक्ष्य लिएको छ । हालसम्म ४ दशमलव ५ प्रतिशतले खोप लगाइसकेका छन् ।

कोभिड-१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले खोप अभाव हुन नदिन पत्राचार गरिएको जानकारी दिनुभयो । कोभिसिल्ड खोप उत्पादक सेरम इन्स्ष्टिच्युट अफ ईन्डियालाई पत्राचार गरिएको छ ।

गत माघ ८ गते नेपालले भारतबाट १० लाख डोज (मात्रा) खोप प्राप्त गरेको थियो । त्यस लगत्तै सरकारले सेरम इन्स्ष्टिच्युटबाट २० लाख डोज खरिद गरेको हो । एक डोजको चार रुपैंया डलरमा खरिद गरिएको थियो । जसमध्ये १० लाख डोज मात्र नेपाल भित्रिएको छ । बाँकी १० लाख डोज छिटै उपलब्ध गराउन पत्राचार गरिएको डा.उप्रेतीले जानकारी दिनुभयो ।

यस बाहेक थप ५० लाख डोज पनि खरिद प्रक्रिया अघि बढाइएको छ । खरिदकालागि सेरम इन्स्ष्टिच्युटसँग नेगोसियसन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताउनुभयो ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई करिब १ करोड ३० लाख डोज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । जसमध्ये ३ लाख ४८ हजार डोज नेपाल खोप आइसकेको छ । बाँकी खोप ल्याउन पहल भइरहेको डा. उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्