पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह बिहीबार, ४३ विद्यार्थी दीक्षित हुँदै
नेपाल हेल्थ न्युज, गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिनरमास्टर अफ सर्जरी’ (एमडी–एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिनुभयो ।
साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।