Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ। कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो। मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमणदर पनि बढेर गएकाले सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो-‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पुरै बन्द गर्नुपर्छ। एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जनाभन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ। त्यो पनि अब कति दिनपछि नगर्नुस भन्नु पर्ने अवस्था आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड, ठूलाठूला ग्यादरिङहरु सबै बन्द गर्नु पर्छ भनेर हामीले भनेका छौं। यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु। अहिले छिटपुट रुपमा कोभिड–१९ का केसहरु गएको महिनाको भन्दा बढेर गयो। अस्पतालमा आइसियुमा विरामीहरु धेरै नै भर्ना भइसकेका छन्। त्यसबाट के बुझिन्छ भने अब कोरोनाको ग्राफ उकालो लाग्यो। अब बढ्न थाल्यो। अब हामीले ध्यान दिएनौं भने फेरि संक्रमण एकदम बढेर जान्छ।’

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नु पर्ने अवस्था आइसकेको पनि बताउनुभयो । त्यसका लागि भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनु पर्ने उहाँकोभ भनाइ छ । यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्