Logo
|
Wednesday 8th May 2024
Logo

epaper

अस्टीयोआर्थराइटिस्: भ्रम र तथ्य



जनस्वास्थ्य सरोकार। हामी मानिसले आफ्नो जीवनकाल रहँदा सम्म दिनहुँ अनगिन्ती भौतिक क्रियाकलापहरु गरिरहेका हुन्छौ । यस्ता क्रियाकलापहरु गर्दा हाम्रो शरीरमा रहेका हाडजोर्नीको विशेष भूमिका हुन्छ । जोर्नीको संरचनालाई नियालेर हेर्दा यसमा २ हड्डी रहेका हुन्छन् जसको तल्लो भागमा कुरकुरे हड्डी हुन्छ र २ हड्डीहरुको बीचमा साईनोभिसल फ्लुइडी नामक तरल पदार्थ हुन्छ जसले हड्डी बीचको घर्षणलाई न्यूनिकरण गर्ने काम गर्दछ । यसले गर्दा दैनिक क्रियाकलाप सहज रुपमा गर्न सक्छौँ । यस्तै २ हाडलाई मांशपेशी, लिगामेन्टले स्थिरता तथा क्रियाकलापहरुमा मद्दत गर्छ ।

बढ्दो उमेर र अन्य शारीरिक समस्याहरुले जोर्नीको हड्डीको तल्लो भागमा रहेको कुरकुरे हड्डी खिएर फुट्दै जान्छ । अनि नयाँ स–साना हड्डीका कणहरु बन्दै जान्छन् । यसलाई बोन स्पर भन्छौँ । साथै साइनोभिएल फ्लुडको मात्रा पनि असामान्य बढ्दै जाने गर्दछ । यी जोर्नीमा आउने सम्पूर्ण परिवर्तनले सानातिना भौतिक क्रियाकलाप गर्दा जोर्नीमा दुखाई महसुस हुन्छ । साथै सुजन पनि देखापर्छ । जोर्नीमा आउने परिवर्तनले सृजना गर्ने जोर्नीको असामान्य अवस्थालाई नै अस्टीयो आर्थराईटिस् अथवा गठिया वाथ भनिन्छ ।


अस्टीयो आर्थराईटिस भएका मानिसमा अरु विभिन्न लक्षणहरुपनि देखा पर्न सक्छन् । जस्तै जोर्नीमा हातले छुँदा दुःख्ने, भौतिक क्रियाकलाप गर्दा जोर्नीको भागमा आवाज आउने, जोर्नीमा भार पर्ने क्रियाकलाप जस्तै योग, व्यायाम, खेलकूद गर्दा दुखाई महसुस हुने, विश्राम गर्दा दुखाई कम हुँदै जाने आदि । तर सबै अस्टीयोआर्थराईटिस भएका व्यक्तिहरुले लक्षण नदेखाउन पनि सक्छन् । कतिपय अवस्थामा शरीरिक परीक्षण जस्तैःएक्स–रे मा यो अवस्था देखापरेमा व्यक्तिमा लक्षण नदेखिन पनि सक्दछ ।


वर्तमान परिस्थितिमा हामी माझ अस्टीयोआर्थराइटिससँग सम्बन्धित धेरै भ्रमहरु रहेका छन् । तर यस्ता भ्रमहरुलाई केलाएर बुझ्न आवश्यक छ । यसबाट समस्याको पहिचान ,रोकथामका साथै समयमै सहि उपचार गर्न सकिन्छ । साथै व्यक्तिगत जीवनशैलीमा पार्ने प्रभावलाई न्यूनिकरण गर्न मद्दत पु¥याउँदछ । भविष्यमा कस्ता क्रियाकलाप गर्दा र जीवनशैली अपनाउँदा समस्या रोक्न सकिन्छ भन्ने बारेमा पनि थाहा पाउन सकिन्छ । यस्ता धेरै भ्रम मध्ये धेरै सुनिरहेका केही भ्रमहरुलाई केलाउने प्रयास गरेका छौं ।

भ्रम नं.१. जोर्नीमा हुने हरेक दुखाई आस्टीयोअर्थराइटिस हो ।
जोर्नीमा धेरै अङ्गहरु हुने गर्दछन् । जसमा आउने परिवर्तनले जोर्नीमा दुख्ने समस्या हुन सक्दछ । यति मात्र नभई शरीरको तौलमा सन्तुलन नहुँदा पनि जोर्नीमा भार परेर दुख्ने समस्या देखा पर्नसक्छ । जोर्नीका वरिपरि रहेका मांशपेशी, तन्तु आदिमा चोटपटक लागेमा पनि हामीलाई दुखाई महसुस हुन्छ । त्यसैले जोर्नी दुख्नुको कारण पत्ता नलाई सबै दुखाई आस्टीयोआर्थराइटिस हो भन्नु सहि होइन ।

भ्रम नं. २. अस्टीयो आर्थराइटिस वृद्धावस्थामा मात्र देखा पर्ने शारिरीक समस्या हो ।
अस्टीयोआर्थराइटिस बुढेसकालमा देखिनै पर्ने अथवा देखापर्ने समस्या होइन । यो वंशाणुगत पनि हुने भएकाले कतिपय मानिसहरुमा सानै उमेर मै देखा पर्न सक्दछ । त्यसैगरी खेलकुदमा बढी सक्रिय युवाहरुमा पनि गम्भिर चोटपटक लागेमा यस्तो अवस्था देखा पर्न सक्दछ । साथै अत्यधिक शारीरिक तौल अनि कमजोर मांशपेशी भएका मानिसहरुमा पनि कम उमेरमै देखा पर्न सक्दछ । अहिलेको समयमा देखा परेका अस्टीयोआर्थराइटिसका बिरामीको अध्ययन र हाल हामीले बिताइरहेको जीवन शैलीको अध्ययनले २०३० सम्म ६५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुमा यो समस्याबाट ग्रसित हुने प्रवल सम्भावना देखिएको पाइन्छ । यदि यो समस्या सानै उमेरमा देखा परेमा शरीरको तौललाई कायम गर्ने, दैनिक व्यायाम गर्ने र चिकित्सको सल्लाह बमोजिम उपचार पाएमा रोकथाम र समस्या समाधानमा सहयोग पुग्छ ।
भ्रम नं. ३. हातका औला पड्काउने बानी भएका व्यक्तिलाई अस्टीयोआर्थराइटिस हुन सक्दछ ।
हातको औंला पडकाउने बानी धेरै मानिसमा देखिन्छ । मानसिक स्वास्थ्यको आयामबाट हेर्ने हो भने यो बानी एक किसिमको लत जस्तै हो जुन हामीले अचेतरुपमा पनि गरिरहेका हुन्छौँ जसले केही क्षणका लागि भएपनि तनावबाट मुक्त भएको अनुभुति दिन्छ । यो कार्य दिनहुँ गर्दा औलामा रहेका जोर्नी वरिपरिका हाड तथा मांशपेशीमा केही किसिमको परिवर्तन पक्कै आएतापनि यसले अस्टीयोआर्थराइटिस नै गराउँछ भन्नु चाँहि गलत हुन्छ । तर यसो भनिरहँदा हामीले औँला पडकाउन हुन्छ भन्ने मान्यता चाँहि राख्नुहुँदैन ।
भ्रम नं. ४. अस्टीयोआर्थराइटिस (गठिया) र रुमेटोइट आर्थराइटिस (बाथ) भनेको एउटै शारीरिक समस्या हो ।
यी दुवै आर्थराइटिसले जोर्नीमै असर गरेर दुखाई जस्तो साझा लक्षण देखिएता पनि २ फरक कारणले देखापर्ने अवस्थाहरु हुन् । यसको उपचार पद्धति र यसले शरीरमा पार्ने अन्य जटिलताहरु पनि फरक नै छन् । हाम्रो शरीरमा धेरै सेलहरु हुन्छन् । यदि शरीरमा रहेका सेलहरुले आफू वरिपरिका आफ्नै शरीरका सेलहरुलाई खाएमा वा नष्ट गरेमा शरीरमा एउटा अवस्थाको सिर्जना हुन्छ जसलाई मेडिकल भाषामा अटो इम्युन डिजीज भन्ने गर्दछौं । यसलाई निको पार्ने उपचार पद्धति कम भन्दा कम अथवा हुँदैनन् भन्ने बराबरमा हुन्छ । त्यस्तै रुमाटोइड आर्थराइीटस पनि शरिरको यस्तै समस्या हो जसले विशेषगरि शरिरका जोर्नीमा असर गरी भविष्यमा मुटुमा समेत समस्या निम्त्याउन सक्छ । शरीरको तौल सन्तुलित राखी नियमित व्यायाम गरेमा अस्टीयोआर्थराइटिसको रोकथाम गर्न सकिन्छ ।
भ्रम नं. ५. अस्टीयोआर्थराइटीसलाई रोकथाम गर्न सकिँदैन ।
बढ्दो उमेर, वंशजमा रहेका जीनहरु, जन्मसँगै आएका जोर्नीका बिकृति र सानै उमेरमा लागेका गम्भीर चोटपटकहरुले भविष्यमा अस्टीयोआर्थराइटिस हुनसक्छ । यसलाई रोक्न सकिदैन । तर यी समस्या नभएका व्यक्तिहरुमा शरीरको तौल सन्तुलन राख्ने, दैनिक व्यायाम गर्ने, जोर्नीलाई पर्ने भार कम गरेमा रोकथाम गर्न सकिन्छ ।
भ्रम नं. ६.महिलाहरुमा हिल जुत्ताको प्रयोगले अस्टीयोआर्थराइटीस हुने गर्दछ ।
विशेषगरी कामकाजी महिलाहरुमा दिनहुँजसो अग्ला हिल भएका जुत्ताको प्रयोग गरेमा अस्टीयोआर्थराइटिस निम्ताउनसक्छ । यस्ता जुत्ताको प्रयोगले शरीरको सम्पूर्ण तौल घुँडामा पर्न जान्छ । यसले घुँडाको जोर्नीलाई असर गरी अस्टीयोआर्थराइटिस हुने सम्भावना बढाउँछ । तर हिल जुत्ताको प्रयोग कहिलेकाहीँ पनि गर्न नमिल्ने भन्ने चाँहि होइन ।

भ्रम. नं. ७. जोर्नीको दुखाई एउटा सामान्य समस्या हो जसको लागि चिकित्सको परामर्श लिन आवश्यक छैन ।
अधिकांश मानिसले जोर्नीमा हुने दुखाईको कुनै किसिमका रोकथाम अथवा उपचार नहुने र यसलाई निको पार्न शल्यक्रिया नै गर्नुपर्ने भ्रममा बसेका हुन्छन् । त्यसैले जोर्नी दुखाईलाई सहेर, हिँडडूल गर्न नमिल्दा समेत चिकित्सको परामर्श लिन पनि डराउने गरेको देखिन्छ । जोर्नीको दुखाई कम गर्ने र त्यसको कार्यक्षमता बढाउनु चिकित्सको पहिलो उद्धेश्य हो । यदि जोर्नीमा लामो समयसम्म दुखाई महशुस भएमा र यसले हाम्रो दिनचर्यामा समेत असर गर्न थालेमा चिकित्सको सल्लाह लिन जरुरी छ ।

बेलैमा चिकित्सको परामर्श लिएमा यसलाई औषधि, शल्यक्रियाबिना सामान्य दिनचर्यामा परिवर्तन ल्याई रोकथाम अनि उपचार गर्न सकिन्छ । जोर्नीको संरचनालाई सामान्य राख्न विभिन्न साधन जस्तैः विशेष प्रकारको जुत्ता, विज्ञ चिकित्सकको परामर्श अनुसार प्रयोग गर्न सकिन्छ । यसोगर्दा पनि दुःखाई कम नभएमा चिकित्सकको परामर्शको औषधि सेवन गर्नुपर्ने हुन्छ । साथै आवश्यक परेमा अन्तिम उपचार पद्दति शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्दछ ।


भ्रम नं. ८. जोर्नी दुख्ने समस्या भएका व्यक्तिले व्यायम गर्न हुँदैन ।
जोर्नी दुःखेका मानिसले व्यायाम गर्न नसक्ने अथवा गर्न नहुने भन्ने धारणा गलत हो । सामान्य व्यक्ति वा जोर्नीमा दुखाई भएको व्यक्ति दुवैमा व्यायम आवश्यक हुन्छ । फरक यति हो कि जोर्नी दुःख्ने समस्या भएका व्यक्तिले चिकित्सकको परामर्श अनुसार व्यायम गर्नुपर्ने हुन्छ । जोर्नीमा दुखाई भएका व्यक्तिले जोर्नीमा कम भार पर्ने व्यायम जस्तैः योगा, हिँड्ने, साइकलिङ्ग गर्न सक्दछन् । व्यायाम गर्नाले जोर्नीमा रहेका मांशपेशीको क्षमतामा वृद्धि आउनुका साथै लचिलोपना पनि आउँदछ । यसले जोर्नी चलाउन सहज हुन्छ । यदि धेरै व्यायाम गरेमा नदुखेका जोर्नी पनि दुख्न थाल्दछन् । यसो भएमा केही दिन विश्राम गरी हलुका व्यायामहरु पुनः सुरु गर्नुपर्दछ ।
भ्रम नं. ९. जोर्नीमा चिसो भन्दा तातोको सेकाई बढी प्रभावकारी हुन्छ ।
दुवै सेकाइ नै प्रभावकारी भएता पनि सेक्नु अगाडी दुखाईको कारण जान्न अत्यन्त जरुरी हुन्छ । चिसो र तातो दुवै सेकाइले बराबरी जोर्नीमा हुने दुखाई कम गर्न मद्दत पु¥याउँदछन् । तर भर्खर सुरु भएको चोट वा दुःखाईमा चिसो नै राम्रो हुन्छ तापनि चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ ।

भ्रम नं. १०. चिसो मौसमले अस्टीयोआर्थटाईटीस हुनसक्छ ।
गर्मी मौसमको तुलनामा जाडो अनि वर्षा मौसममा वातावरणको ब्यारोमेट्रीक प्रेसर कम हुने हुनाले चिसोका कारण जोर्नीका मांशपेशीहरु खुम्चने भएकाले जोर्नीमा दुखाई महशुस हुनु सामान्य मानिन्छ । यसले जोर्नीका हाडलाई भन्दा मांशपेशीलाई बढी असर गर्ने हुँदा चिसो मौसमकै कारणले अस्टीयोआर्थराईटिस हुन्छ भन्नु गलत हो ।

भ्रम नं. ११. हिँडडूल कम गर्नुपर्ने कार्यशैली भएका व्यक्तिलाई अस्टीयोआर्थराइटीस हुँदैन ।
विशेषगरी अस्टीयोआर्थराइटिस बढी पारिश्रमको काम गर्ने व्यक्तिमा देखिन्छ । तर यसो भन्दैमा कार्यालयमा बसेर प्रशासनिक लगायत अन्य कार्य गर्ने मानिसमा हुँदैन भन्नु गलत हो ।

लामो समय सम्म एउटै आशनमा बसेर काम गर्दा पनि यसले जोर्नीमा जक्डन ल्याई दुखाई हुनसक्दछ । जसरी धेरै परिश्रमको कार्य गर्दा यो समस्याको जोखिम बढ्छ । यसैगरी धेरै लामो समय क्रियाकलाप नगरी बस्दा पनि जोखिम त उत्तिकै नै बढ्न जान्छ । त्यसैले एकछिन भएपनि हिडडुल गर्न आवश्यक देखिन्छ । त्यसैगरी हप्तामा एक दिन मात्र व्यायाम गर्दा पनि यसले जोर्नीको समस्या ल्याउने जोखिम कम गर्न मद्धत गर्छ । हलमा हिँडडूल गरेमा मांशपेशीलाई तन्कन मद्दत पुग्दछ ।

तसर्थ अस्टीयोआर्थराइटिसका बारेमा सुनिँदै आएका यस्ता भ्रम भित्रका यर्थातताको ज्ञान राख्दै वास्तवमा अस्टीयोआर्थराइटिस भनेको के हो, के–कस्ता कारणले हुँदो रहेछ र यसका लक्षण लगायतका अन्य जानकारी राख्न अपरिहार्य छ । यस्ता कुराको ज्ञानले हामीलाई बेलैमा चिकित्सक सँग सम्पर्क गरी उचित परामर्श, उपयुक्त उपचार पद्दति, व्यायामको प्रयोगद्धारा यसलाई रोकथाम गर्नुका साथै यसको उपचार पनि गर्न सकिन्छ । (बस्नेत, ह्याम्स हस्पिटलमा प्रमुख फिजियोथेरापिष्ट हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्