Logo
|
Friday 26th April 2024
Logo

epaper

आन्तरिक उडानको आज अन्तिम दिन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । यदि तपाई घर जाँदै हुनुहुन्छ भने आजै आफ्नो टिकट लिएर सुरक्षित तरिकाले घर जानुहोस् ।

किनकी आन्तरिक उडानको आज अन्तिम दिन हो ।

सरकारले सोमबार मध्यरातीदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।


नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण तीव्र हुँदै जाँदा नियन्त्रण प्रयास स्वरुप सरकारले आन्तरिक हवाई सेवा बन्द गर्ने तयारी गरेको हो ।

नेपाल नागरिक उड्डन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार मध्यरातदेखि सेवा बन्द हुने भए पनि अहिले भने सबै सेवा प्रदायकका विमान सेवा सुचारु छ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा संक्रमण नियन्त्रणका लागि अहिले निषेधाज्ञा तथा लकडाउन गरिएको छ।

ती जिल्लाहरुमा निजी तथा सार्वजनिक यातायातमा रोक लगाइए पनि हवाई सेवा भने सुचारु छ।

तर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सुझावसहितको सिफारिसमा सरकारले आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको हो।

यसैबिच निश्चित गन्तव्यमा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

स्रोतका अनुसार मन्त्रीपरिषदले संक्रामक नयाँ भेरियन्ट देखिएका तथा त्यसको प्रभाव बढिरहेका देशहरुमा बुधबार (वैशाख २२ गते) मध्यरातदेखि उडान बन्द गर्ने निर्णय गरेको हो।

‘विभिन्न सञ्चारमाध्यममा अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको भन्दै खबर आएका छन् । तर हाम्रो जानकारीमा भएसम्म हाललाई नयाँ भेरियन्ट देखिएका भारत, ब्राजिल तथा दक्षिण अफ्रिकामा मात्रै उडान रोकिने हो’ स्रोतले भन्यो।

भारत, ब्राजिल तथा दक्षिण अफ्रिकामा देखिएका कोरोना भाइरसका नयाँ भेरियन्टहरु अति संक्रामक रहेका छन् । भारतमा हाल संक्रमणले भयावह अवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्