सन्तान सुख जतिको खुशी अरुले दिन सक्दैन
जनस्वास्थ्य सरोकार । मायालु स्वभाव, हरेक बिरामीलाई आफ्नै मान्छेजस्तो व्यवहार गर्ने । उहाँमा भेदभाव नगर्ने र सम्पूर्ण निःसन्तान दम्पत्तिहरुको दुःख, पीर, मर्का बुझ्ने स्वभाव छ । यो पेशा धेरै इमोसनसँग सम्बन्धित छ । निःसन्तान दम्पत्तिहरुलाई आफ्नो परिवारको सदस्यजस्तै मानेर उपचार गर्ने र थप निःसन्तानको खुशी बोकेर अघि बढ्दै गरेकी युवापुस्ताकी चिकित्सकका रुपमा चिनिन्छ डा. सबिना सिंखडालाई । नेपालगञ्ज मेडिकल कलेजबाट स्त्री तथा प्रशुति विधामा एमडी गरेपछि डा. सबिनाले ६ महिनाजति लेक्चररको रुपमा काम गर्नुभयो । त्यसपछि २०७१ सालतिर राजधानी सिफ्ट हुनुभयो र फर्टिलिटी स्पेशलिष्टको रुपमा ६ महिनाजति भेनस आईभिएफ सेन्टरमा काम गर्नुभयो । त्यसपछि सिनियर फर्टिलिटी स्पेशलिष्टको रुपमा वात्सल्यमा करिब साँडे ३ वर्षजति सेवा दिनुभयो । अरुको मातहतमा काम गर्दा कति कुरा आफूले भनेअनुरुप गर्न नपाइने, अरुको अनुमति लिनुपर्नेलगायतका समस्या हुनथालेपछि वरदान इन्फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन सफल भएको बताउनुहुन्छ डा. सबिना । जनस्वास्थ्य सरोकारको यस अंकमा हामीले डा. सबिनालाई कभर पेजमा प्रस्तुत गरेका छौं । निः सन्तान उपचारको करियरबारे डा. सबिनासँग गरिएको भलाकुसारी ।
निःसन्तान उपचारलाई नै किन छनौट गर्नुभयो ?
धेरै निःसन्तान दम्पत्तिहरुको रोदनलाई नजिकबाट नियाल्ने मौका पाएँ । यसले ‘केही गरौं’ भन्ने उत्साह जगायो र निःसन्तानहरुलाई सन्तान सुख दिने अभियानतर्फ समर्पित भएँ । हामीले चिकित्सा विज्ञान अध्ययन गरेको पनि सेवाकै लागि त हो । हामीजस्ता महिलाहरुका लागि परिवारको साथ र सहयोगको भूमिका पनि महत्वपूर्ण हुन्छ । घर परिवारको सपोर्ट नहुँदा करियरमा पछि धकेलिएका धेरै उदाहरण देख्न पाइन्छ । तर मलाई त्यस्तो भएन । श्रीमान् सकारात्मक सोच बोकेको अर्थोपेडिक सर्जन भएकाले करियरमा सफल छु । श्रीमान्को हौसलाका कारण सेवामा निरन्तर अगाडि बढ्न हिम्मत राखेँ । नत्र सबै नेपाली चेलीहरुको समस्या एउटै त हो नि । फर्टिलिटीमा करियर शुरु गर्दा टप १० भित्र थिएँ । अहिले पनि छु ।
सफलताको कडी केलाई ठान्नुहुन्छ ?
निःसन्तान दम्पत्तिहरुलाई जति नै सान्त्वना दिएपनि अन्ततः परिणाम महत्वपूर्ण हुन्छ । सम्बन्धित विधामा आफू निपूर्ण हुनुपर्छ । अन्यथा अगाडि बढ्न सक्ने अवस्था रहँदैन । इन्डियाका टिमसँग धेरै काम गर्ने र सिक्ने मौका पाएँ । जति धेरै बिरामीसँग एक्सपोजर भयोे त्यति नै कौशल विकास हुँदै जाने कुरा हो ।
मैले धेरै निःसन्तान दम्पत्तिहरुको उपचार गर्ने मौका पाएँ । सँगसँगै मार्गदर्शनअनुसार अघि बढ्ने अवसर प्राप्त गरेँ । यसले सफल करियरमा धेरै मद्धत गर्यो ।
कतिलाई सन्तान सुख दिन सफल हुनुभयो ?
गन्ति नै छैन । वरदानमा रेकर्ड राख्न थालेको छु । प्रति महिना १५ जनाको दरले ५ सय भन्दा बढीको आईभिएफमा सफलता प्राप्त गरिसकेको छु । वरदानमा मात्र ७० जनाको सफल आईभिएफ भइसकेको छ ।
सन्तान नहुँदाको पीडा कसरी सुनाउँछन् दम्पत्तिहरुले ?
सन्तान नहुँदा महिलाहरु आफैंबाट अपहेलित र हिनताबोध भएको पाएकी छु । अधिकांश महिलाहरुले आत्तिएको, घवराट, राति निद्रा नलाग्ने, श्रीमानसँग बोल्न मन नलाग्ने, झगडा मात्र गर्न मन लाग्ने समस्या सुनाउने गर्छन् । एकथरी महिला श्रीमानबाट अपहेलित छन् । सन्तान नभएमा श्रीमान्ले छोड्ने कारण जसरी पनि बच्चा चाहिएको कतिपयको गुनासो हुन्छ । सम्झेर महिलाहरु धुरुधुरु रुन्छन् । यस्ता महिलाका श्रीमान्हरुलाई ल्याएर शुक्रक्रिट संकलन गर्न धेरै गाह्रो हुन्छ । उनीहरु एकपटक आएपछि आउँदैनन् । एकपटक आउँदा झिकेको शुक्रक्रिट फ्रिजिङ गरेर राख्ने गरिन्छ र सफल नभएसम्म पटक पटक आईभिएफ गरिन्छ । अर्काथरी महिला सन्तान नहुँदा सासु ससुराबाट अपहेलित भएका छन् । उनीहरुलाई मानसिक यातना दिने गरेको पाइएको छ । कतिपय निःसन्तान दम्पत्तिले त दशैं नै नआओस् भन्ने गरेका छन् । आफन्तसँग टिका थाप्दा सन्तान होस् भन्नेबाहेक अन्य आशिर्वाद नै नहुने सुनाउँछन् । अरुको लागि दशैं तर हाम्रो लागि दशा भन्छन् । दशैं भनेसी रुन्छन् ।
अधिकांश निःसन्तान दम्पत्तिहरुमा बच्चा नहुनुको मुख्य कारण के पाउनुभयो ?
महिला र पुरुष दुवै जिम्मेवार छन् । महिलालाई जति दोष दिएपनि पुरुषले आफ्नो कमजोरीका कारण सन्तान भएको स्वीकार गर्न नै चाहँदैनन् । पुरुषको शुक्रक्रिटको कमीका कारण अधिकांश सन्तान नहुने समस्या छ । सन्तान नहुनमा मुख्य कारण ढिलो बिवाह नै हो । राजधानीका नेवार
समुदायमा ढिलो बिवाह हुने प्रचलन धेरै देखेँ । उनीहरु ३५ देखि ४० वर्ष पुगेपछि मात्र सन्तानको योजना बनाउने गरेको पाएको छु । पोलिसिस्टिक ओभरियन सिन्ड्रोमका कारण पनि धेरैको सन्तान भएको छैन । मेरो ओपिडीमा ४ जना निःसन्तान महिलामा २ जना त पोलिसिस्टिक ओभरियन सिन्ड्रोमको समस्या भएको पाएकी छु । यस्ता युवती धेरै छन् । उनीहरुलाई उपचार गर्न निकै गाह«ो हुन्छ । इन्फेक्सनका कारण कतिपय महिलाहरुको नली बन्द भएका कारण सन्तान नभएको पाएकी छु ।
यहाँको खुशीको क्षण कहिले हुन्छ ?
सामान्य तरिकाबाट महिला गर्भाधारण हुँदा जति खुशी लाग्छ त्यति नै आईभिएफ गरेर सफल परिणाम प्राप्त गर्दा परीक्षामा उत्कृष्ट अंक ल्याएर आफू पास भएको जस्तो खुशी लाग्छ । सफलता प्राप्त गरेको दिन क्लिनिकमै खुशीले चिच्याउँछौं ।
यहाँलाई कुन बेला दुःख लाग्छ ?
निकै प्रयास गर्दा पनि गर्भ नबस्दाको समयमा दुःख लाग्छ । आईभिएफ पनि शत्प्रतिशत उपचार होइन । यसमा सावधानी, इमान्दारिता, निपूर्णता र नियमित फलोअपमा रहेमा सफल दर ८० देखि ९० प्रतिशतसम्म रहन्छ । तर कहिलेकाँही सफलता दिन नसक्दा सारै पीडा हुन्छ ।
ग्रामीण क्षेत्रसम्म निःसन्तान उपचारको पहुँच पु¥याउन के गर्नुपर्ला ?
निःसन्तान उपचारमा फलोअपको भूमिका महत्वपूर्ण हुन्छ । प्राकृतिक रुपमा गर्भाधारण गरेका महिलाहरु पनि हरेक दिन म कहाँ आउने गरेका हुन्छन् । ८—९ वर्षसम्म सन्तान नभएका दम्पत्ति पनि उपचार पद्धतिमा जानेबित्तिकै गर्भाधारण गर्न सफल हुन्छन् । गाउँमा क्षमता अभिवृद्धि तालिम दिएर दक्ष जनशक्तिको विकास गर्न सकेमा स्थानीय तहमा धेरैले सुविधा प्राप्त गर्न सक्छन् । सामान्य तरिका, आईयुआईमा गर्दा पनि नभएमा टेष्ट ट्यूव बेबीमा जानुपर्छ भन्ने जनचेतना जगाउन सकेमा धेरैलाई फाइदा पुग्छ । मेरो अनुभवमा बच्चा नभएमा प्रशुति तथा स्त्री रोग विशेषज्ञकहाँ जाने, उनीहरुले अण्डाको काउन्टिङ नै नहेरिदिने गरेको पाएको छु । प्रायः स्वास्नी मान्छेको अण्डा त उमेर अनुसार कम हुँदै जान्छ । एउटा बच्चा भएको महिलालाई फेरि हुने आश्वास दिएर रोकिरहने प्रचलन पनि राम्रो होइन । पहिलो बच्चा भइसकेका महिलाको पनि ट्युब ब्लक हुन सक्छ । उमेरले अण्डा उत्पादनमा कमी हुनसक्छ । त्यसैले यसतर्फ पनि ध्यान दिएर स्थानीय तहमा परीक्षण र उपचारको सुविधा हुन जरुरी छ ।
ट्युब ब्लकको पहिचान कसरी गर्ने
एक्स—रे ले ७५ प्रतिशत सम्म ट्युब ब्लक भएको देखाउँछ । २५ प्रतिशत ल्याप्रोस्कोपिक गर्न सकिन्छ । आजकल ट्युब खोल्न शल्यक्रिया गर्नुपर्दैन । संसारमा यति धेरै अनुसन्धान भइसकेका छन् कि अब आईभिएफ आइसकेपछि ‘डन्ट टच ट्युब्ज’ । ट्युबको शल्यक्रिया गरेपछि डिम्बमा गएर बच्चा बसिदिने समस्या हामीले देखेका छौं । यसरी डिम्बमा बच्चा बसेको २४ घण्टाभित्र शल्यक्रिया नगरेमा व्यक्ति मर्नसक्छ । हामीले अनुसन्धानलाई आधार बनाएर उपचार गर्नुपर्छ ।
उपचारमा चाहर्ने प्रचलन प्रति के भन्नुहुन्छ ?
यो परामर्शको अभाव नै हो । डाक्टर इमान्दार र डाक्टरप्रति बिरामीको विश्वास भएमा राम्रो परिणाम आउँछ । विश्वास, फलोअप, परामर्श, बिरामीलाई स्थिर गराउनसक्ने क्षमता चिकित्सकमा पनि हुनुपर्छ ।
निःसन्तान उपचारका कानुनी अड्चनहरु बारे बताइदिनुस् न ?
निःसन्तान उपचार गर्ने कतिपय हस्पिटल र क्लिनिकहरुलाई रजिष्टे«सन नै दिइरहेको छैन । नेपालमा रजिष्ट्रेसनको मापदण्ड छैन । यसमा धेरै कानुनी मुद्धाहरु छन् । हामीले अन्तर्राष्ट्रियस्तरको सुपरस्पेशालिटी सेवा दिन सफल भएका छौं । आईभिएफमा टिमवर्क आवश्यक पर्छ । यसमा डाक्टर, इम्ब्रियोलोजिष्ट, उचित परामर्शदाताको भूमिका महत्वपूर्ण हुन्छ । कम्पनिमा दर्ता भएपछि कुनै एक निकायमा रजिष्टे«सन गर्ने प्रावधान हुनुपर्छ । आईभिएफ गर्न थुप्रै अड्चन छन् ।
शुक्रक्रिट नभएको पुरुषले बाबु बन्न नपाउने ? डोनरबाट बाबु बन्न पाउने कि नपाउने ? कुनै पनि महिलाको अण्डा काम नलाग्ने अवस्थामा डोनरको अण्डा लिन पाउने कि नपाउने ? यस्ता कुराहरुको सम्बोधन हुन जरुरी छ ।
अहिले सर्बोच्च अदालतले सरोगेसी रोकेको भएपनि परिवारका आवश्यक व्यक्तिहरुबीच हुने प्रावधान ल्याउनुपर्छ । देशका ठूला व्यक्तिहरुले जसरी पनि सरोगेसी गराउने गरेको पाइन्छ । खाँचो परेका मानिस जोसँग पैसा छैन उसले चाँही सरोगेसी गराउन नपाउने ? कुनै पनि छोरीको बच्चा आमाले बोकिदिन्छु भन्दा नपाउने ? निकै सोच र विचार गरेर यस सम्बन्धित नियम कानुन बनाउन आवश्यक छ । बच्चा नभएमा श्रीमान, परिवार र समाजसँगसमेत सम्बन्ध राम्रो हुँदैन । त्यसैले यस सम्बन्धि मापदण्ड बनाउनुपर्छ ।
आईभिएफको खर्च र सफल दर कति छ ?
नेपालमा एकपटक आईभिएफ गर्न सबै खर्च जोडेर लगभग ३ लाख देखि ३ लाख ५० हजारसम्मको हाराहारीमा हुन्छ । तर आईभिएफमा उसको कतिवटा अण्डा आउँछ भन्ने कुरामा भर पर्छ । जति धेरै अण्डा आउँछ त्यति धेरै भ्रूण बन्छ । जस्तोः १२ भ्रूण बनेमा सबै पाठेघरमा हाल्न सकिदैन । नेपालको सन्दर्भमा हाल्ने २ वटा मात्र हो । १० वटा त फ्रिज गरेर राख्न सकिन्छ । पहिलो असफल भएमा दोस्रो पटकमा बनिरहेको भ्रूण हाल्न धेरै खर्च लाग्दैन । सबै बनिसकेको हुनाले दोस्रो पटकमा २५—३० हजार रुपियाँ जति मात्र खर्च हुन्छ । समयमा आईभिएफ गरेमा सफल दर धेरै राम्रो हुन्छ । सबै कुरा राम्रो भएमा ३ पटक आईभिएफ गर्दा ९० प्रतिशत सफल भइसक्छ ।