Logo
|
Saturday 20th April 2024
Logo

epaper

बेड लुकाउने अस्पताललाई कारबाही हुन्छः प्रधानमन्त्री ओली



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बेड लुकाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

देशबासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेड लुकाउने अस्पताललाई कानूनअनुसार कारबाही गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कोभिड– १९ महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सहयोग गर्न देशबासीलाई आग्रह गर्नुभयो । उहाँले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्दै कोभिड संकटसँग जुध्ने अभियानमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग अपिल गर्नुभयो ।

प्रधानमन्त्रीले सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड सरकारले कोरोना संक्रमितका उपचारका लागि प्रयोग गर्ने बताउनुभयो । उहाँले प्रदेशहरूलाई पनि सोही बमोजिम गर्न निर्देशन दिनुभयो । साथै होटल, पार्टी प्यालेस र भवनमा सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले कोरोनाको उपचारका लागि सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने जानकारी दिनुभयो । उहाँले कोरोनाको उपचार, व्यवस्थापन, एम्बुलेन्स चालक, शव व्यवस्थापमा खटिनेहरूलाई ५० प्रतिशत जोखिमभत्ता दिइने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले केही अवधिका लागि निषेधाज्ञा जारी गरेको बताउँदै स्थितिमा सुधार नभए जारी निषेधाज्ञालाई थप कडाइ गरिने जानकारी दिनुभयो । उहाँले कोरोना नियन्त्रण, उपचार र रोकथामका लागि समन्वय गर्न सातै प्रदेशमा एक–एक मन्त्रीलाई फोकलपर्सनको रूपमा राखिएको बताउनुभयो ।

जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्