Logo
|
Saturday 27th April 2024
Logo

epaper

मेडिकल अफिसरदेखि वरिष्ठ प्रजनन् विशेषज्ञसम्म



जनस्वास्थ्य सरोकार । वरिष्ठ प्रजनन् एवं आईभिएफ स्पेशलिष्ट डा. सविना श्रेष्ठ प्रधान १९ वर्षदेखि प्रजनन एवं आईभिएफको क्षेत्रमा निरन्तर सेवारत हुनुहुन्छ । सन् २००३ मा रजिस्ट्रारको रुपमा चावहिलस्थित ओम अस्पतालबाट उहाँको प्रजनन विधामा करियर शुरु भएको हो । झण्डै १८ वर्ष अघि संरचना बनेपनि अस्पतालमा आईभिएफ सेवा सञ्चालनमा आएको थिएन । बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको टेष्ट ट्युव वेवी सेन्टर बनाउने ठूलो सपना थियो । तर त्यतिबेला डा. सबिनालाई प्रजनन क्षेत्र भन्दा स्त्री क्यान्सरतिर बढी रुचि थियो । त्यसैले डा. रिजालसँग काम गर्ने योजना एवं मनसाय थिएन । तर संयोग, डा. सबिना र डा. रिजालबीच सहकार्य हुन पुग्यो । निसन्तान दम्पत्तिको समस्याले मन छोयो । त्यसपछि उहाँको करियर मोडियो । निःसन्तानको क्षेत्रमा सेवा दिने अठोट बढ्यो । डा. रिजाल व्यस्त हुने भएकाले डा. सबिनाले टेस्टट्युव सम्बन्धि सबै जिम्मेवारी काँधमा आइपुग्यो । भारतीय चिकित्सकसँग परामर्श गर्ने, इन्टरनेटबाट पनि निसन्तानको समस्याबारे विभिन्न अध्ययन अनुसन्धान गर्न थाल्नु भयो । सन् २००४ को जुलाइमा उहाँमा सफलता सहित उत्साह जाग्यो । यस बेला अस्पतालमा आइभिएफ प्रविधिबाट सफल टेष्टट्युब बेबीको जन्म भयो । ती पहिलो टेष्टट्युब बेबीको नाम ओममणि तमाङ हो । हाल उनी १७ वर्षका लक्का जवान भइसकेका छन् । बिगतदेखि बिस्तारै आफूलाई अपडेट गर्दैै कुशल टिममा बसेर डा. सबिनाले सामान्यदेखि आईयुआई र आईभिएफसम्म गरी धेरैलाई सन्तान सुख दिन सफल हुनुभएको छ । उहाँ नेपालको पहिलो इम्ब्रियोलोजिष्ट पनि हो । यसै सन्दर्भमा निःसन्तान उपचारसम्बन्धि जानकारी उहाँको आफ्नै शव्दमा..
स्मरणीय घटना
एकजना दम्पत्तिको पटक पटक कोशिस गर्दा पनि गर्भ बसेन । बच्चा नबसेपछि परिवारले अन्तिम पटक टेस्ट्युब गरिदिने निर्णय गरेका रहेछन् । परिवारका सदस्यले टेस्ट्युब सफल भएपनि नभएपनि डिभोर्स पेपरमा साइन गर्न महिलालाई दवाव दिएका रहेछन् । केटापक्षको परिवारले बिहे गर्न अर्की केटी खोजेर ठिक पारिसकेको रहेछ । यस्तो अवस्थामा ती महिलालाइ कति तनाव भएको होला भन्ने कल्पना पनि गर्न सकिनँ । उनको श्रीमान र सासुलाई सँगै राखेर परामर्श दिएको थिएँ ।

यद्यपी अर्को बिहे गर्दैमा बच्चा हुन्छ भन्ने हुँदैन । यसरी महिलालाई तनाव दिँदा बच्चा हुने सम्भावना झन् कम भएर जान्छ ।

निःसन्तान उपचार कथा
निःसन्तानका हातको पानी चल्दैन वा उनीहरूबाट पितृहरू पनि विमुख हुन्छन् भन्ने अन्धविश्वासी परम्परा हाम्रो समाजमा यदाकदा विद्यमान छ । यद्यपि त्यो पूर्णतः गलत कुरा हो । निःसन्तान हुनुको विभिन्न कारण छ । यसको निक्र्याेल गर्नु जरुरी हुन्छ । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्छन् ।

This image has an empty alt attribute; its file name is X7A2369-768x512.jpg


कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । युवाहरू विवाह गर्नासाथ रोजगारीका लागि विदेशिएका हुन्छन् । विदेशमा उच्च तापक्रममा काम गर्नेहरुको शुक्रकीट उत्पादनमा ५० प्रतिशतसम्म कमी हुनसक्छ । उच्च तापक्रमका कारण दुई महिनाको बिदामा आएको समयमा घरपरिवारबाट बच्चा पाउने दबाब हुन्छ । छोटो समयमै सन्तानको इच्छाका कारण तनावमा परेर उनीहरूले सन्तान जन्माउन सकेका हुँदैनन् । शुक्रक्रिट सामान्य अवस्थामा आउन कम्तिमा पनि ३—४ महिना लाग्छ । श्रीमान् श्रीमती दुवैमा कुनै खरावी नभए पनि तनावका कारण समस्या उत्पन्न हुन्छ । कतिपयले उपचारका क्रममा भन्ने गरेको पाइन्छ–‘विवाह गरेको ४–५ वर्ष भयो, सन्तान भएको छैन ।’
मुलुकमा उपचारका विश्वस्तरीय प्रविधिहरु भित्रिएको छ । जसका कारण निःसन्तान उपचारले सफलता प्राप्त गरिरहेको छ । चिकित्सा विधामा हरेक पटक नयाँ जानकारी आइरहेको हुन्छ । त्यसैले आफूलाई नियमित अपडेट गराइरहनुपर्छ । शुरुका दिनहरुमा त आइभिएफ फेलियर हुँदा निःसन्तान दम्पत्तिसँग धेरैपटक रोएकी छु । सफलता प्राप्त गर्न थप अनुसन्धानहरु गर्दै जानुपर्छ ।


कामको तनाव, अस्वस्थ्यकर खानपान, हर्मोनल परिवर्तन, मोटोपना, ढिला विवाह, करियरको चक्करमा ढिला सन्तान जन्माउने आदि कारणले शुक्रकिट र अण्डाको उत्पादनमा कमी आइरहेको छ । संसारभर नै शुक्रकिट काउन्टको मोर्टालिटी घट्दै गइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २० मिलियन भन्दा कम शुक्रकिट भएको पुरुषमा निःसन्तानको समस्या हुने बताएको छ । नेपालमा अहिले पनि श्रीमानमा समस्या देखिएमा उपचार गराउने प्रचलन छैन । महिलालाई नै धेरै दोष दिने संस्कार छ । क्षयरोगले पाठेघर र फालोपियन ट्युवलाई सबैभन्दा बढी हानी पुर्याउँछ र महिलामा बाँझोपनको समस्या निम्त्याउनसक्छ । संसारमा टेष्ट ट्युवको आविष्कार पनि ट्युव ब्लककै कारण भएको हो । हामीले सही व्यक्तिलाई सही सल्लाह र परामर्श दिनुपर्छ । सन्तान नभएमा तनाव दिने पनि महिला नै धेरै हुन्छन् । आफ्नो छोराको प्रजनन् क्षमतामा कमी भएको बुझ्दैनन् ।

कुन विधि प्रभावकारी हुन्छ ?
आइभिएफ विधि २० प्रतिशतलाई मात्र आवश्यक पर्छ । ८० प्रतिशत महिला अन्य उपचार विधिबाट गर्भवती भएका हुन्छन् । फालोपियन ट्युवमा जमेको सामान्य फोहोर सफा गरेकै महिना कतिपय महिला गर्भवती हुन्छन् । कतिपयलाई अण्डा निस्कने औषधि प्रयोग गर्नुपर्छ । कतिपय पुरुषलाई एन्टिअक्सिडेन्ट र भिटामिन दिएर पनि शुक्रकिटको गुणस्तर बढाउनुपर्ने हुनसक्छ । कतिपय व्यक्तिलाई सामान्य परामर्श दिएर यौनसम्बन्धको तालमेल मिलाउने सल्लाह दिँदा पनि गर्भ बसेको हुन्छ । महिलामा महिनावारी भएको १३ देखि १४ दिनमा अण्डा निष्कासन हुन्छ । यो बेलामा यौन सम्बन्ध राख्ने सल्लाह दिँदा पनि गर्भ रहने सम्भावना रहन्छ ।

This image has an empty alt attribute; its file name is 846dbf4f-7479-4ffc-934f-87685e68435d

तनाव र गर्भाधानको सम्बन्ध
तनावले शुक्रकिट भित्रका क्रोमोजोम, डिएनएहरु फ्रयाग्मेन्टेड (टुक्रिएको) हुन्छन् । यसरी टुक्रिएका डिएनए अण्डा भित्र प्रवेश गर्दा राम्रोसँग फर्टिलाइजेसन हुनसक्दैन । एवनर्मल एम्ब्रियोज (असाधारण भु्रण) का कारण बच्चा बसिसकेपछि पनि खेर जाने डर हुन्छ । तनावले अण्डा र शुक्रक्रिट दुवैलाई असर गर्छ ।
उमेर र निःसन्तानमा सम्बन्ध
किशोरीहरुमा महिनावारी सुरु भएदेखि अण्डा निष्कासन शुरु हुन थाल्छ । निश्चित उमेर पुगिसकेपछि अण्डाको मात्रा घट्दै जान्छ । वातावरण, खाना, तनाव आदिले डिम्बको गुणस्तरमा कमी ल्याउँछ । उमेरले पुरुषको तुलनामा महिलाको प्रजनन क्षमता धेरै घट्दै जान्छ ।

पुरुषहरुमा ४० देखि ५० वर्षको उमेरसम्म पनि फर्टिलाइजेसनको सम्भाव्यता हुन्छ । शुक्रकिटको मात्रा घटेपनि महिलाको जति प्रभावित हुँदैन । महिलाहरु ३५ वर्ष नाघेपछि टेष्टट्युव वेवीको सफलदर पनि पचास प्रतिशतले घट्छ ।

असुरक्षित गर्भपतन र निःसन्तान
हाइजिन मेन्टेन नभएको ठाउँमा असुरक्षित गर्भपतन गराउँदा संक्रमणका कारण फालोपियन ट्युब बन्द हुने सम्भावना रहन्छ । गर्भपतन गराउन राज्यले मान्यता दिइसकेको अवस्थामा सुरक्षित गर्भपतन गराएका कारण विगतको तुलनामा महिलामा असर कम हुने गरेको छ ।

सफलदर
पहिलाको तुलना अहिले सफल दर राम्रो पाइएको छ । यो अत्याधुनिक उपकरण, राम्रो उपचार विधि, दक्ष चिकित्सकको उपज हो । हाम्रो केन्द्रमा सफलदर ५० प्रतिशतसम्म छ ।
(डा. श्रेष्ठ काठमाडौं इन्फर्टिलिटी सेन्टर र ओम आईभिएफ सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्