Logo
|
Friday 29th March 2024
Logo

epaper

अक्सिजनको अभावले नेपालगञ्ज मेडिकल कलेजले कोभिडका बिरामी भर्ना नलिने



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दै जाँदा अस्पतालमा अक्सिजनको चरम अभाव भएकाले थप विरामी भर्ना लिन नसक्ने अस्पतालले जनाएको छ ।


अस्पतालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले शिक्षण अस्पतालमा हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना लिन नसक्ने जनाएको हो ।


अस्पतालका सम्पुर्ण सेवा बन्द गरी ३ सय शय्या क्षमताको कोभिड अस्पताल तयार गरिएको भएपनि अक्सिजनको अभावमा १३५ शय्या मात्रै सञ्चालन भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले जानकारी दिनुभयो ।


अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं। ’


महामारीको विषम परिस्थितिमा अक्सिजनको समस्या दर्शाउँदै आपूर्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरी अक्सिजन अभावका कारण अस्पतालमा ठूलो संकट आउन सक्ने जानकारी समेत गराइसकेको अस्पतालले स्पष्ट पारेको छ ।


लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक पाँच दिनमा एउटा लिक्विड ट्याङ्क वा दैनिक आठ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने अस्पतालले बताएको छ ।


शिक्षण अस्पतालमा हाल एक सय ३३ जना उपचारमा रहेका छन्। सन् २०२१ को सुरुवातदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ३ सय ३ जना कोरोनाका बिरामी भर्ना भएकोमा एक सय २६ जना डिस्चार्ज भएका छन्। ४४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्