Logo
|
Friday 19th April 2024
Logo

epaper

निषेधाज्ञाकै अवधिमा तीन गुणाले बढ्यो कोभिड संक्रमण र मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस संक्रमण रोक्न भनेर देशका अधिकांश भागमा निषेधाज्ञा जारी गरिएको छ । तर निषेधाज्ञाको अवधिमा भने संक्रमित र मृत्युहुनेको संख्या तीन गुणाले बृद्धि भएको छ । बैशाख १ गते देखि १६ गतेसम्म देशभर १ लाख ३६ हजार ८९५ जनाको पीसीआर परीक्षण गर्दा ३६ हजार ५४६ जना संक्रमित थपिएका थिए ।

बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा लगाइयो । तर त्यस यताका १२ दिनमा मात्र २ लाख २६ हजार ७५८ जनाको परीक्षण गर्दा १ लाख ४१२ नयाँ संक्रमित थपिएका छन् । जुन बैशाख १ गते देखि १५ गतेसम्म थपिएको संख्याको तुलनामा झण्डै तीन गुणले बढी हो । यो रफ्तार अझै बढ्न सक्ने आंकलन छ ।


भाइरोलोजिष्ट श्रवण कुमार मिश्रले नेपालमा कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो-‘अझै पनि पीक पोइन्ट आइसकेको छैन । अझै संक्रमित बढ्न सक्छन । संक्रमण र मृत्युको दर नियन्त्रण गर्न उपचारका साथै समुदाय स्तरबाटै परीक्षणको दायरा र खोपको पहुँच पुर्याउनुपर्ने उहाँको भनाई छ ।


संक्रमितको संख्या जस्तै निषेधाज्ञाको दौरानमा मृत्युदर पनि बढिरहेको छ । बैशाख १ गते देखि १५ गते सम्म देशभर १ सय ८८ जनाको मृत्यु भएकोमा १६ गते यता मात्र ८ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् । मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले अहिलेसम्मकै सबैभन्दा धेरै २ सय २५ जनाको ज्यान गएको पुष्टि गरेको छ ।


बिरामीले अस्पतालमा शैय्या, अक्सिजन, आइसियू र भेन्टिलेटर नपाएका कारण मृतकको संख्यामा बृद्धि भएको तथ्याङले पुष्टी गरेको छ ।
संक्रमित भइसकेपछि अस्पताल जान ढिलाई गरे मृत्यु हुने सम्भावना बढी हुने इपिडिमियोलोजी विशेषज्ञ प्रा. डा. बिराज कर्मचार्य बताउनुहुन्छ । अक्सिजनको मात्रा ९२ भन्दा कम हुन थालेपछि सकेसम्म चाँडो अस्पताल जानुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्