Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकमा समेत निस्कन नपाइने



जनस्वास्थ्य सरोकार, बनेपा । कोरोना संक्रमण दर बढ्न थालेपछि बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ ।
स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो ।


कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्ने निर्णय भएको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताउनुभयो ।


औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको उहाँले जानकारी दिनुभयो ।


फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउने आग्रह गरिएको नगरप्रमुख वादेले बताउनुभयो ।

साथै सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्