Logo
|
Friday 26th April 2024
Logo

epaper

पिसिओएस र ‘म’



सानैमा ममी (आमा) को दूध खान मान्दैन थेँ रे । आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । तर आमाको दूध खान नमानेपछि जन्मेको एक महिनादेखि नै बजारमा सहजै प्राप्त हुने विस्कुटलगायत प्याकेट बन्द प्रशोधित खाना खुवाइएको ममी स्मरण गर्नुहुन्छ । सात वर्षमा मैले केही पनि नखाएकाले डाक्टरको सल्लाहमा भोक लाग्ने औषधि दिनुभएको रहेछ । त्यो बेलादेखि मेरो ओभर इटिङको ह्याविट बसेको हो ।
पत्रु खानामा प्रेम
बुवाको किराना पसल थियो । यसकारण मेरा लागि प्याकेटका खाना सहजै उपलब्ध हुन्थे । बाल्यकालमा मलाई मनपर्ने खाना भनेको बिहानको नास्ता विस्कुट, दिउँसो चाउचाउ, दालमोठ, चिप्स, चिजबल आदि नै हुन् । यस्तै चिज खाएर मेरो बाल्यकाल बित्यो ।


आमा भन्नुहुन्छ—‘त्यो बेला तिमीले मेरो दूध खान मान्दैनथ्यौ । बच्चाको पेट के ले भर्ने होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो । प्याकेटका खानेकुरा मिठो मानेर खाइदिने । मलाई पनि खुशी लाग्थ्यो । आखिर आमाको मन त हो बच्चाको खुशीमा रमाउने ।’


त्यो बेला यस्ता पत्रु खाना बच्चाको स्वास्थ्यमा घातक हुने कुराको खासै जानकारी थिएन । मेरो बाल्यकाल यस्तै पत्रु खाना खाएरै बित्यो । पढाईको धपेडी, दिनभर स्कूल, खाजाका रुपमा सँधै प्याकेटका खाना, शारीरिक क्रियाकलाप शून्य थियो । यद्यपी म सानै उमेरमा मोटो बच्चाको समूहमा पर्थेँ । त्यो बेला मोटोपनाले दैनिकीमा खासै असर गरेको थिएन ।

जब शुरु भयो महिनावारी
जब म ११ वर्षपुगेँ । महिनावारी शुरु भयो । एकपटक महिनावारी त भयो तर अर्को महिनावारीका लागि ६—७ महिना कुर्नुपर्ने । महिनावारीमा लामो ग्याप हुन्थ्यो ।

महिनावारीको समयमा निकै नै पेट दुख्ने भएकाले महिनावारी नभएकोमा खुशी नै लाग्थ्यो ।

अनावश्यक रौं
जब म १६—१७ वर्षको उमेरमा टेकेको थिएँ । अनुहारमा अनावश्यक रौं पलाएको देखेर निकै चिन्ता लाग्थ्यो । शारीरिक तौल अनियन्त्रित बढिरहेको थियो । त्यसपछि स्त्री रोग विशेषज्ञसँग परामर्श लिएँ । अल्ट्रासाउन्ड गरेपछि पोलिसिस्टिक ओभरियन सिन्ड्रम (पिसिओएस) भएको बल्ल पत्ता लाग्यो । मैले ११ वर्षदेखि २६ वर्षसम्म अनियमित महिनावारीको समस्या खेप्नुपर्यो ।

This image has an empty alt attribute; its file name is namuna-768x432.png

प्रोफेस्नल लाइफमा असर
पेशाले म खाद्य तथा पोषणविद् हुँ । मेरो काम रोगको प्रकृति अनुसार बिरामीको खाना तालिका बनाउने हो र सही परामर्श उपलब्ध गराउँछु । तर म पोषणविद भए पनि पिसिओएसका कारण तौल बढेको छ । आफ्नो उचाई अनुसार हुनुपर्ने तौल भन्दा धेरै छ । यसले प्रोफेस्नल लाइफमा निकै असर पारेको छ ।

१५ महिनामा १४ केजी तौल घटाएँ
मेरो उचाई ५ फिट ४ इञ्च हो । म ८३ के.जी. सम्म थिएँ । अहिले १५ महिनामा १४ केजी घटाएर ६९ मा पुर्याएको छु । अझै पनि ओभर वेट नै छु । घटाउने क्रम जारी छ । तौल घटाएपछि हल्का अनुभव गरिरहेको छु ।
आफैं पोषणविद् भएका नाताले के खाने ? के नखाने ? कुन खाना स्वास्थ्यका लागि सही ? र कुन खाना स्वास्थ्यका लागि घातक ? के गर्नुपर्छ ? र के गर्नुहुन्न ? भन्ने जानकारी छ ।

वजन घटाउन र जीवनशैली परिवर्तन गर्न सहज भने छैन । पिसिओएस भएपछि वजन घट्न निकै गाह्रो हुन्छ । सानैदेखिको गलतखानपान र जीवनशैलीले लागेको बोसो २—४ महिनाको खानपान र जीवनशैलीले घटाउन सम्भावना हुँदैन । यसका लागि अनुशासन र धैर्यताको आवश्यकता हुन्छ ।


प्रायजसो महिलाहरु घरको काम सँगै घरबाहिरको काममा पनि निकै व्यस्थ हुने गरेका छन् । समयको अभावले बच्चाको सहजताका लागि सानै उमेरदेखि फास्टफूड र प्याकेटका खानेकुरा दिइन्छ । यसले बच्चाहरुले हाइ डेन्स क्यालोरी खाना त प्राप्त गर्छन् तर निकै कम मात्र पोषणतत्व प्राप्त गर्छन् । फलस्वरुप सानै उमेरदेखि मोटोपना, महिलाहरुमा रक्तअल्पता, उचाई नबढ्ने, पिसिओएसलगायतका विभिन्न समस्या देखिन थाल्छ ।


पिसिओएसको उपचार भनेको एउटा डाक्टरको सल्लाहअनुसार औषधि खानु र अर्को जीवनशैली परिवर्तन जस्तैः सन्तुलित भोजन, सक्रियजीवनशैली आदि हुन् । औषधि सेवन र जीवनशैली परिवर्तन सँगसँगै लैजानुपर्छ । सन्तुलित भोजन, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापनले यस रोगको उपचार गर्न मद्धत गर्छ ।

पोलिसिस्टिक ओभरियन सिन्ड्रोम के रहेछ ?
पिसिओएस एक प्रकारको हर्मोनल डिस्अर्डर हो । यो करिब १४ देखि ४५ वर्ष उमेर समूहमा जति बेला पनि देखिनसक्छ ।
महिलाको पाठेघरमा भएको डिम्बबाट हर्मोनहरु उत्पादन भइरहेका हुन्छन् । हर्मोनका कारण महिनावारी हुने हो । जब हर्मोनल डिस्व्यालेन्स हुन्छ तब ओभरीले आवश्यक पर्नेभन्दा भिन्नै किसिमको हर्मोन उत्पादन गर्न थाल्छ ।

पिसिओएसका लक्षण
– शरीरमा पुरुष हर्मोनको उत्पादन धेरै उत्पादन हुने भएकाले महिनावारीमा गडबडी
-निःसन्तानको सम्भावना
-अनुहारमा अनावश्यक रौं पलाउने
– डिम्बासयमा पानीको फोकाहरु आउने
– कपाल झर्ने
– छालाको रङमा परिवर्तन (छाला कालो हुने, कालो दाग आउने आदि)
– मोटोपना
पिसिओएस के कारणले हुन्छ भन्ने ठ्याक्कै भन्न सकिदैन । यो वंशाणुगत पनि हुनसक्छ । पिसिओएस हुने कारणमा निक्रिय जीवनशैली र असन्तुलित भोजन पनि हो ।

पिसिओएसमा भोजन
– रेसादार तरकारी जस्तैः गाँजर, ब्रोकाउली, काउली, हरिया सागसब्जीको सेवन
-मौसमी फलफूल
-माछा, अण्डा, दालतथा गेडागुडी
– सेतो तिल
– बियाँ र नट्स (जस्तैः आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ, बदाम, ओखर आदि ।)
-ठिक्क मात्रामा डार्क चक्लेट

पिसिओएसमा खानपानमा सावधानी
-गुलियो नखाने (जस्तैः चिनी, कुकिज, केक, चकलेट आदि ।)
-प्याकेटका खाना (जस्तैः चिप्स, चाउचाउ आदि)
– फास्टफूड नखाने (जस्तैः मैदाबाट बनेका, मम, चाउमिन, पिज्जा प्रशोधित मासु, समोसा आदि ।

This image has an empty alt attribute; its file name is girl-avoiding-junk-food.jpg


-पेयपदार्थ (जस्तै सोडा, कोक, इनर्जी ड्रिंक आदि ।)
-अन्न (कम्पलेक्स कार्वोहाइड्रेट) ठीक्क मात्रामा खाने
– खानामा धेरै नुनको प्रयोग नगर्ने
– दूध र दुग्धजन्य खानेकुरा ठिक मात्रामा खाने
यसरी आफ्नो खाना र जीवनशैली परिवर्तनले भविष्यमा हुनसक्ने मधुमेह, उच्च रक्तचाप, इन्डोमेट्रियल क्यान्सर, मस्तिष्कघात आदिबाट बच्न मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस्