काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो ।
उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिनुभयो । ।
उनका अनुसार उक्त स्थानमा संक्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ ।
उक्त क्षेत्रबाट ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९०० किलो दाना नष्ट गरिएको थियो । पशुपन्छी मन्त्रालयले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ ।
यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, पन्छीपालक कृषकहरुले फार्म परिसरमा नियमितरूपमा निःसंक्रमण गर्न, तथा सफाइमा ध्यान दिन, घरपालुवा पन्छीलाई जंगली पन्छीहरुको सम्पर्कमा आउन नदिन, हाँस तथा कुखुरालगायतका पन्छीलाई थुनेर पाल्न तथा पशुपन्छी बिक्री स्थलमा अस्वाभाविकरूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरिएको छ । यसअघि काठमाडौँको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिकाएका स्थानीय कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो ।