Logo
|
Friday 19th April 2024
Logo

epaper

अमेरिकाले अगस्टदेखि ९२ ओटा मुलुकमा फाइजरको खोप वितरण गर्ने



जनस्वास्थ्य सरोकार, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महीनादेखि विश्वका ९२ ओटा मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने बताएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ ओटा मुलुकका लागि फाइजरका खोप खरीद गरेर वितरण गर्ने घोषणा गर्नुभएको छ । कोरोनाभाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले बताएको छ ।

यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस वर्षको अन्त्यसम्ममा २० करोड डोज खोप वितरण हुनेछ भने बाँकी ३० करोड डोज सन् २०२२ को पहिलो छ महीनाभित्रै ढुवानी भइसक्ने ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाले यसअघि नै कम्तिमा ८ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महीनाभित्रै वितरण गर्ने योजना छ ।
कुनै पनि मुलुकले कोभिड विरुद्धको खोप यतिठूलो परिणाममा उपलब्ध गराउने घोषणा गरेको यो पहिलो अवसर हो ।

संयुक्तराज्य अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको ८ करोड डोज खोपमध्ये करीब ७५ प्रतिशत खोप कोभाक्स मार्फत वितरण हुनेछ जबकी २५ प्रतिशत खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई वितरण गरिने छ ।

झण्डै १ करोड ९० लाख डोज खोप कोभाक्सलाई प्राप्त हुनेछ । करीब ६० लाख डोज खोप दक्षिण र मध्य अमेरिकी मुलुकहरुले प्राप्त गर्नेछन् । रासस एएनआई

प्रतिक्रिया दिनुहोस्