नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघको बागमती प्रदेश शाखा विस्तार, व्यवसायिक सुरक्षा र चुनौतिबारे व्यापक छलफल
विना दर्ता खाद्यपुरक र न्युट्रास्युटिकलको कारोबार गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गरिने वाणिज्य विभागको चेतावनी
नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) ले वागमती प्रदेश शाखा बिस्तार गरेको छ ।
वागमती प्रदेश शाखामा विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शाखाको वरिष्ठ उपाध्यक्षमा वालकृष्ण पौडेल, उपाध्यक्षमा अमितकुमार सिंहा र सञ्जिवकुमार राय, , महासचिवमा कृष्ण अधिकारी, सचिवमामा सुमन शंकर, कोषाध्यक्षमा मिन रिमाल, सहकोषध्यक्षमा बसन्त थापा निर्वाचित हुनुभएको छ । साथै एनएनसिएको बागमती शाखा सदस्यहरुमा सरोज चालिसे, रमेश पौडेल, सरोज सापकोटा, गीता गौतम सामना, सृष्टि वन, सन्तोष सुवेदी, समिरकाजी श्रेष्ठ, प्रसुन राज उपाध्याय र अरूण महर्जन निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिँदै एनएनसिएका केन्द्रीय अध्यक्ष विप्लव रञ्जितले वागमती प्रदेश शाखामा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र एवं गोपनीयताको सपथ गराउनुभयो ।
नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघद्धारा राजधानीमा आज आयोजित व्यवसायिक सुरक्षा र चुनौति तथा बागमती प्रदेश गठन कार्यक्रमममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले विना दर्ता खाद्यपुरक एवं न्युट्रास्युटिकलको कारोबार गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गरिने चेतावनी दिनुभयो ।
उहाँले औषधि पसलमा छुट्टै ठाउँको व्यवस्था गरी खाद्यपुरक र न्युट्रास्युटिकल बिक्रीवितरण गर्न आग्रह गर्दै कानुन बमोजिम मूल्य राखेर म्याक्सिमम रिटेल प्राइस (एमआरपी) कायम गर्नसमेत निर्देशन दिनुभएको छ । महानिर्देशक पौडेलले बजार अनुगमन गरी बिना दर्ता बिक्रीमा राखिएका औषधि एवं आहारपुरक सामाग्री जफत गर्ने कार्यलाई तिब्रता दिएको र हुलमुलमा जवफ गरिएका कतिपय सामाग्री दर्ता भएको पाइएमा फिर्ता गरिने प्रतिवद्धतासमते व्यक्त गर्नुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले बिरामीको आवश्यकता बमोजिम खाद्यपुरक लेख्ने गरेको जानकारी दिनुभयो । डा. कार्कीले बिरामीलाई अनावश्यक खाद्यपुरक लेख्ने चिकित्सक किन नहुन वा गलत व्यवसाय गर्ने व्यवसायी, कसैलाई पनि छोड्न नहुने उल्लेख गर्नुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अधिकृत डा. इश्वर सुवेदीले विभाग विभाग बीच समन्वय गर्नुपर्ने र व्यवसायीहरुलाई विना हस्तक्षेप स्वतन्त्र व्यवसाय गर्न दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित अध्यागमन विभागका महानिर्देशक गोबिन्द रिजालले निर्धक्क व्यवसाय गर्न पाउने अधिकारलाई कुण्ठित गर्न नहुने उल्लेख गर्नुभयो । पिडानका केन्द्रिय उपाध्यक्ष, माधव अधिकारी, नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसिए) का उपाध्यक्ष विनोद विष्ट, एनएनसिएका महासचिव सुरज पौडेल, व्यवसायी किशोर घिमिरेलगायतले व्यवसायिक सुरक्षा र चुनौतिबारे प्रकाश पार्नुभएको थियो । हाल मुलुकभर खाद्यपुरक, न्युट्रास्युटिकल एवं सौन्दर्यवद्र्धक सामाग्रीको व्यवसाय गर्ने ६ सय भन्दा बढी व्यवसायीहरु रहेका छन् ।