Logo
|
Friday 29th March 2024
Logo

epaper

आफ्नो मुद्धाका साक्षीलाई अनुगमन टोलीमा राख्दा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको भूमिका विवादमा



जनस्वास्थ्य सरोकार, झापा । चिकित्सा शिक्षा आयोगको अनुगमन टोलीले तयार पारेको प्रतिवेदन पेश नगर्दा बी एण्ड सी मेडिकल कलेज सम्बन्धनमा ढिलाइ भएको छ ।

आयोगका उपाध्यक्ष डा. श्री कृष्ण गिरीले आफ्नो मुद्धाका साथीलाई स्वतन्त्र भनिएको टोलीमा राखेकाले आयोगका उपाध्यक्षको भूमिका नै विवादमा मुछिएको छ ।

गत असार ६ गते चिकित्सा शिक्षा आयोगले पठाएको अनुगमन टोलीले झापाको बी एण्डसी मेडिकल कलेजको अनुगमन गर्यो ।

काठमाडौं विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन प्रक्रिया अघि बढाउने निर्णय गरेपछि आयोगले अनुगमनका लागि टोली पठाएको थियो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गोप्य रुपमा गठन गरेर अनुगमनका लागि टोली पठाउनुभएको भन्ने नौटंकी गरिएको छ ।

नेपाल आर्मी कलेजका कर्णेल डा. प्रकाशजंग पाण्डेको संयोजकत्वमा अनुगमन टोली गठन गरिएको थियो । अनुगमन टोलीको सदस्यहरुमा आयोगका निर्देशक प्रा.डा. रमेश आचार्य, बीर अस्पतालका डा. भोजराज अधिकारी एवं सेमन्त कोइराला रहनुभएको थियो ।

अनुगमन टोलीमा रहनुभएका डा. अधिकारी बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं र आयोग उपाध्यक्ष डा.गिरीबीचको गालीबेइज्जती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका गिरी पक्षधर व्यक्ति भएकाले उहाँले बी एण्ड सीलाई राम्रो दृष्टिले हेर्ने कुरै भएन ।

हेर्नुस् यो तथ्य

सो मुद्दामा साक्षी बसेका व्यक्ति अनुगमन टोलीका सदस्य रहेको खुलेपछि अनुगमनपश्चात् तयार पारिएको प्रतिवेदनमा संयोजक डा.पाण्डेले हस्ताक्षर गर्न नमानेको बताइएको छ । यसले प्रतिवेदन विवादमा आउने सम्भावना बढेको छ । डा. पाण्डेसँग जनस्वास्थ्य सरोकारले सम्पर्क गर्दा यसको सम्पूर्ण जानकारी आयोगसँग बुझ्न उहाँले आग्रह गर्नुभयो ।

अनुगमन गर्न गएको टोलीले १५ दिन बितिसक्दा पनि चिकित्सा शिक्षा आयोगलाई प्रतिवेदन नबुझाउँदा बी एण्ड सी मेडिकल कलेज सम्बन्धनमा ढिलाइ भइरहेको छ ।

गत मंगलबार प्रतिवेदन त्रिविको कार्यकारी समितिको बैठकमा पेश गर्ने योजना थियो । तर, समितिका संयोजकले नै हस्ताक्षर नगर्दा प्रतिवेदन अगाडि बढ्न सकेको छैन ।

गत जेठ २८ गते बालुवाटारमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले बीएण्डसीलाई एमबीबीएस अध्ययन अध्यापनका लागि सम्वन्धन दिन मिल्ने या नमिल्ने अन्तिम निर्णय लिन स्वतन्त्र विज्ञ टोली अनुगमनका लागि पठाउने निर्णय गरेको थियो ।

उपाध्यक्ष गिरीले एक पटक आयोगले नै अनुगमन गरी भौतिक पूर्वाधारलगायत जाँचबुझ गरेपछि मात्रै सम्बन्धन अगाडि बढाउन सकिने भनी त्रिविको बोर्ड बैठकमा प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग अडान लिनुभएको थियो । आयोगबाट टोली पठाएर मात्रै निर्णय गर्न सक्ने अडान गिरीले राखेपछि एक साताभित्र टोली गठन गरी बिएन्डसी पठाउने सहमति भएको थियो ।

तर, आफ्नो पक्षमा रहेका व्यक्ति अनुगमन टोलीमा राखेको पाइएपछि उपाध्यक्ष डा. गिरीको भूमिका नै विवादमा आएको छ ।

आयोगका सदस्य सचिव तथा प्रवक्ता डिल्ली लुइँटेलले अनुगमन टोलीले तयार पारेको प्रतिवेदन हालसम्म प्राप्त नभएको र यसबारे आफू वेखबर भएको जानकारी गराउनुभयो । आयोगको प्रवक्तालाई थाहा नभएर कसलाई हुन्छ ? भन्ने जनस्वास्थ्य सरोकारको प्रश्नमा प्रवक्ता लुँइटेलले भन्नुभयो—‘यो त उपाध्यक्ष ज्यूसँग नै बुझ्नुपर्छ । यो गोप्य टोली हो । टोलीमा को छ भन्ने त मलाई थाहा छैन हजुर ।’ प्रवक्ता भएर पनि यस्तो वेखबर ? भन्ने अर्को प्रश्नमा प्रवक्ता लुँइटेलको भनाइ थियो—‘ निर्णय भएपछि मात्र प्रवक्ताले जानकारी गराउने हो । अनुमानका भरमा बोल्न मिल्ने रहेनछ । प्रतिवेदन सचिवालयमा तोक लगाएर मेरो टेवुलमा आयो भने एक सेकेन्डमा जानकारी गराउँछु ।’ यता उपाध्यक्ष डा.गिरी भने सबै जानकारी प्रवक्तामार्फत लिनुपर्ने बताउनुहुन्छ ।

गिरीले यसबारे आफूले केही नभन्ने सबै कुरा प्रवक्तामार्फत बुझ्नुपर्ने बताउनुभयो ।

बिएन्डसी मेडिकल कलेजमा काठमाडौं विश्वविद्यालयले यसअघि टोली पठाएको थियो । त्यो टोलीले प्रारम्भिक रूपमा कलेजको सम्पूर्ण प्रक्रिया पूरा भएको प्रतिवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्