Logo
|
Monday 20th January 2025
Logo

epaper

मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौँद्धारा गुर्जो वितरण

गुर्जोमा आवश्यक तत्वहरु विकसित नभएसम्म यसको प्रयोग अर्थहीन—विज्ञ



पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौँले सामाखुसीमा शरीरमा रोगप्रतिरोधात्मक क्षमता बृद्धि गराउने वनस्पति गुर्जोको बिरुवा रोप्ने काम सम्पन्न गरेको छ ।

सामाखुशीस्थित टाउनप्लानिङ गणेश मन्दिर परिसरमा १ सय बिरुवा रोपिएको छ । यसैगरी सो आवास क्षेत्रमा एकघर एक गुर्जोको विरुवा वितरण गरिएको छ ।

एक सामाजिक अभियान्ता एवं गुर्जो अध्ययनकर्ता कमल बहादुर राजलवटले गुर्जोको बिरुवा, चिया र धुलो निःशुल्क उपलब्ध गराउनुभएको हो । राजलवट आवश्यक परेको ठाउँमा मुलुकभर नै गुर्जोको विरुवा र औषधि निःशुल्क उपलब्ध गराउने अभियानमा लाग्नुभएको छ ।

काठमाडौ महानगरपालिका वडा २६ का अध्यक्ष श्री ख्याम राज तिवारीको प्रमुख आतिथ्यता र गोङ्गबु आबासीय क्षेत्रका अध्यक्ष महेश्वरकुमार श्रेष्ठको समुस्थितमा गुर्जो वितरण गरिएको थियो ।

सो अवसरमा गुर्जोको चिया र धूलो औषधि वितरण गरिएको थियो । मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौँकी सचिव रेखा थापा भन्नुहुन्छ— ‘कोभिड—१९ को महामारिलाई दृष्टिगत गरी एक घर एक गुर्जोको बिरुवा अभियान चालेका छौं ।’

आवश्यक पर्नेहरुले आवास क्षेत्रमा रहेको मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौँको कार्यालयमा सम्पर्क गरी लिन सक्नेछन् ।

मेचीमहाकाली बुहारी संयुक्त आवाज बागमति प्रदेश कार्यक्रम तथा काठमाडौ संयोजक अन्जिला श्रेष्ठले प्रत्येक घरमा गुर्जोको बिरुवा पुर्याउने उद्देश्य रहेको बताउनु भयो ।

गुर्जो वितरण कार्यक्रममा नेपाल हिन्दु गृहस्थ सेवा सदनका अध्यक्ष अधिवक्ता तुलसी राम पोख्रेल, कोषाध्यक्ष कृष्ण राम थापा, मेचिमहाकाली बुहारी संयुक्त आवाजकी सदस्य निरा तिमिल्सिना, लायन्स क्लब अफ काठमाडौ निर्जलाको सहभागीता रहेको थियो ।

के हो गुर्जो ?

अमला, हर्रो, गुर्जो, तुलसी नेपालका बहुमूय जडिबुटीहरुमा गनिन्छन् । मात्रा मिलाएर गुर्जो नियमित सेवन गर्नाले शरीरको रोग प्रतिरोधात्मक क्षमता मजवुत बनाउँछ । गुर्जो रुघा–खोकी, क्रोनिक ज्वरो, टाउको दुखाइमा पनि फाइदजनक मानिन्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय भन्नुहुन्छ—‘कुनै पनि औषधि जथाभावी रुपमा मात्रा नमिलाई सेवन गर्नु हुँदैन । मात्रा मिलाएर चिकित्सकको सल्लाह अनुसार सेवन गर्दा गुर्जोले अमृत समान काम गर्छ ।’

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्रा मिलाएर काडा पानी वा चियाको रुपमा दैनिक दुईदेखि पाँच ग्रामको बीचमा एक पटक सेवन गर्न सकिने डा. उपाध्यायको सुझाव छ । तर राम्रोसँग पानीमा उमालेर पिउनुपर्छ ।

गुर्जो जथाभावी प्रयोग गर्नुहुँदैन । गुर्जोमा आवश्यक तत्वहरु विकसित नभएसम्म यसको प्रयोग अर्थहीन हुने विज्ञहरुले सुझाएका छन् । आयुर्वेद विभागले बनाएको गाइड लाइनमा कम्तिमा पनि गुर्जो प्रयोग गर्न दुईदेखि पाँच वर्ष पुरानो हुनुपर्छ । गुर्जोको डाँठको मोटाइ कम्तिमा पनि बूढीऔँलादेखि कान्छी औँलाको बीचसम्म हुनुपर्छ । अन्यथा त्यसमा चाहिने तत्वहरु विकसित भइसकेको हुँदैन । सामान्य भाषामा गुर्जोमा चाहिने तत्वहरु दुई वर्षपछि मात्र विकास हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्