Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन प्रधानमन्त्री ओलीको अनुरोध



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा जस्तो सस्तो उपचार कहीँ पनि नभएको बताउँदै प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालको स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सम्बद्ध सबैमा अनुरोध गर्नुभएको छ ।

नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालले पुरानो प्रभाव र प्रतिष्ठालाई अझै माथि उठाउने विश्वास व्यक्त गर्दै चिकित्सा उपचार गरेर मात्रै नहुने भएकाले बिरामीप्रति गर्ने व्यवहार र मनोवैज्ञानिक उपचारतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

अस्पताल भवन मात्रै नभई सेवाको मन्दिर हो भन्ने भावनाका साथ काम गर्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई सुझाव दिँदै अस्पताललाई पूर्ण क्षमतामा लैजान निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले वीर अस्पतालको भवनलगायत विभिन्न परियोजना समयमै निर्माण सम्पन्न गरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो । उहाँले चिकित्सा सेवाको आवश्यकता बोध गरी यस क्षेत्रमा नयाँ थालनी गर्ने वीरशम्शेरप्रति पनि आदरभाव व्यक्त गर्नुभयो ।

समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. देवनारायण शाहले नवनिर्मित सर्जिकल भवन ५०९ श्ययाको रहने जानकारी गराउनुभयो । सर्जिकल विधाको सेवा, शिक्षा र अनुसन्धानमा यसले नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भवन निर्माणका क्रममा दुर्घटनामा मृत्यु भएका दुई मजदूरका परिवारलाई अस्पतालबाट हुने सबै स्वास्थ्य सेवा उपलब्ध गराइने घोषणासमेत गर्नुभयो ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रा. डा. जागेश्वर गौतमले अस्पतालबाट विशिष्टीकृत विशेषज्ञ सेवा दिइने जानकारी गराउँदै सरकारबाट थप रु पाँच अर्ब प्राप्त भए अस्पतालले सेवा निःशुल्क गर्न सक्ने पनि जानकारी दिनुभयो ।

समारोहमा भवन निर्माण गर्ने एक चिनियाँ र दुई नेपाली कम्पनी (जेडआइइसी–शर्मा रसुवा जेभी) का प्रतिनिधि रमेश शर्माले सरकारले कोभिडका कारण छ महिना समयसीमा बढाएको भए उक्त समय पनि नलिई तोकिएको समय अगावै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । भवन निर्माणको समय यही २०७८ कात्तिकसम्मको थियो ।

समारोहमा प्रधानमन्त्री ओलीले तोकिएको समयअगावै निर्माण सम्पन्न गरेकामा निर्माण कम्पनीलाई कदरपत्रसहित सम्मान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्