उपचारमा लापरवाहीका कारण क्याप्टेन राणाको मृत्यु भएको काउन्सिलको ठहर
डा. खत्रीले एक वर्षसम्म काम गर्न नपाउने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले क्याप्टेन राकेश ज.ब.राणाको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको ठहर गरेको छ ।
क्याप्टेन राणाकी श्रीमती पुष्पा शाह राणाले ४ चैत्र २०७७ मा चिकित्सकीय लापरवाहीका कारण श्रीमानको मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा दिएको उजुरीका आधारमा भएको छानविन पछि सो ठहर गरेको हो । राणाको उपचारमा मुटुरोग विशेषज्ञ डा.ऋषि खत्री लगायतका स्वास्थ्यकर्मी संलग्न थिए ।
काउन्सिलले डा. खत्रीलाई एक वर्ष सम्म काम गर्न नपाउने गरी कारबाही गरेको छ । काउन्सिलका अनुसार एकवर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरे पश्चात मात्र मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय गरेको छ ।
विमान चालक पाइलटहरुको स्वास्थ्य परीक्षण गराउँदा सम्बन्धित विषयको दर्तावाला तथा विज्ञ चिकित्सकबाट परीक्षण गराउने, विज्ञ पहिचानमा कुनै सहयोग आवश्यक भए काउन्सिलमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
त्यस्तै ४० वर्ष उमेर पुगेका पाइलटहरुको स्वास्थ्य परीक्षणलाई थप कडाइ गरी विषयविज्ञको राय बमोजिम गर्न समेत निर्देशन दिएको छ ।