Logo
|
Thursday 25th April 2024
Logo

epaper

मुलुकमा पहिलोपटक ल्याप्रोस्कोपिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण गर्ने नेपाली डाक्टर



जसको पुनआगमनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा राम्रो भएको छ । उहाँको आगमनपछि मुश्किलले वर्षको ५० वटा हुने ठाउँमा झण्डै ४ सय वटा सफल प्रत्यारोपण साँडे २ वर्षमै भएको छ । उहाँको नेतृत्वमा मुलुकमा पहिलोपटक २०७५ साल मंसिर २ गते ल्याप्रोस्कोपिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण भएको थियो । उहाँकै टिमले मुलुकमा मरेको मान्छेबाट मिर्गौला निकालेर जिउँदो मान्छेमा प्रत्यारोपण शुरु गरेको थियो र ३ जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला निकालेर ६ जना मिर्गौला फेल भएका व्यक्तिलाई नयाँ जीवन दिन सफल भयो । उहाँले एमएस जनरल सर्जरीपछि युरोलोजी तथा किड्नी प्रत्यारोपणमा ३ वर्षको सुपरस्पेशलाइजेसन कोर्ष गर्नुभएको छ ।

डा. कटवाल हाम्रा सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओलीका प्रत्यारोपण गर्ने दक्षिण एसियाकै उत्कृष्ठ डा. अनन्त कुमारका प्रीय विद्यार्थी हुनुहुन्छ । म्याक्स सुपर स्पेशियालिटी हस्पिटल शाकेत नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण, ल्याप्रोस्कोपिक तथा रोबोटिक सर्जरीको फेलोसिप गर्दा डा. अनन्त कुमार उहाँका गुरु हुनुहुन्थ्यो ।

उहाँले युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट विषयमा स्नातकोत्तर हाँसिल गरिसकेपछि २०७० सालदेखि हालसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काम गर्दै आउनुभएको छ । सोही दौरानमा दिल्लीको म्याक्स हस्पिटलमा खुला प्रतिस्पर्धाबाट एक वर्षको किड्नी ट्रान्सप्लान्ट, ल्याप्रोस्कोपिक तथा रोबोटिक सर्जरीको फेलोसिपमा छनौट हुनुभएको थियो । यो फेलोसिपमा छनौटमा पर्ने डा. कटवाल पहिलो विदेशी नागरिक हुनुहुन्थ्यो । उहाँसँग जनस्वास्थ्य सरोकारले लिएको अन्तर्बार्ताको सारसंक्षेप ।

डा. विजय मानसिंह कटवाल

के हो ल्याप्रोस्कोपिक डोनर नेफ्रेक्टोमी ?

अहिले संसारभर नै ओपन सर्जरी (चिरफार गर्ने) प्रचलन हट्दै गएको छ । अचेल मिर्गौला प्रत्यारोपण पनि चिरफार नगरी दूरविनको सहायताबाट गरिन्छ ।

दूरविनको मद्दतबाट कम्मरमुनी ५ देखि ६ सेन्टीमिटरको सानो घाउ बनाइ मिर्गौला दान गर्ने व्यक्ति (डोनर) को मिर्गौला निकालिन्छ । यसलाई ल्याप्रोस्कोपिक डोनर नेफ्रेक्टोमी भनिन्छ । बेल्ड लाइन मुनी सानो घाउ बनाउने भएकाले घाउको खत देखिदैन ।

साथै दुःखाइ पनि कम हुन्छ, मिर्गौला दान गर्ने व्यक्ति लामो समय अस्पताल बस्नुपर्दैन, धेरै औषधि खानुपर्दैन, सर्जरी गरेको ३ देखि ४ दिनभित्रमा आफ्नो दैनिक कार्यमा फर्किन सकिन्न्छ । मिर्गौला दान गर्ने व्यक्ति स्वस्थ हुने भएकाले उनलाई ओपन सर्जरी गरेर दुःख दिनु आवश्यक छैन । एक त आफ्नो नजिकको मान्छेलाई मिर्गौला दान गर्नु छ, त्यसमाथि दुःखाइ पनि सहनुपर्छ । ठूलो चिरफार गर्दा हर्निया हुनसक्ने, सङ्क्रमण दर उच्च हुने हुँदा यी सबै समस्याबाट टाढा रहन दाताको मिर्गौला सहजै झिक्न ल्याप्रोस्कोपिक डोनर नेफ्रेक्टोमी एक प्रभावकारी तरिका हो ।

युरोलोजी तथा ट्रान्सप्लान्ट विधा रोजाइमा पर्नुको कारण के हो ?

मेरो घर उदयपुरको गाइघाट हो । गुणस्तरीय शिक्षा दिने उद्देश्यले बुवाले काठमाडौंमा पढाउनुभयो । गाउँमा हजुरबुबा हजुरआमा बस्नुहुन्थ्यो । हरेक वर्ष जाडो महिनाको छुट्टी मनाउन गाउँ जाने गर्थेँ । गाउँको गरिबीलाई सानैदेखि नियाल्ने मौका पाएँ । अझै पनि नेपालका अधिकांश जनता गरिबीको रेखामुनी छन् । उनीहरुसँग उपचार गर्ने रकम छैन् । रोग लागेपछि उपचार नपाएरै मर्नुपर्ने वाध्यता छ । त्यसकारण धेरैभन्दा धेरै विपन्न समुदायका मिर्गौला पीडितलाई सेवा दिने उद्देश्यले प्रत्यारोपणतर्फ आकर्षित भए । नेपालको लागि मिर्गौला प्रत्यारोपण एक नयाँ विषय हो ।

केही वर्ष अघिसम्म मानिसहरु मिर्गौला उपचारका लागि विदेश जान्थे, लाखौँ रकम खर्च हुन्थ्यो । नेपालमा डायलाइसिस सुविधा असाध्यै महँगो थियो । डायलाइसिसकै लागि घरखेत बेच्नुपर्ने वाध्यता थियो । हुन त अहिले सरकारले डायलाइसिस र मिर्गौला प्रत्यारोपण निःशुल्क गरिदिएको छ । विपन्न बिरामीलाई ठूलो राहत मिलेको छ । यसरी निरन्तर बिरामीको उपचारमा संलग्न रहँदा सन्तुष्ट छु र रोगीको सेवामा सँधै रहिरहनेछु ।

अहिले मिर्गौला प्रत्यारोपणमा सिथिलता आएको हो ?

कोभिड–१९ ले विश्वभर नै दुर्भाग्यको माहोल खडा गरिदियो । कोभिडकै कारण केन्द्रमा झण्डै एक वर्ष मिर्गौला प्रत्यारोपण हुन सकेन । हाल केन्द्रमा प्रत्यारोपण सेवा सुरु भएको ४ महिना जति भइसकेको छ । अन्य देशमा भएको सुरक्षा प्रोटोकललाई पालना गर्दै हाम्रोमा सुरक्षित तवरले सफल प्रत्यारोपण भइरहेको छ । हाल चार सय जनाभन्दा बढी बिरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । अहिले शिक्षण अस्पतालले पनि प्रत्यारोपण सेवा सुरु गरेको छ । विस्तारै वीर अस्पतालले पनि सुरु गर्ला । हामी सबै जना मिलेर विपन्न बिरामीको मिर्गौला प्रत्यारोपण गर्नुपर्छ । अवस्था सहज हुँदै गएपछि हप्ताको छ दिन नै प्रत्यारोपण गर्ने योजना बनाएका छौँ ।

प्रत्यारोपणमा के कस्ता कठिनाइ छन् ?

अहिले भौतिक संरचना नपुग छ । एक सय शय्या क्षमताको अस्पतालमा मिर्गौला, पत्थरी प्रोष्टेट, पिसाबथैली, पिसाबनलीको विश्वस्तरीय उपचार हुन्छ । मिर्गौला, पिसाबथैली र प्रोष्टेट क्यान्सरको नयाँ प्रविधिबाट उपचार थालिएको छ । हाम्रो हस्पिटलमा रोबोटिक सर्जरी बाहेक युरोलोजी सम्बन्धि सम्पूर्ण उपचार सम्भव छ । सोका लागि कुनै नेपालीले पनि विदेश जानुपर्दैन साथै कलेजो र मिर्गौला प्रत्यारोपण, पित्तथैलीको शल्यक्रिया, मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी लगायतका सबै शल्यक्रिया एकै ठाउँमा गर्नुपर्नेहुँदा केही समस्या छ । करिब ७० प्रतिशत भन्दा बढी शैया नेफ्रोलोजीले ओगटेको छ ।

सर्जिकल आइसियु शय्याको कमी छ । मिर्गौला प्रत्यारोपणपछि बिरामी राख्ने जम्मा ६ वटा आइसियू शय्या छुट्याइएको छ । सामान्य त बिरामीलाई पाँचदेखि सात दिनमा डिस्चार्ज गरिन्छ । केही बिरामी अलि बढी दिन बस्नुपर्ने हुनसक्छ । अहिले हप्तामा ६ वटासम्म मिर्गौला प्रत्यारोपण गर्नसक्ने क्षमता छ । जनशक्ति पनि पुगेको छ । अमेरिकामा जुन मापदण्डको प्रत्यारोपण हुने गरेको छ नेपालमा पनि समान मापदण्डको प्रत्यारोपण हुन्छ ।

मिर्गौला जोगाउन के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

प्रायः उच्च रक्तचाप र मधुमेहको समस्या भएका मानिसले आफ्नो रोगबारे हेलचेक्र्याई गरेमा बिस्तारै मिर्गौलाको काम गर्ने क्षमता कमजोर हुँदै जान्छ । त्यसैगरी वंशाणुगत तथा पत्थरीका कारण पनि मिर्गाैलाले काम नगर्न सक्दछ । मधुमेह र उच्चरक्तचाप नियन्त्रण गर्ने र नियमित डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ । नियमित शारीरिक व्यायाम गर्नुपर्छ । शरीरको तौल सन्तुलनमा राख्नुपर्छ । जंक फूडको प्रयोग कम गर्ने, स्वस्थ्य खानपानमा जोड दिने, सागसब्जीलगायत शाकाहारी खानामा जोड दिने, पर्याप्त मात्रामा पानी पिउने, दैनिक करिब ३ देखि ४ लिटरसम्म पानी पिउने तर मिर्गौला फेल भएका व्यक्तिहरुले पानी पिउन हुँदैन ।

हरेक वर्षमा एकपटक मिर्गौलाको जाँच गर्ने, चिकित्सकको सल्लाह बिना पेनकिलरलगायतका कुनै पनि औषधि प्रयोग नगर्ने, मिर्गौलामा पत्थरी भएको अवस्थामा बेलैमा उपचार गर्नुपर्छ ।

हरेक वर्ष पिसाव र क्रिटिनाइन जाँच गरेमा मिर्गौलाको अवस्था पहिचान गर्न सकिन्छ । मिर्गौला बिग्रिन थाल्यो भने पिसाबमा प्रोटिन देखिन थाल्छ तथा रगमा क्रेटिनाइन बढ्न थाल्छ । सुरुवाती अवस्थामा सामान्य उपचारबाटै मिर्गौलाको रोग निको पार्न सकिन्छ । तर अधिकांश व्यक्तिहरुमा ८० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्र लक्षण देखिन थाल्छ । त्यसैले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

आफूलाई कसरी निखार बनाउन सकिन्छ ?

प्रत्यारोपण आफैंमा एउटा जटिल विषय हो । यसका लागि धेरै भन्दा धेरै प्रत्यारोपणको अनुभव बटुल्नुपर्छ । कति वर्ष काम ग¥र्यो भन्नुभन्दा पनि कति जना बिरामीको उपचार ग¥यौं भन्ने कुराले दक्षता निर्धारण गर्दोरहेछ । यसमा आफ्नो इच्छाशक्तिको कुरा पनि हुँदो रहेछ । म सन् २००८ देखि मिर्गौला प्रत्यारोपणमा संलग्न छु । सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको सरकारी अस्पतालमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण केन्द्रमा रेजिडेन्सी गरेको थिएँ । त्यसपछि शहीद धर्मधभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म काम गर्दैछु ।

दिल्लीको म्याक्स हस्पिटल तथा लखनौको सञ्जय गान्धि पोष्ट ग्राजुएट मेडिकल इन्स्टिच्युटमासमेत मिर्गौला प्रत्यारोपण सम्बन्धि उच्च ट्रेनिङ हाँसिल गरेको छु । अहिलेसम्म १ हजार भन्दा बढिको प्रत्यारोपणमा प्रत्यक्ष संलग्न भईरहँदा अझ धेरै सिक्न बाँकी छ जस्तो लाग्छ ।

मस्तिष्क मृत्युबाट हुने मिर्गौैैला प्रत्यारोपण किन प्रभावकारी हुन सकेन ?

आम मानिसमा जनचेतनाको अभाव, साधनस्रोत, इच्छाशक्ति तथा जनशक्तिको कमीले मस्तिष्क मृत्युबाट हुने मिर्गौला प्रत्यारोपण प्रभावकारी हुन सकिरहेको छैन । यो मिर्गौैैला प्रत्यारोपण एक्लैले सम्भव छैन । यो टिमवर्क हो । टिम भए जस्तोसुकै परिस्थितिमा प्रत्यारोपण गर्न सकिन्छ । साधनस्रोत राम्रो हुनुपर्छ ।

राम्रो साधनस्रोत भए नेपालको जुनसुकै अस्पतालमा पनि प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा साधानस्रोत र दक्ष जनशक्तिको अभाव छ । साना गल्तीले पनि बिरामीलाई प्रत्यक्ष हानी हुनसक्ने भएकाले दक्ष र विश्वासिलो समूह आवश्यक पर्दछ ।

‘ब्रेन डेथ’ डोनरलाई सहजीकरण गर्न सकिदैन र ?

अवश्य सकिन्छ । तर ब्रेन डेथ अङ्गदान भन्ने वित्तिकै कसरी गर्ने, कसलाई जान्छ, अङ्गभङ्ग हुन्छ भन्ने सोच र अन्यौलता छ । पहिला मानिसहरु आँखा दान गर्न पनि हिच्किचाउँथे । विस्तारै जनचेतना फैलिदै गयो । अरुले आँखा देख्न पाउँछन् भने किन दान नगर्ने भन्ने मानसिकता बन्यो । भारतमा कलेजो, मुटु, मिर्गौला, आन्द्रा, फोक्सोको साथै हात, खुट्टा र छाला पनि दान गरिन्छ । नेपालमा अझै पनि मस्तिष्क मृत्यु भएको मानिसको अङ्ग दान सहज हुन सकेको छैन । कानुन बने पनि जनचेतनाको अभावले मानिसहरु मृत्युपछि अङ्गदान गर्न हिच्किचाउँछन् । यसमा धार्मिक र समाजिक मूल्य मान्यता पनि जोडिएका हुन्छन् । तर अंगादान जस्तो महादान अरु हुन सक्दैन । यो ठूलो पुण्य हो । जलाएर नष्ट हुने अंगले अरुको ज्यान बचाउन सकिन्छ भने त्यसमा किन पछि हट्ने ।

सवारी दुर्घटनामा बर्सेनी करिब १ हजारभन्दा बढीको मृत्यु हुने गरेको विभिन्न तथ्याङहरुले देखाएका छन् । सरकारले मृत्युपछि अङ्गदान गर्न चाहने व्यक्तिहरुलागि सहुलियत कार्ड, ट्याक्समा सहुलियत, निःशुल्क हेल्थ इन्स्योरेन्सलगायत विभिन्न आकर्षित योजनाहरुको व्यवस्था लागु गर्न सकेमा नेपालमा आफ्ना परिवारका सदस्यले मिर्गौला दान गर्न आवश्यक नै पर्दैन ।

मस्तिष्क मृत्यु भएका व्यक्तिहरुबाट निकालिएको अंग नै प्रयाप्त हुन्छ । डायलाइसिस गरेर बस्नै पर्दैन । सबैले प्रत्यारोपण गरेर सामान्य जीवनयापन गर्न सक्छन् ।

काम गर्न कत्तिको सहज वातावरण छ ?

अहिले हाम्रो केन्द्रमा एकदम सहज वातावरण छ । पहिला पनि राम्रो थियो । नयाँ निर्देशक प्रा.डा. प्रेमराज ज्ञवाली आएपछि राम्रो भएको छ । उहाँलाई ३० वर्षभन्दा धेरै युरोलोजी तथा मिर्गौला पत्यारोपणको अनुभव छ । उहाँ पहिला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको युरोलोजी तथा प्रत्यारोपण को विभागीय प्रमुख पनि हुनुहुन्थ्यो । हाम्रा वर्तमान सम्माननीय प्रधानमन्त्रीले पनि उहाँको दक्षता देखेर नै नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने अठोट गर्नुभएको थियो ।

युवा चिकित्सकले संस्थाको नेतृत्व लिन नसक्ने हो र ?

म जस्तो चिकित्सकले अहिले काम गरेर देखाउने बेला हो । सेनापतिलाई राजा बनाए युद्ध कसले लड्ने ? मैले नेतृत्व तहको पद ग्रहण गरे भने दुवै काम राम्रोसँग गर्न नसकँुला । शल्यक्रिया गर्ने भएकाले शल्यक्रिया सफल रुपमा गर्न सक्छु । प्रशासनिक ज्ञान भएका व्यक्तिलाई संस्थाको नेतृत्वको जिम्मेवारी दिँदा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्