Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ



जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पा अस्पतालले सञ्चालन ल्याउन भनेको अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको छ । अक्सिजन उत्पादन गर्ने मेसिन राख्ने पूर्वाधार निर्माण हुन नसक्दा प्लान्ट सञ्चालनमा ढिलाइ भएको हो । सङ्घीय सरकारले अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । तर सरकारले बजेट स्वीकृत गरेको चार महिना बित्न लाग्दा समेत प्लान्ट राख्ने भौतिक संरचना बन्न सकेको छैन ।

पाल्पा अस्पतालले आवश्यक उपकरण खरिद गरिसकेको छ । तर अक्सिजन उत्पादन गर्ने मेसिन राख्ने स्थल बनाउन रकम अभाव हुँदा अक्सिजन प्लान्ट सञ्चालन गर्न ढिलाइ भएको पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले बताउनुभयो ।अक्सिजन प्लान्ट सञ्चालन गर्न पाल्पा अस्पतालकै छेउमा २६ लाख लागतमा मेसिन राख्ने पूर्वाधार बन्दै गरेको छ । तर उक्त पूर्वाधार निर्माण गर्न हालसम्म पनि कुनै निकायबाट रकम नआएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेयले बताउनुभयो ।

मेसिन राख्ने स्थल निर्माणको ५० प्रतिशत काम सकिए पनि रकम अभावले उपभोक्ता समितिले काम अगाडि बढाउन नसकेको हो । अक्सिजन प्लान्ट स्थापना भए दैनिक ५० देखि १०० सिलिन्डर अक्सिजन उत्पादन हुने पाल्पा अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट सञ्चालनमा आए दैनिक ५० देखि एक सयसम्म सिलिन्डर अक्सिजन उत्पादन हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । पूर्वाधार बनाउन तानसेन नगरपालिका मातहत उपभोक्ता समिति गठन गरिएको छ । रकम नआए पनि हाललाई रकम आउने आशमा ५० प्रतिशत बढी काम गरिसकिएको उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले बताउनुभयो ।

पाल्पामा चार वटा ठुला अस्पताल भए पनि लुम्बिनी मेडिकल कलेजमा बाहेक अन्त अक्सिजन उत्पादन गर्ने प्लान्ट छैन । कलेजमा भएको प्लान्टले समेत दैनिक १५/२० सिलिन्डर मात्रै अक्सिजन उत्पादन गर्ने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्