Logo
|
Friday 19th April 2024
Logo

epaper

४० भन्दा बढी नर्सिङ तथा प्यारामेडिक्स कलेज सञ्चालकले आयोगलाई बुझाए चाबी

एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुर्नविचार गर्न माग



जनस्वास्थ्य सरोकार, भक्तपुर । चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने करिब ४० भन्दा बढी कलेज सञ्चालकहरुले आयोगमा चाबी बुझाएका छन ।


उनीहरुले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटा भन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजहरुलाई बन्द गराउने रणनीति आयोगले लिएको भन्दै कलेज सञ्चालकहरुले आयोगमा पुगेर कलेजका चाबी बुझाउदै विरोधमा उत्रिएका हुन ।

चाबी बुझाएपछि कलेज सञ्चालकहरुले आफ्ना माग पुरा नभएसम्म कक्षा सञ्चालन तथा नयाँ भर्नाका कार्यक्रम रोक्ने स्पष्ट पारेका छन् ।


कलेज सञ्चालकहरु आउने संकेत पाएपछि आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी कार्यालयबाट बाहिरिएका थिए । कार्यालयमा कुनै पनि कर्मचारी थिएनन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तरर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरुको छाता संगठन एलाइट साइन्स इन्सिट्युसन एसोसिएसन (एसिया) का अध्यक्ष यमप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले आयोगका उपसचिव सेमन्तराज कोइरालालाई विज्ञप्तीसहिच चाबी बुझाए । चाबी बुझाउन पुर्व कोइरालाले डा. गिरीसँग परामर्श लिएका थिए ।

एसियाका उपाध्यक्ष के. एन. शर्माले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुर्नविचार गर्नुपर्ने बताउनुभयो । ‘आयोगले कलेजको अनुगमन गर्यो, सिट संख्या तोक्यो तर परीक्षा मापदण्ड नै अव्यहारिक बनायो र विद्यार्थी भर्ना नै नहुने अवस्थामा पु¥यायो । यसले हाम्रो कलेज पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको छ ।’-उहाँले भन्नुयो ।


अध्यक्ष अधिकारीले आयोगलाई प्रवेश परीक्षामा ५० प्रतिशत ल्याए मात्र स्नातक कक्षामा पढ्न पाउन दिने भन्ने कानुनी व्यवस्था नभएको जिकिर गर्नुभएको छ । ‘यो आइओएमलाई मात्र हेरेर बनाइएको नियम हो,’ उहाँले भन्नुभएको छ ‘चारवटा विश्वविद्यालयले नर्सिङ तथा पारामेडिक्स पढाउछन् उनीहरु सबैको हेरेर त्यही अनुपातमा बनाउनुपर्ने थियो ।’


आयोगले बीपीएचमा कुल एक हजार ४२० कोटा छुट्याएको छ । तर ५६५ जनाले मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । त्यसैगरी, बिएससी नर्सिङ १ हजार १ सय छुट्याइएकोमा ५ सय ४ जना पास भएका छन् । बीएससी नर्सिङमा एक हजार १ सय कोटा छ, तर ५०४ जना मात्रै उत्तीर्ण भएका छन् । बी फार्मेसीमा ९०२ वटा कोटा छ तर ५४७ जना मात्रै उत्तीर्ण छन् । फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटा छ, त्यहाँ ११४ जना, बीएससी एमआईटी रेडियोग्राफीमा ७१ मा ३५ जना, बिएससी एमएलटी ४२५ सिटमा ११८ जना उत्तीर्ण भएका छन् ।


यहाँ नाम ननिस्केकाहरु बीएससी नर्सिङ तथा प्यारामेडिक्सका अन्य विषय पढ्न भारत तथा बंगालदेश तर्फ लागिसकेका छन् । कतिपयले समेत यहाँ पढाउन नपाएपछि छोराछोरी बाहिर धमाधम पठाउन थालिसकेका छन् ।

कलेज संचालकहरुले तत्काल पुनः परीक्षाको सम्भावना नभएको हुँदा कोटा पुरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पास मार्क घटाएर भए पनि कोटा पुरा हुने गरी विद्यार्थी संख्या उपलव्ध गराउनुपर्ने बताए ।

कलेज सञ्चालकहरुले यसअघि आयोगका अधिकारीहरुलाई भेट्दा जसरी कोटा पुरा हुने गरी विद्यार्थी उपलव्ध गराउने आस्वासन पाएको तर परीक्षाको मापदण्ड विगारेर निजी कलेजमाथि अन्याय गरेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्