आजदेखि असोज १४ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै, यी हुन् खोपकेन्द्र
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले आजदेखि असोज १४ गतेसम्म कोरोनाभाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले लगातार ११ दिनसम्म चार उमेर समुहलाई भेरोसेल खोपको पहिलोमात्रा लगाइने जानकारी दिनुभयो । अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ ।
ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइने उहाँले बताउनुभयो ।
यस्तै खोप शाखा प्रमुख सागर दाहालले काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई खोप दिइने बताउनुभयो । यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।
त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।
बाँकी ५८ जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।
त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौँ जिल्लामा भने असोजदेखि चिनियाँ खोप भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बाँकी रहेकाले काठमाडौँमा भने दोस्रो मात्रा लगाइने छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार सोमबारबाट जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र कागेश्वरी मनहरामा नौरनौ खोप केन्द्र तोकिएको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ ।