Logo
|
Friday 29th March 2024
Logo

epaper

मधुमेह भएको व्यक्तिमा मिर्गौला सम्बन्धी रोगको जोखिम बढ्दो

जीवनशैली र खानपानमा विशेष ध्यान दिन विज्ञको सुझाव



जनस्वास्थ्य सरोकार, बुटवल । नेपालमा पछिल्लो समय मधुमेह भएका व्यक्तिमा मधुमेह सम्बन्धी मिर्गौला रोगको जोखिम बढ्दै गएको पाइएको छ ।


केन डाइबेटिज एण्ड थाइराईड सेन्टरले गत भदौमा मधुमेहका बिरामीहरुको मिर्गौला सम्बन्धी जाँच गर्दा ७० प्रतिशत बढीमा माइक्रोएल्ब्युमिनको मात्रा उच्च पाइएको जनाएको हो ।


मधुमेह भएका व्यक्तिको पिसावमा माइक्रोएल्ब्युमिनको मात्रा देखिएमा भविश्यमा मिर्गौला सम्बन्धी समस्या हुनसक्ने चिकित्सकको भनाई छ ।

त्यस्तै, सेन्टरले बुटवलका ३० देखि ४० वर्ष उमेर समुहका व्यक्तिको ‘होल बडी स्क्रिनिङ’ सर्वेक्षण गर्दा ७० प्रतिशतमा उच्च कोलेस्टेरोल, ५० प्रतिशतमा कलेजो सम्बन्धी फ्याटी लिभरको समस्या र ३० प्रतिशतमा यूरिक एसिड सम्बन्धी समस्या देखिएको सेन्टरका कार्यक्रम संयोजक पुजा रिजालले जानकारी दिनुभयोे ।


तौलमा नियन्त्रण, दैनिक व्यायाम, स्वस्थ खानपान र जीवनशैली अवलम्बन नगर्दा भविश्यमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगको जोखिम बढेको वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. रजत कायस्थले बताउनुभयो ।

आजकाल अधिकांश मानिसहरु घर भन्दा बाहिरका जंकफुड खान बढी रुचाउने भएकाले कम उमेरमै स्वास्थ्य सम्बन्धी समस्या देखापरेको पोषणविद् कुबेर गिरीले बताउनुभयो ।


बिरामीले समयमै विशेषज्ञ उपचार र खानपान सम्बन्धी ज्ञान पाएमा मधुमेह रोगलाई नियन्त्रण गर्न सकिने इन्डोक्राईनोलोजिष्ट डा. जस्मिन तुलाधरले बताउनुभयो ।

बिरामीहरूको जीवनशैली र खानपिनको तालमेल मिलाउन नसक्दा मधुमेह नियन्त्रण नभएको डा. नरेश पराजुलीले बताउनुभयो । मधुमेहलाई नियन्त्रणमा राख्नसके बिरामीको मिर्गौला, मुटु र अन्य अंगहरु खराब हुनबाट बचाउन सकिने उहाँको भनाई छ ।


यस्तै, केन सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले औषधी खाएर मात्र रोग नियन्त्रण नहुने बताउनुभयो । बिरामीले स्वस्थ जीवनशैली, खानपान र औषधि सेवन तरिका परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो–‘हामीले औषधी सेवन भन्दापनि दैनिक जीवनशैली र खानपानमा थोरै मात्र ध्यान दियौँ भनेपनि यस्ता दीर्घ रोगबाट छुटकारा पाउन सक्छौँ ।’


केन सेन्टरले विगत लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी सचेतनाका कार्यक्रमहरु नियमित सञ्चालन गर्दै आइरहेको उहाँको भनाइ छ ।


विगत ३० बर्षदेखि स्वास्थ्य सेवा आवद्ध कक्षपतिले गृहनगर तिलोत्तमा २ मा मधुमेह थाइराइड सम्बन्धी उपचार केन्द्र शुरु गरेर त्यहाँका विरामीहरुलाई विशेषज्ञ उपचार सेवा दिइरहनुभएको छ ।


उहाँले काठमाडौंको विस्तारित बुटवल, शंकरनगर शाखाबाट लुम्बिनी अञ्चल र पश्चिम क्षेत्रका बिरामीहरुलाई पनि उपचार सेवा दिइरहेको जानकारी दिनुभयो। सबैखाले विशेषज्ञ सेवा उपलब्ध हुने भएकाले काठमाडौं वा भारत जानुपर्ने बाद्यता अन्त्य भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्