Logo
|
Friday 26th April 2024
Logo

epaper

सन् १९६१ को त्यो डिसेम्वरलाई सम्झदा…



डा. दिनेशनाथ गोंगलले मुलुकमा पहिलोपटक मस्तिष्कको शल्यक्रिया गर्नुभएको हो त्यसैले उहाँ नेपालका फादर अफ न्यूरो सर्जरीका रुपमा परिचित हुनुहुन्छ । सन् १९६१ को डिसेम्भरमा डा. गोंगलले त्रिभुवन राजपथमा सवारी दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेकी एक बालिकाको पहिलोपटक बीर अस्पतालमा शल्यक्रिया गर्नुभएको थियो जुन मुलुकको पहिलो स्नायु शल्यक्रिया थियो । डा. गोंगल न्यूरोको मात्र होइन, साहसी जनरल सर्जनका रुपमा चिनिनु हुन्छ । जस्तै जटिल शल्यक्रिया गर्न पनि उहाँ तत्पर रहनुहुन्थ्यो । आफ्नो जीवनकालमा डा. गोंगलले साना ठूला गरी हजारौं शल्यक्रिया गरिसक्नुभएको छ । उहाँले तालिम दिएका र उहाँले बीर अस्पतालबाट तालिम लिन पठाएका धेरै चिकित्सकहरु देशका प्रतिष्ठित शल्यचिकित्सकका रुपमा स्थापित छन् । शल्यक्रियामा लामो समय लाग्ने र जटिलताको अत्यधिक सम्भावना हुने भएको कारणले त्यो बेला धेरै चिकित्सकहरु न्यूरो शल्यक्रियामा तालिम गर्न तयार हुँदैनथे । त्यतिखेर डा. गोंगलले जुनियर डाक्टरका रुपमा पाउनु भयो डा. उपेन्द्र देवकोटालाई । उहाँले आफ्नो परिश्रम र शल्यक्रिया प्रति लगनशीलताले सजिलै गुरुको विश्वास जित्नुभयो । फलस्वरुप डा. गोंगलको सल्लाह अनुसार डा. देवकोटा स्नायु शल्यक्रियाको उच्च तालिमका लागि बेलायत जानुभयो । बेलायतमा न्युरो सर्जरीको तालिम सकेर सन् १९८९ मा नेपाल फर्केपछि मुलुकमा आधुनिक न्युरो सर्जरीको शुरुवात भयो ।

प्राध्यापक डाक्टर उपेन्द्र देवकोटा स्वास्थ्य मन्त्री हुनु भएको बेला बीर अस्पतालमा सन् २००२ मा न्याम्सको स्थापना भयो र त्यहाँको न्युरो सर्जिकल डिपार्टमेन्टलाई नेशनल रिफरल सेन्टरको रुपमा स्थापित गरियो ।

न्याम्सका निर्देशकका रुपमा डा. गोंगलले त्यहाँ गुणस्तरीय न्युरो सर्जरीको तालिम शुरु गर्नुभयो । उहाँहरुको प्रयासले अहिले मुलुकमा न्यूरो सर्जरी सेवा अन्तर्राष्ट्रियस्तरमा परिचित भइसकेको छ । ८९ वर्षको उमेरमा पुगिसक्दा पनि डा. गोंगल बिरामीको हेरचाहमा त्यत्तिनै सक्रिय हुनुहुन्छ । उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा बिहान ९ बजे पुग्नुहुन्छ र दिनभर बिरामीको हेरचाहका साथसाथै त्यहाँका शैक्षिक निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।

भारतको मुम्बइमा सन् १९५८—१९६१ सम्म सर्जरीमा मास्टर्स अध्ययनका क्रममा उहाँले न्यूरो सर्जरीको तालिम लिने मौका पाउनुभएको थियो । त्यतिखेर स्नायु शल्यक्रिया गर्दा अहिले जस्तो अत्याधुनिक प्रविधिहरु थिएनन् । बीर अस्पतालमा भएको ट्रेफाइन उपकरणको मद्धतले टाउकाको पहिलो शल्यक्रिया भएको थियो । तर जटिल चोट भएका कारण त्यो बिरामी बाँच्न सकेन । त्यसबेला न्यूरो समस्याको निदानका लागि प्राप्त सुविधाहरुमा एक्स—रे मेसिन मात्र थियो । एक्स—रेको भरमा क्लिनिकल डाइग्नोसिस गर्नुपथ्र्यो । सन् १९६२ मा टोखाका शंकर मानन्धरको दोस्रोपटक ब्रेन ट्यूमरको शल्यक्रिया भयो र यसपटक भने बिरामी बाँच्न सफल भए । त्यतीबेला उपकरण खरीद गर्ने अस्पतालको बजेट पनि थिएन । राजदरबारका एकजना उपसचिवलाई उपचारकालागि मुम्बई लिएर गएको बेलामा व्यक्तिगत १० हजार भारु खर्चेर उहाँले न्यूरो शल्यक्रियाका केही उपकरण लिएर आउनुभएको थियो ।

‘त्यो बेला इथरको माध्यमबाट व्यक्तिलाई बेहोस गराइन्थ्यो । अहिलेको जस्तो सुविधा थिएन । ब्रेन ट्यूमरको शल्यक्रिया सफल हुन थालेपछि हौसला बढ्दै गयो । त्यसपछि स्पाइनको शल्यक्रिया शुरु भयो । यसमा पनि सफलता पाएँ ।’—डा. गोंगल सम्झनु हुन्छ—‘आफ्नो क्षमता र ज्ञानले भ्याएसम्म समस्या पहिचान गरेर शल्यक्रिया गर्दा प्राप्त भएका सफलता र असफलता दुवैले काम गर्ने क्षमतालाई परिष्कृत बनाउँदै लग्यो ।’ त्यो बेला युनाइटेड स्टेट मिसनमा काम गर्ने एक जना डा. क्रोञ्चले शल्यक्रियाका लागि धेरै गाइड गर्नुभएको थियो । सन् १९६४ तिर एकजना बच्चाको ब्रेन ट्यूमरको शल्यक्रिया गर्नुभयो डा. गोंगलले । बच्चा त बाँचेन तर यसको १६ मिलिमिटरको सिनेमा भने बनाउनुभयो । बीर अस्पतालको नयाँ भवन बनेपछि हप्ताको दुई दिन बिहान जनरल सर्जरी र दिउँसो २ बजेपछि न्यूरो सर्जरीमा नै दिन बित्न थाले । शल्यक्रियाका लागि आवश्यक पर्ने रगत परोपकारका स्वयंसेवकहरुले उपलब्ध गराउँथे ।

त्यो बेला दक्षिण भारतको भेलोरका वरिष्ठ न्यूरो सर्जन प्रा. डा. के.भि.मथाई पनि सघाउन आउनुहुन्थ्यो । न्यूरो सर्जरी युनिट खोल्दा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले धेरै मद्दत गर्नुभएको थियो । उहाँले चिकित्सक तालिमका लागि विदेश पठाउने, चिकित्सक दरबन्दी थप्ने जस्ता कार्यमा सहयोग गर्नुभएको थियो । मुलुकमा सिटी स्क्यान र एमआरआई जस्ता अत्याधुनिक सेवा भित्रिएपछि न्यूरो सर्जरी सेवाले महत्वपूर्ण सफलता प्राप्त गर्दै आएको छ ।

प्रा.डा. उपेन्द्र देवकोटा बेलायतमा तालिम सकेर सन् १९८९ मा नेपाल फर्किसकेपछि मुलुकमा न्युरो सर्जरी सेवाले धेरै नै राम्रो उपलब्धी हाँसिल गर्न सफल भयो । डा. देवकोटाको अभाव कसैले पनि पूर्ति गर्न सक्दैन ।

प्रा.डा. उपेन्द्र देवकोटा

‘कतिपयले प्रा.डा. देवकोटालाई घमण्डी भन्लान् । तर त्यो होइन । मैले देवकोटा सँग सन् १९७८ देखि संगत गरेको थिएँ ।’ डा. गोंगलको भनाइ छ—‘म उपेन्द्रको काम गराइबाट धेरै नै प्रभावित भएको छु । उहाँको दाँजोमा अरु कोहि पनि छैन । मुलुकलाई प्रा.डा. देवकोटा जस्तो चिकित्सक पाउन धेरै समय लाग्छ ।’

‘मानिसमा काम गर्ने इच्छा हुनुपर्छ । सबै कुरा तालिममा सिकाइदँैन । तर ‘गर्छु’ भन्ने भावना हुनुपर्छ । न्युरो सर्जरी सेवामा जोखिम धेरै भएपनि जोखिम मोलेर काम गर्नुपर्छ ।’ डा. गोंगल भन्नुहुन्छ—‘सफल न्युरो सर्जन बन्न दृढटा, लगनशिलता र मेहनत चाहिन्छ । बिरामीको सेवामा तल्लिन हुनुपर्छ ।’ पछिल्लो समय आएका न्युरो सर्जनहरुको भविष्य धेरै राम्रो छ । उनीहरुले राम्रो गरिरहेका छन् । न्युरो सर्जनहरुलाई मैले आफ्नो सन्तानको रुपमा लिएको छु । ‘सन्तानले डाँडाकाडा ढाकुन्’ भन्ने चाहना थियो, केहि शहर त ढाकिए तर देशका सबै क्षेत्रमा न्युरो सर्जन पु¥याउन सकिएको छैन । यसप्रति राज्यको ध्यान जान जरुरी देखिन्छ ।’

डा. गोँगलको मिहिनेत
डा. गोंगल फोक्सोको शल्यक्रिया गर्ने पनि पहिलो चिकित्सक हुनुहुन्छ । त्यस्तै मुटुको शल्यक्रिया गर्ने पनि पहिलो चिकित्सक उहाँनै हुनुहुन्छ । उहाँले सन् १९६५ को जनवरीमा पहिलो पटक मुटु खोल्नुभएको थियो । गोमा नाम गरेकी एकजना महिलाको उहाँले मुटुको शल्यक्रिया गर्नुभएको थियो तर यो शल्यक्रिया गरेकी महिला बाँच्न सकिनन् । त्यसपछि बीरबहादुर नाम गरेका एकजना पुरुषको मुटुको शल्यक्रिया गर्नुभयो । तर यो बिरामी बाँच्न सफल भयो । डा. गोंगल पेट एवं गल ब्लाडरको शल्यक्रिया त निरन्तर गरिरहनुहुन्थ्यो । त्यसबेला बीर अस्पतालमा डा.गोंगल र डा. अञ्जनीकुमार शर्मा शल्यचिकित्सकका रुपमा प्रसिद्ध थिए । दुबैजना मिली धेरै जटिल शल्यक्रियाहरु पनि गरे ।

डा. गोंगल जनरल जर्सरी दिउँसो सम्ममा भ्याउने प्रयास गर्नुहुन्थ्यो ताकि न्यूरो सर्जरी बेलुकीपख गर्न सकियोस् । डा. गोंगलको पालामा बीर अस्पतालमा कहिलेकाँही बिहान ८ बजेदेखि शुरु भएको शल्यक्रिया भोलिपल्ट बिहान ३ बजेसम्म पनि चलिरहन्थ्यो । त्यतिखेर वीर अस्पतालमा कार्यरत उहाँका अग्रज डाक्टरहरुले उहाँलाई शल्यक्रियाका लागि प्रोत्साहित गर्नुहुन्थ्यो । जस्तैः शल्यक्रियाका लागि एनेस्थेसियोलोजिष्ट डा. भवानीभक्त सिंह, नरेन्द्र राणा निकै समन्वय गर्ने चिकित्सक हुनुहुन्थ्यो । रेडियोलोजीमा डा. रघुवीर बैद्य हुनुहुन्थ्यो । यसमा नर्सिङ स्टाफहरुको सहयोग पनि अतुलनीय थियो । उहाँ भन्नुहुन्छ—‘अहिले मुलुकमा धेरै शल्यचिकित्साको विकास भएकाले खुशी लाग्छ ।’

डा गोंगलले आफ्नो तालिमको समयमा देख्नुभएको र अनुभव गर्नुभएको अध्ययन र अभ्यासको आधारमा मस्तिष्क, मुटुजस्ता शल्यक्रियालाई आफ्नो देशमाशुरु गर्नुभयो । अहिले शल्यचिकित्साको क्षेत्रमा भएको सुपर स्पेशलाइजेशनले निकै फड्को मारेको छ । मुटु, मस्तिष्कजस्ता समस्याको शल्यक्रियाका लागि छुट्टा छुट्टै अस्पतालहरु खुलेका छन् ।अहिले न्युरो उपचार गर्ने धेरै अस्पतालहरुको वृद्धि भएकोमा डा. गोंगल खुशी हुनुहुन्छ ।

सरकारले स्वास्थ्य क्षेत्रको विकास र प्राविधिक सेवामा आवश्यक खर्च नगरेको डा. गोंगलको ठम्याइ छ । मैलै सन् १९५१ मा बीएस्सी पास गरेर भारतमा मेडिकल शिक्षा अध्ययन गर्दा वर्षमा १ हजार क्यापिटेसन शुल्क तिर्नुपथ्र्यो । तर पछि मलाई त्यो रकम मिनाहा भयो । अहिले एमबीबीएस पढ्न करिब ४५ लाख रुपियाँ खर्चिनुपर्छ । स्पेशियालिष्ट हुन अर्को एक डेढ करोड रुपियाँ लाग्ने सुन्नमा आउँछ । ‘यति धेरै महँगो खर्च गरेर अध्ययन गरेपछि स्वास्थ्य सेवाबाट छिट्टो आम्दानी गर्नुपर्छ भन्ने धारणा विकास भएको छ’—डा. गोंगल भन्नुहुन्छ— ‘त्यसपछि सेवाभन्दा पनि कमाउने ठाउँको रुपमा स्वास्थ्य सेवा विकास हुनथालेको जस्तो लाग्छ । यो सरकारको कमजोरी हो । सरकारले मेडिकल अध्ययन गर्न सहुलियत दिएको अवस्थामा स्वास्थ्य सेवा यति धेरै महँगिदैनथ्यो ।’

पुरानो नेपालमा तत्कालीन राज परिवारका सदस्यहरु विभिन्न उपचार र शल्यक्रियाकालागि बीर अस्पतालमा आउने गर्थे । अहिलेका नेताहरु कुनै सानो रोग लागेमा पनि विदेश–दिल्ली वा बैंकक जाने गर्छन् । राजनीतिमा भागबण्डाको सिस्टम रहेसम्म स्वास्थ्यमा सुधार आउने अवस्थान रहेको डा. गोंगलको भनाई छ । उहाँ भन्नुहुन्छ—‘मैले गरेका उपचार र शल्यक्रियाप्रति म निकै सन्तुष्ट छु । मैले देशमा सर्जरीमा एफआरसिएस सम्मको अध्ययन ल्याउन सफल भएँ । त्यस्तै मुलुकमा एमडी एमएस÷डीएम एमसीएचको शुरुवात् भयो । यसले मलाई निकै सन्तोष मिलेको छ । तर मलाई अहिलेको राजनीतिक अवस्था देखेर भने दुःख लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्