Logo
|
Friday 26th April 2024
Logo

epaper

‘जो सपनामा पनि बिरामी देख्छिन्’



लामो समय नर्सिङ सेवामा समय बितेको हुनाले कहिलेकाँही सपनामा आफूले स्याहारिरहेका बिरामी देख्छु । सपनामा बिरामी स्याहारिरहेको देख्दा पनि कति रमाइलो हुन्छ । नर्सहरुलाई निर्देशन दिइरहेको पनि देख्छु ।

‘घरभन्दा हस्पिटल प्यारो’
अहिले धेरै उमेर भयो । रोगी पनि भएँ । त्यही पनि दिनमा ३—४ पटकसम्म बिरामी केयरमा राउन्ड लगाउँछु । नानीहरुलाई सम्झाउँछु, बुझाउँछु र सिकाउँछु । बुढेसकालमा जागिर छोड्ने भन्यो, तर बिरामीहरुको मायाले तानिरहन्छ । हस्पिटल नआउँदा के बिर्सियो के बिर्सियो जस्तो लाग्छ । घरमा बस्न मन लाग्दैन । मेरो ४—५ वर्षसम्मको छुट्टी त त्यसै बाँकी हुन्छ ।


आनन्दको त्यो क्षण
न्युरोका बिरामीहरुको स्वास्थ्यवस्थामा सुधार आउँदा धेरै आनन्द लाग्छ । खुशीले घरबार नै बिर्सन्छु । बोल्न, हिँड्न, नसक्ने, हातखुटट्टा नचल्ने बिरामीहरुको स्वास्थ्यमा सुधार आउँदा जतिको आनन्द के ले नै दिन्थ्यो र । बिरामीका कुरुवा खुशी हुँदा मलाई त अति रमाइलो लाग्छ । बिरामीहरुले पनि आशिर्वाद दिन्छन् ।

उत्कृष्ठ केयर
न्युरोका बिरामी केयर गर्न गाह्रो छ । हामीले टप टू बटममा हेर्नुपर्छ ।

एउटा नर्सलाई कम्लिट केयर गर्न करिब २ घण्टा लाग्छ । म घमण्डका साथ भन्छु कि न्युरोका बिरामीको यतिको केयर त मैले अहिलेसम्म देखिनँ ।

नर्सिङको नियत
एउटा नर्सले बिरामीको समस्या ध्यानसँग सुन्नुपर्छ । समयको ख्याल गर्नुपर्छ । बिरामी केन्द्रित हुनुपर्छ । भिजिटरसँग नम्र व्यवहार गर्नुपर्छ । बिरामीको समस्या आफू र आफ्नो परिवारको समस्याजस्तै ठान्नुपर्छ । अनुशासित हुनुपर्छ । बिरामीका आफन्तलाई राम्रोसँग सम्झाउने र बुझाउनुपर्छ । धैर्य र सम्यमित बन्नुपर्छ । सहनशिल हुनुपर्छ ।

प्रा.डा. देवकोटाको सम्झना
प्रा. डा. उपेन्द्र देवकोटा बिरामीका लागि दिलो ज्यान दिएर सेवा गर्नुहुन्थ्यो । बिरामीको सेवामा लगनशील हुनुहुन्थ्यो । बिरामीलाई माया गर्ने, स्टाफहरुलाई सपोर्ट गर्नुहुन्थ्यो । काम गर्न सँधै प्रोत्साहित गर्नुहुन्थ्यो । उहाँसँग काम गर्न रमाइलो हुन्थ्यो । नर्सहरुलाई पढाउने, रिसर्च गर्ने र पेपर लेख्न प्रोत्साहित गर्ने, कन्फरेन्समा नर्सिङ समूहको पनि प्रेजेन्टेसन हुन्थ्यो उहाँको नेतृत्वमा । हामी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म काममै व्यस्त हुन्थ्यौँ । यस न्युरो हस्पिटलमा नर्सिङ विभाग मैले नै सेट अप गरेको हो । अहिले अस्पतालमा १ सय २६ जना नर्स कार्यरत छन् ।

यहाँ बिरामी केयर अव्वल दर्जाको छ, त्यसमा कुनै कमी छैन । मैले त सँधै माया गरेर नर्सिङ केयर गर्छु र त्यसको व्यवहारिक ज्ञान सिकाउँछु ।

नर्सिङ यात्रा
अहिले म उमेरले ७७ वर्षको भएँ । बि.सं.२०२० सालमा सरकारी सेवामा प्रवेश गरेको हो । नर्सिङ पेशामा रहेर बिरामीको सेवा गरेकोे पनि ५७ वर्ष बितिसकेको छ । बीर हस्पिटलमा मात्र २२ वर्ष सेवा गरेँे । बीर हस्पिटलको न्युरो विभागमा पहिलो सिस्टर इन्चार्जका रुपमा १७ वर्ष सेवा दिएँ । नेपालगञ्जको भेरि अञ्चल अस्पतालमा ११ वर्ष, बुटवलमा ३ वर्ष, पोखरामा ३ वर्ष र हारति माता (एचएम) हस्पिटलमा ११ वर्ष काम गरेँ । उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा १५ वर्षदेखि निरन्तर सेवा गरिरहेकी छु ।

‘नर्सिङ पढ्दा बुबाको समेत आलोचना’
मैले २०१७ सालमा एसएलसी पास गरेको हो । त्यो बेलामा म १४ वर्षकी थिएँ । बुवा पाल्पाको काग्रेसको नेता हुनुहुन्थ्यो । तत्कालीन स्वास्थ्यमन्त्री काशीनाथ गौतम बुवाको साथी भएको र उहाँकै प्रेरणाबाट नर्सिङतिर बुबाले अध्ययन गराउने सोच लिनुभयो । उहाँकै घरमा बसेर अध्ययन गरेको थिएँ । त्यो बेला गाउँबाट नर्स पढाउन पठाउँदैन थे । बिरामीको दिसा पिसाब स्याहार्न छोरीलाई नर्स पढाउन हुन्न भन्ने धारणा थियो । नर्सिङ पढाउन मलाई काठमाडौं ल्याउँदा बुवाको ठूलो आलोचना समेत भयो । ३ महिना छुट्टी भएको बेलामा म घर जाँदा कान्छो बुवाले काठमाडौं फर्किन दिनुभएन । बुबाले उहाँलाई सम्झाएपछि बल्ल काठमाडौं आएँ । त्यो बेला क्षेत्रपाटीमा ‘नर्सिङ क्याम्पस’ थियो । त्यसैमा पढेको थिएँ । त्यो बेला नर्सिङ अध्ययन गर्ने धेरै हुँदैनथे । गाउँबाट म र बिजया केसी थियौं । त्यसपछि बिराटनगरका २ जना आएका थिए । काम गर्दै बीएनसम्मको अध्ययन सकाएँ ।

छोरीलाई नजरबन्द
मेरो जन्म पाल्पाको तानसेनमा भएको हो । त्यो बेला गाउँमा छोरीलाई नजरबन्द जस्तो थियो । बिद्यालय जाँदा पछ्यौरीले कपाल ढाकेर जानुपर्दथ्यो । परिवारको नियन्त्रणमा बस्नुपर्दथ्यो ।

स्वास्थ्यको राज
म हरेक बिहान ५ बजे उठ्छु । घरमा श्रीमान एक्लै हुनुहुन्छ । उहाँलाई खाना बनाएर आफूले खाएर ७.१५ मा अस्पताल पुगिसक्छु । बिहानको ब्रेकफास्टमा हरेक दिन एउटा अण्डा, एक कप चिया र ४ पिस विस्कुट खाने गर्छु । विहान घरमै बनाएर लञ्च वक्स लिएर आउँछु । म धेरैजसो स्याउ, केरा, मेवा, गाँजर, आलु परौठा लगायतका विभिन्न हल्का खाना लन्चको रुपमा लिने गर्छु । साँझ घर पुगेपछि नुहाउने गर्छु । त्यसपछि श्रीमानले अदुवा राखेर मह र कागति पानी दिनुहुन्छ । बेलुका दालभात खाने गर्दछौं । मलाई ढाड र घुँडा दुख्ने समस्या छ । बाथको समस्या पनि छ । त्यसैले हरेक दिन विहान हल्का योग र शारीरिक अभ्यास गर्छु । घरको बारीमा काम गर्छु । तरकारी रोप्छु । शनिबार कपडा धुन्छु ।

खुशी र सुखी परिवार
अहिले म काठमाडौंको लाजिम्पाटमा बस्छु । श्रीमान, एउटा छोरा र एउटा छोरी छन् । छोरा इन्जिनियर छ । अहिले अमेरिकामा बस्छ । छोरीको काठमाडौंमा राम्रो बन्दोवस्त छ । आवश्यक परेको बेलामा उनीले पनि सहयोग गर्छिन् । अहिले ह्याप्पी लाइफ छ ।

प्रतिक्रिया दिनुहोस्