अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा
जनस्वास्थ्य सरोकार । शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ ।
अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।
उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गर्नुभएको थियो ।
शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उहाँहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ ।
नोबेल पुरस्कार कमिटीका सदस्यहरूले मानव जीवनका लागि ठूलो योगदान हुने भएकाले यस अध्ययनका लागि पुरस्कार दिने निर्णय भएको बताएका छन् ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले पिरो खुर्सानी खाँदा पोलेको महसुस गराउने रसायनका बारेमा अध्ययन गर्नुभएको थियो ।
त्यस्तै पाटापौटियनले गरेको अध्ययनबाट फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लागेको थियो ।
दुवै जनालाई पुरस्कारस्वरूप आठ लाख ४५ हजार पाउन्ड रकम प्रदान गरिने नोबेल कमिटीले जनाएको छ ।
कमिटीले कोरोनाभाइरुसको महामारीका कारण यसवर्षको नोबेल पुरस्कार विजेताहरूलाई सम्बन्धित देशहरूबाटै प्रदान गर्ने योजना बनाएको छ । एएफपी