दुई प्रतिशत कोभिड बिरामीमा मस्तिष्कघात !
अस्पतालमा कोभिडले मस्तिष्क पक्षघात भएका बिरामीको चाप कस्तो छ ?
कोभिडको पहिलो लहरमा इटालीमा कोभिड भएका बिरामीलाई मस्तिष्कघात (स्ट्रोक) भएको तथ्य सार्वजनिक भयो जुन हामीले लिटरेचर रिभ्युमा अध्ययन गरेका थियौं । अहिले प्रत्यक्ष रुपमा कोभिडका कारण मस्तिष्क पक्षघात (स्ट्रोक) भएका बिरामीहरु अस्पतालमा आइरहेका छन् । पहिलो लहरमा त्यति धेरै थिएनन् । दोस्रो लहरमा यो संख्या बढेको पाइन्छ ।
दोस्रो लहरमा मस्तिष्क पक्षघात भएर अस्पताल आएका १० जना बिरामीमध्ये ७ जनामा पिसिआर रिपोर्ट पोजेटिभ भेटेका थियौं । तेस्रो लहरमा भने यो संख्या घटेपनि समस्या बढिरहेको छ । विश्वको तथ्याङ्क अनुसार झण्डै २ प्रतिशत कोभिड बिरामीलाई मस्तिष्कघात (स्ट्रोक) भएको छ ।
कोभिडले कसरी मस्तिष्क पक्षघात गराउँछ ?
कोभिड भाइरसले इन्फ्लामेसन, हाइपर कोयागुलेसन र थ्रोम्बोसिस गराउँछ । जसले गर्दा सिकिस्त कोभिड बिरामीको फोक्सो, मुटु र मस्तिष्कमा रगतका नशा व्लक हुने र फुट्ने सम्भावना हुन्छ । त्यसैगरेर सिभियर कोभिड बिरामीमा अक्सिजनको लेभल धेरै घट्नाले पनि हाइपोक्सिक ब्रेन इन्सल्ट/स्ट्रोक अट्याक आउने गर्दछ । रक्तचाप, मधुमेह र मुटु रोगमा स्ट्रोकको जोखिमता अत्यधिक हुन्छ ।
कोभिडकै कारण मस्तिष्कघात भएको प्रमाणित गर्ने आधारहरु के के छन् ?
पिसिआर रिपोर्ट हेरेर कोभिडले मस्तिष्कघात गराएको प्रमाणित गरिन्छ । कुनै शंकास्पद घटनामा ढाडबाट पानी निकालेर पनि कोभिड पिसिआर टेष्ट गराउँदछौं । साथै इन्सेफलाईटिसलगायतका भाइरस इन्फेक्सन भएर पनि रगतका नसा कमजोर हुने समस्या देखिएको छ । बिरामीको मेरुदण्डको पानी पिसिआर परीक्षण गरेर पोजेटिभ/नेगेटिभ छुट्याउने गरिन्छ । यसरी पीसिआर रिपोर्ट पोजेटिभ आएमा विशेष सुरक्षा मापदण्ड अपनाएर सिटी स्क्यान र एम आर आई गर्नुपर्छ ।
मस्तिष्कघातको समस्या कसरी पहिचान गर्न सकिन्छ ?
कोभिडको लक्षण देखेको प्रायः हप्तादिनपछि मस्तिष्कघातको लक्षण देखिन्छ । मस्तिष्कघात भएमा हातगोडा कमजोर, मुख बाङ्गीने, छारे रोगको समस्या, रक्तचाप उच्च भइरहने, कतिपयमा हल्का ज्वरो र कतिपयमा ज्वरो नहुन पनि सक्छ । खासगरी कोभिडबाट हुने पक्षघात र अन्य कारणले हुने पक्षघातको लक्षण लगभग उस्तै हुन्छ । सामान्यतया मस्तिष्कघातले एकैपटक मानिसलाई आक्रमण गर्छ । तर, त्यो भन्दा पहिला व्यक्तिले केही समय एउटा आँखा देख्न छाड्छ र केही समयपछि फेरि देख्ने हुन्छ । त्यसैगरी केही समयका लागि एउटा पाटो नचल्ने हुन्छ र क्रमशः फेरि चल्न थाल्छ । केही समयसम्म यस्तो प्रक्रिया दोहोरिरहन्छ भने त्यो मस्तिष्कघातको स्पष्ट पूर्व संकेत हो ।
यस्तै अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, एकाएक दृष्टि धमिलो हुनु, बोली लटपटिनु वा बोल्न नसक्नु, वान्ता हुनु, बेहोस हुन, प्यारालाइसिस हुनु मस्तिष्कघातका लक्षण हुन् ।
मस्तिष्कघातका बिरामीहरु कस्तो अवस्थामा अस्पताल पुग्छन् ?
कतिपय कोभिडका बिरामीहरुमा एकापट्टीको पूरै ब्रेन नै ड्यामेज भएर इन्फाक्सन भएको देखेका छौं । कुनै बिरामीमा स—साना वाटर सेभिङ इन्फ्राक्सन पनि हुने गर्छ । यस प्रकारको समस्या कसरी हुन्छ भनेर ठ्याक्क भन्न सक्ने आधारहरु छैनन् । वैज्ञानिक र हामी जस्ता चिकित्सकहरुसमेत अनविज्ञ छौं । अनुसन्धान भइरहेको छ । कोभिडका बिरामीहरुमा व्ल्याकफंगसको समस्या पनि आइरहेको छ । त्यसैले कोभिडका कारण स्ट्रोक भएको हो वा बिरामीलाई स्ट्रोक भएर कोभिड भएको हो भन्न गा¥ह«ै हुन्छ । तर पिसिआरको आधारमा कोभिड स्ट्रोक र ननकोभिड स्ट्रोक छुट्याउने गर्दछौं । मस्तिष्कघात डायग्नोसिसका लागि सिटी स्क्यान गर्नुपर्छ । सिटी स्क्यानले एक मिनेटमा ब्रेन हेमोरेजको समस्या देखाउँछ । रगतको नसा सुकेर हुने ब्लक र रगत सुचारु हुन नपाएर अक्सिजनको अभाव हुने इन्फाक्सन समस्यामा एमआरआई गर्नुपर्छ । एमआरआईले इन्फाक्सन राम्रोसँग देखाउँछ । एमआरआईले मस्तिष्कको कुन र कति भाग ड्यामेज भएको छ भन्ने देखाउँछ ।
मस्तिष्कघातमा गोल्डेन टाइमको भूमिका कस्तो हुन्छ ?
इनफ्राक्सन (रगतका नशा सुकेर रक्तसञ्चार बन्द हुने) मस्तिष्कघातमा गोल्डेन टाइम र वीन्डो पिरियडको महत्वपूर्ण भूमिका हुन्छ । मस्तिष्कघात भएको ६ घण्टा भित्र टिपिए (टिस्यु प्लाज्मिनोजेन एक्टिभेटर) चलाउनुपर्छ । मस्तिष्कघात भएको १२ घण्टा भित्र थ्रोम्बेक्टोमी गरेर जमेको रगतको थेग्ला निकाल्न सकेमा बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । अहिले भएका केहि नयाँ अध्ययनहरुले २४ घण्टा सम्म थ्रोम्बेक्टोमी गर्न सकिने देखाएका छन् ।
ब्रेन हेमोरेज भएर मस्तिष्कमा ३० एमएल भन्दा बढी रगत जमेमा शल्यक्रिया गरेर रगत निकाल्नुपर्छ । यदि ३० एमलएलभन्दा कम रगत जमेर बिरामी होसमा रहेको अवस्थामा आइसियू वा भेन्टिलेटरमा राखेर औषधि चलाउनुपर्छ ।
कस्तो अवस्थामा बिरामी बचाउन सकिने संभावना रहन्छ ?
कतिपय बिरामी मस्तिष्कघात भएको दुइ तीन महिनापछि पहिलाकै सामान्य अवस्थामा पनि फर्कन्छन् भने कतिलाई अस्पतालसम्म पु¥याउन सकिदैन । ंसेरेब्रल हेमोरेज भएर ३० देखि ४० एमएलसम्म रगत जमेको अवस्थामा औषधि चलाएर बिरामीलाई पुर्ववत अवस्थामा फर्काउन सकिन्छ । त्यस्तै पछाडीको सेरेब्रल भेनमा बीस–तीस एमएल रगत जमेपनि अवस्था जटिल हुनसक्छ । यो अवस्थामा तुरुन्त शल्यक्रिया गर्नुपर्छ । त्यस्तै ब्रेन स्टिम (गिदीको सेन्टर भाग) मा पाँचदेखि दश एमएलमात्र रगत जमेको भएपनि पक्षघात र बिरामी कोमामा जानेसमेत सम्भावना रहन्छ । कतिपयको त ज्यान समेत जानसक्छ । त्यसैले मस्तिष्कको कुन भागमा इन्फेक्सन अथवा हेमोरेज भएको हो सो अनुसार प्रोग्नोसिस र आउटकम भिन्नाभिन्नै हुन्छ ।
कोभिडका कारण हुने मस्तिष्कघात कतिको घातक हुन्छ ?
कोभिडको कारण हुने मस्तिष्कघात अन्य मस्तिष्कघात भन्दा धेरै घातक हुनसक्छ । फोक्सोमा निमोनियासमेत हुने भएकाले श्वासप्रश्वासमा समस्या आउँछ । शरीरमा अक्सिजनको अभाव हुन्छ र मृत्युदर पनि बढी हुन्छ । त्यसैले मस्तिष्कघातको लक्षण देखिना साथ बिरामीलाई जतिसक्दो चाँडो नजिकैको न्युरो सेवा र कोभिड सेवा दुवै भएको अस्पतालमा तुरुन्तै लगेर उपचार गरिहाल्नुपर्छ ।