Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा ९५ प्रतिशतसम्म सफल न्युरो सर्जरी !



प्रा.डा. गोपालरमण शर्मा/ वरिष्ठ न्युरो भास्कुलर सर्जन

विगतमा गाउँघरमा बेहोस भएर कसैको मृत्यु भएमा वाण लागेको भनिन्थ्यो । यस्ता व्यक्तिलाई उपचारका लागि अस्पताल चाँडो पु¥याउन ध्यान दिने चलन थिएन । वाण लाग्नु भनेको पक्षघात अथवा हृदयघात भएर बिरामीको मृत्यु हुनु हो र बिरामीलाई समयमै अस्पताल पु¥याउन सके बचाउन सकिन्छ भन्ने जानकारीको अभाव थियो । तर अहिले न्युरोलोजी र न्युरोसर्जरी सेवाले धेरैको अकालमा हुने मृत्यु जोगिएको छ ।

विगतमा न्युरो सर्जरी अभ्यास अहिलेभन्दा निकै गाह्रो थियो । सिटी स्क्यानको भरमा सम्पूर्ण टाउको शल्यक्रिया गर्नुपथ्र्यो । जनशक्तिको निकै अभाव थियो । ‘न्युरो सर्जरी विभागमा धेरै काम गर्नुपर्छ,’ ‘गाह्रो छ’ भनेर कतिपय डाक्टर पछि हट्थे । अहिले अत्याधुनिक प्रविधि भित्रिएका छन् । यसले बिरामीको ज्यान जोगिने दर बढिरहेको छ । शुरुमा बीर अस्पतालमा काम गर्दा सिटी स्क्यान मात्र थियो । त्यो सुविधा अन्य शहरमा थिएन । न्युरोसम्बन्धि रोग लागेमा बीर अस्पतालमै आउनु पर्ने वाध्यता थियो । जसका कारण बीरको न्युरो सर्जरी विभागमा बिरामीको निकै चाप हुन्थ्यो । विराटनगर, बीरगन्ज लगायत स्थानमा बेहोस भएका कतिपय बिरामीको काठमाडौं ल्याइ नपु¥याउँदै बाटोमै मृत्यु हुन्थ्यो । मृत्युको कारण पनि थाहा हुँदैनथ्यो । तर पछिल्लो १५ वर्षमा नेपालको न्युरो सर्जरी क्षेत्रमा धेरै परिवर्तन र विकास भएको छ ।

अहिले धरान, विराटनगर, जनकपुर, बीरगन्ज, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज लगायत स्थानमा सिटी स्क्यानको व्यवस्था, न्युरो सर्जनको अभाव भए पनि अरु दक्ष चिकित्सकको उपलब्धताका कारण धेरै हदसम्म जोखिम न्युनिकरणमा मद्दत पुगेको छ । नेपालमा न्युरो सर्जरीको शुरुवात् प्रा.डा. दिनेशनाथ गोंगलले बीर अस्पतालबाट शुरु गर्नुभएको हो । मैले पहिलो न्युरो सर्जरी उहाँको हातबाट सिक्ने शौभाग्य पाएको थिएँ । उहाँबाट थुप्रै कुरा सिक्ने मौका पाएँ । त्यसपछि प्रा.डा. उपेन्द्र देवकोटासँग लामो समयसम्म काम गरें । उहाँबाट पनि थुप्रै कुरा सिक्न पाएँ ।

मुलुकमा ४० जना जति योग्य न्युरो सर्जन रहेका छन् । नेपालमा एकजना न्युरो सर्जनले ६ लाख ६० हजार मानिसको शल्यक्रिया गर्नुपर्छ । तर जापानमा एकजना न्युरो सर्जनको भागमा ५ हजार र अमेरिकामा करिब २० हजार मानिस पर्छन् ।

मस्तिष्क, स्पाइन र त्यहाँबाट निस्किएका नशामा देखापर्ने रोगको अध्ययन र उपचार गर्ने विधालाई न्युरोलोजी र न्युरोसर्जरी भनिन्छ । न्युरोलोजीअन्र्तगत सबै नशाका समस्याको उपचार पर्छ । धेरैजसो समस्यालाई औषधि र फिजियोथेरापीले निको पार्न सकिन्छ । नशा, मस्तिष्क, स्पाइनल कर्डका रोग, ब्रेन ट्युमर, एन्युरिज्मलाई शल्यक्रियाबाट निको पार्नुपर्छ ।

विशेषगरी म मस्तिष्कभित्रको रगतको नशासम्बन्धि रोगको शल्यक्रिया गर्छु जुन जटिल र संवेदनशील हुन्छ । यस विधामा लगाव, अनुशासन, क्षमता, बौद्धिकता र स्फूर्ति चाहिन्छ । मेरो नजरमा न्युरो सर्जनहरु स्वास्थ्य क्षेत्रका सुपर म्यान हुन् ।

नेपालमा न्युरो सर्जरीको सफलता दर ९३ देखि ९५ प्रतिशत छ । यो विश्वको औसत सफलताभन्दा बढी हो ।

धेरै चिल्लो पदार्थ (उच्च कोलस्टेरोलको मात्रा) को सेवन, स्ट्रेस, शारीरिक अभ्यासको कमी, अत्यधिक धुमपान, मद्यपान, उच्च रक्तचाप र मधुमेको समस्याले पक्षघात बढाइरहेको छ । मस्तिष्क र मेरुदण्डलाई सिंचाइ गर्ने रगतका नशाको अनुसन्धान, निदान र उपचार गर्नुपर्छ । मस्तिष्कमा रगत सिंचाइ गर्ने दुईवटा क्यारोटिडर्टरी र दुई वटा भर्टेब्रल आर्टरी हुन्छन् । यी नशा बन्द, फुटेर मस्तिष्कभित्र रगत बग्यो वा रगतको नशा गुजुल्टो (एभीएम) भएमा शल्यक्रिया गरेर निको पार्नुपर्छ । मस्तिष्कभित्रको रगतको नशासम्बन्धि रोगको शल्यक्रियालाई न्युरो भास्कुलर सर्जरी भनिन्छ । यसमा एन्युरिज्म, एभिएम, सर्जरी आदि पर्छन् ।

एन्युरिज्म
नेपालमा प्रत्येक वर्ष ३ लाख मानिसलाई ब्रेन एन्युरिज्म हुने गरेको पाइन्छ र ६ हजार मानिस एन्युरिज्म फुटेर ब्रेन ह्याम्रेज भइ बेहोस हुने गरेको अनुमान छ । तीमध्ये एक तिहाइले अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै ज्यान गुमाउँछन् । अरु एक तिहाइ बिरामीको अस्पताल भर्ना भएपछि उपचारका क्रममा मृत्यु हुन्छ । बाँकी एक तिहाइ उपचार पाएर बाँच्छन् । ब्रेन एन्युरिज्म बेलैमा पत्ता लगाएर तत्काल उपचार गरेमा सम्भावित खतराबाट बिरामी बचाउन सकिन्छ । अन्यथा पाँच मिनेट मात्र ढिला भएमा पनि बिरामीको ज्यान जान सक्छ । एन्युरिज्मको समस्या प्रायजसो जन्मजात नै हुन्छ । यसमा मस्तिष्कभित्र रगतका नशाको केही भाग बेलुन जस्तो फुलेको हुन्छ र उमेर बढ्दै जाँदा ब्लड प्रेसरका कारण फुट्ने सम्भावना रहन्छ । शल्यक्रिया गरेर क्लिपिङ र हात वा गोडाको नसाबाट क्याथेटर छिराएर न्युरो इन्डो भास्कुलर क्वाइलिङ गरेर मस्तिष्कको एन्युरिज्म रोगको उपचार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्