Logo
|
Thursday 28th March 2024
Logo

epaper

ऐया ! ढाड दुख्यो




धेरैलाई ढाड दुख्ने समस्या हुनसक्छ । अझ त्यसमा पनि तल्लो भागको ढाडको दुखाइ धेरै मान्छेहरुमा पाइन्छ । ६०—९० प्रतिशत पुरुष वा महिलाहरुलाई जीवनभर कुनै न कुनै बेला ढाड दुख्ने गरेको पाइन्छ । त्यसमा पनि यसले ४५ वर्ष भन्दा कम उमेरका पुरुष वा महिलाहरुको दैनिक कार्यमा असर पारेको देखिन्छ । यद्यपी यस्ता रोगले मुलुकको अर्थतन्त्रलेसमेत नराम्रो असर पारेको हुन्छ । तर १०० जना ढाड दुख्ने समस्यामध्ये १ प्रतिशतमा मात्र नशामा असर देखिनसक्छ ।

ढाड दुःखाइका कारण

ढाड दुखाइका थुप्रै कारणहरु छन् । तर ८५ प्रतिशतमा केही पनि कारण भेटिँदैन ।

कतिपय व्यक्तिमा ढाडको मांशपेशी सर्किने, ढाडको हड्डीको डिस्क सर्ने, ढाडको हड्डी खिइने वा सर्ने, ढाडको हड्डी खिएर नसा बस्ने घर सानो हुने, जन्मजात ढाडको हड्डीहरुको वनावटमा गडबडी, बाथरोग, ढाडको चोटपटक, ढाडको हड्डीको संक्रमण, ढाडका हड्डी भएका ठाउँको नसा संक्रमण, ढाडको नसाको ट्यूमर एवं अन्य अंगहरुको समस्याका कारण ढाड दुख्नसक्छ । अमेरिकाको स्वास्थ्य सेवा विभाग मातहतको एक स्वास्थ्य एजेन्सीले तल्लो ढाडको दुखाइलाई तीन भागमा बाँडेको छ

डा. निलम खड्का, न्यूरो सर्जन

गम्भीर अवस्था
यस अन्तर्गत ढाडको ट्यूमर, ढाडको संक्रमण, ढाडको हड्डी टुटेको अवस्था, ढाडको कारणले दिसापिसाब नियन्त्रण गर्ने नशामा असर आदि पर्छन् । यो गम्भीर र ज्यानलाई समेत जोखिम भएको हुँदा यसको पहिचान र समाधान यथाशिघ्र हुन जरुरी छ ।

सियाटिका
ढाडको दुखाइ वा ढाडको समस्याका कारण नशा थिचिएर तिघ्रा वा पिँडुला वा खुट्टा वा पैतालामा दुःख्ने वा लाटो वा कमजोरीमा झमझम हुने आदि । यो कम गम्भीर भएपनि यसको पनि समयमै उपचार पहिचान भएमा राम्रो हुन्छ ।

कारणबिनाको ढाड दुखाइ
ढाडको समस्या वा दुखाइ जसमा नशा च्यापिएको वा भित्र कुनै गम्भीर समस्या भेटिँदैन । यसले मान्छेको ज्यानमा खतरा पु¥याउँदैन ।

ढाडको समस्या भएका बिरामीमा खतराका चिन्ह

क्यान्सर वा संक्रमण
यो समस्या ५० वर्ष भन्दा बढी उमेर वा २० वर्ष भन्दा कम उमेरका व्यक्तिलाई हुनसक्छ । पहिला क्यान्सर रोग लागिसकेका महिला पुरुष दुवैमा कारण बिना नै धेरै तौल घट्दै जानु, रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम हुने, ज्वरो वा काम ज्वरो, पिसाबको संक्रमण, नशालु पदार्थ सेवन, आराम गर्दा ढाडको दुखाई ठीक नहुने आदि क्यान्सर वा विभिन्न संक्रमणले भएको संकेत हुनसक्छ ।

ढाडको हड्डी टुक्रिनु
जोडपूर्वक चोट लागेमा, लामो समयसम्म स्टेरोइड औषधि सेवन, ७० वर्ष नाघेका व्यक्ति, ढाडको कारण दिसा पिसाबमा नियन्त्रण गुम्ने वा खुट्टाहरु धेरै कमजोर हुने, एक्कासी पिसाब बन्द हुने वा पिसाब भरिएर आफैं चुहिन थाल्ने, दिसा आफैं चुहिने वा मलद्धारको मांशपेशी कमजोर हुने, चाक वरिपरि लाटो हुने, तिघ्रा, पिँडुला वा खुट्टाहरु एक्कासी वा बिस्तारै कमजोर हुँदै जाने समस्या खतराका चिन्ह हुनसक्छन् ।

पहिचान
९५ प्रतिशत भन्दा बढी एक्कासी ढाड दुःखेका व्यक्तिहरुलाई चिकित्सकको साधारण जाँच पहिलो एक महिनासम्म आवश्यक पर्दैन । यसमा एउटै अपवाद चाँही माथि उल्लेखित खतराका लक्षणहरु भएका बिरामीहरु हुन् । यस्ता बिरामीहरुमा यदि शुरुमै थप र विशेष जाँच आवश्यक छ ।
रगत जाँचः श्वेत र रक्तकोशिकाहरुको साधारण जाँच र इएसआर जाँच गर्नुपर्छ ।
रेडियोलोजी जाँचः रेडियोलोजिकल जाँच चिकित्सकको सल्लाह अनुसार गर्नुपर्छ । एक्सरे जाँच गर्भवती अवस्थामा गर्नु खतरापूर्ण मानिन्छ । ढाडका रोगहरुको लागि एमआरआई जाँच सर्बोत्कृष्ट जाँच हो । यो जाँच डाक्टरको सल्लाह अनुसार नै गर्नुपर्छ । ढाडको सिटी स्क्यान जाँच पनि चिकित्सकको सल्लाह बमोजिम मात्र गराउनुपर्छ । माइलोग्राफी जाँचको केही खतराहरु भएकाले आजभोलि यसको उपयोग कम गरिन्छ ।

उपचार विधि
औषधि र क्रियाकलाप
ढाड दुखेको बेलामा ३—४ दिनसम्म आराम गर्ने, चिकित्सकको सल्लाहमा सिटामोल जस्ता दुःखाइ कम गर्ने औषधि सेवन गर्ने, फिजियोथेरापिष्टहरुसँग सल्लाह गरेर आफ्नो दैनिक क्रियाकलापमा परिवर्तन गर्न सकिन्छ । ढाड दुःखेको बिरामीमा ढाडको पेटीले तत्काल खासै फाइदा दिँदैन । विशेषज्ञ चिकित्सको अनुमती र फिजियोथेरापिष्टको निर्देशनमा शारीरिक अभ्यास गर्नुपर्छ । तर स्टेरोइडको इन्जेक्सनको प्रयोग नगर्नुहोला ।

बुझ्नुपर्ने कुरा के हो भने टेन्स, तातो वा चिसोले सेक्ने, अल्ट्रासाउण्ड, डायथर्मी, एक्युपञ्चर आदि विधिहरुले तल्लो ढाडको दुखाईमा खासै फाइदा पु¥याउँदैन । त्यसमाथि अल्ट्रासाउण्ड र डायथर्मी गर्भवती अवस्थामा प्रयोग गर्न हानिकारक मानिन्छ ।

शल्यक्रिया

ढाडका हड्डीको डिस्क सरेर, नसा च्यापिएर वा ढाडको नसा बस्ने घर सानो भएर दुखाइ भएका बिरामीहरुमा समस्या यथावत भएको अवस्थामा मात्र शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । तर तल्लो ढाडको कारणले खतराका लक्षणहरु भएका बिरामीहरुबाहेक सबैमा तुरुन्त शल्यक्रियाको आवश्यकता पर्दैन ।


शल्यक्रिया गर्ने वा नगर्ने निर्णय सम्बन्धित विशेषज्ञ जस्तै—न्यूरो सर्जन वा स्पाइन सर्जन वा हाडजोर्नीका सर्जनहरुमार्फत नै गराउन ठीक हुन्छ ।

(न्यूरो सर्जन डा. खड्का वीर हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्