Logo
|
Friday 29th March 2024
Logo

epaper

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले देशभरका पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
यहि कात्तिक ७ र ८ गते पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नियमित खोप तालिकाअनुसार कात्तिक २ र ३ गते खुवाउनुपर्ने भिटामिन ‘ए’ दशैँ बिदाका कारण पाँच दिन सारिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख केदार पराजुलीले यस पटक २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि ९अबलेन्डाजोल० खुवाउने कार्यक्रम रहेको बताउनुभयो ।

उहाँले एक वर्षमाथिका बच्चालाई जुकाको औषधि र छ महिना भइसकेका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने बताउनुभयो । भिटामिन ‘ए’ खुवाउँदा मास्क अनिवार्य गर्नुपर्ने, दुई मिटरको दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाउनुपर्ने, खुवाउने केन्द्रमा हात धुने व्यवस्था गर्नुपर्ने जानकारी पनि दिनुभयो ।
यो कार्यक्रमका लागि देशभरबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका खटिनेछन् । यस्तै भिटामिन ‘ए’ खुवाउने केन्द्र ५२ हजार कायम गरिएका छन् । चार हजार स्वास्थ्यकर्मीले त्यसको अवलोकन गर्नेछन् । भिटामिन ‘ए’ खुवाउने कार्यक्रम व्यवस्थापनमा पनि पाँच हजार जनशक्ति खटिनेछन् ।

सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाउँदै आएको छ । वर्षमा दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्