Logo
|
Thursday 25th April 2024
Logo

epaper

कस्तो अवस्थालाई मस्तिष्कघात मान्ने ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । अहिले नेपाल लगायत विश्वमा नै मस्तिष्कघातको समस्या बढ्दो गतिमा छ । व्यक्तिको आयु लम्बिरहेको वर्तमान अवस्थामा मस्तिष्कघातको समस्या पनि त्यही गतिमा बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, प्रतिवर्ष विश्वमा १ करोड ५० लाख व्यक्तिहरुलाई मस्तिष्कघात हुने गर्छ । त्यसमध्ये ५० लाखको मृत्यु हुन्छ भने ५० लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किने गरेका छन् । त्यसमा ५० लाख पूर्ण रुपमा अपाङ्ग हुने गर्छन् ।

मस्तिष्कमा रक्तनली खुम्चिएर वा रक्तनली फूटेर सम्बन्धित मस्तिष्कको भाग निष्कृय भई प्यारालाईसिस हुने रोगलाई मस्तिष्कघात भनिन्छ ।

यो रोग बालबालिका र युवाहरुमा देखिएपनि प्रायः ६५ वर्ष नाघेकाहरुलाई यस किसिमको समस्या धेरै देखिने गरेको छ । बृद्धावस्थामा मस्तिष्कका नशाहरु साँघुरिदै जाने र यो उमेरमा उच्चरक्तचाप र मधुमेह हुने कारण मस्तिष्कघातको संभावना बढेको हो । खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण यो समस्या युवा उमेरका व्यक्तिहरुमा पनि देखिएको छ । केही बच्चाहरुलाई वंशाणुगत कारण मस्तिष्कघात हुने गर्छ । जन्मजात मस्तिष्कको नशा सुन्निएको वा राम्रोसँग नशाको विकास नभएका बच्चाहरुलाई मस्तिष्कघात हुने सम्भावना रहन्छ ।

यसैबीच काठमाडौंको धुम्बराहीस्थित ह्याम्स हस्पिटलले अस्पतालमा कार्यरत डाक्टर र नर्सहरु लक्षित मस्तिष्कघातसम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । विश्व मस्तिष्कघात दिवसका अवसरमा मस्तिष्कघात भएका बिरामीहरुलाई ‘अस्पतालमा कसरी व्यवस्थापन गर्ने’ सम्बन्धि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । हरेक वर्ष अक्टोबर २९ मा विश्वभर मनाइने विश्व मस्तिष्कघात दिवसको अवसर पारेर गरिएको कार्यक्रममा अस्पतालका वरिष्ठ न्युरो इन्डोभास्कुलर सर्जन डा. मनोज बोहोराले मस्तिष्कघात उपचारमा समयको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

वल्र्ड फेडरेसन अफ स्ट्रोकले ४ जनामध्ये एकजनामा जीवनको कुनै न कुनै कालखण्डमा मस्तिष्कघात हुने उल्लेख गरेको छ । राम्रोसँग मस्तिष्कघात रिकभरि भएमा जीवनको कालखण्डमा बहुमुल्य समय बिताउन सकिन्छ । यसले मृत्यु हुनबाट पनि जोगिन सकिन्छ ।

सन् २०२१ मा विश्व मस्तिष्कघात दिवस ‘सेभ प्रिसिएस टाइम’ अर्थात ‘बहुमुल्य समयको वचत’ भन्ने नारा तय गरिएको छ । मस्ष्तिकघात भएको व्यक्तिमध्ये कसैको हातगोडा चलेको हुँदैन, कतिको बोल्ने शक्ति जान्छ, कतिको स्मरणशक्ति गुमेको हुन्छ, कतिको बोलाइको भाषामा समस्या हुने हस्पिटलका न्युरोलोजिष्ट डा. कृष्ण ढुंगाना बताउनुहन्छ । अहिलेको नाराले मस्तिष्कघातलाई स्वस्थ्य जीवशैली, खानपानलगायतका कुरामा ध्यान दिएर रोकथाम गर्न सकेको अवस्थामा मस्तिष्कघात न्युनिकरण गर्न सकिने उहाँले स्पष्ट पार्नुभएको छ । साथै मस्तिष्कघात भइहालेमा समयमा हस्पिटल पुगेर उपचार गर्न सकेमा रिकभरि राम्रो हुने डा. ढुंगानाले स्पष्ट पार्नुभयो । यसरी हामीले जीवनको प्रिसियस टाइम (बहुमूल्य समय) बचत गर्न सक्ने डा. ढुंगानाको भनाइ रहेको छ ।

पक्षघात हुने कारण थुप्रै हुन्छन । उच्च रक्तचाप बढ्नाले मस्तिष्कमा आघात पुग्छ, जसले गर्दा मस्तिष्कघात हुने सम्भावना रहन्छ । मुटु रोगी, मधुमेही, धुम्रपान, मोटोपना, अस्वस्थ्यकर खानपान र जीवनशैली आदि कारणले मस्तिष्कघात हुने सम्भावना रहन्छ ।

लक्षण

– रिंगटा लाग्ने

– मुख बाङ्गिने

– हातखुट्टा नचल्ने

– एक्कासी एउटा हात लुलो हुने

– बोली लरबराउने वा स्वरै गुम्ने

– दृष्टिमा अचानक समस्या उब्जिने

– कुरा बुझ्न अप्ठयारो हुने

एक साइडको हात माथि उठाउन नसक्ने, मुख बाङ्गिएमा र बोली लरबराएमा, एउटा आँखाको दृष्टि गुमेमा, हिँड्दा लरबराउने जस्ता समस्या भएमा तत्काल सम्बन्धित हस्पिटल पु¥याउनुपर्ने डा. बोहोराको भनाइ छ । अहिले थ्रोम्बोलाइसिस र थ्रोम्बेक्टोमी प्रविधिबाट उनीहरुलाई पूर्ण रुपमा निको बनाएर साधारण जीवनयापनमा फर्काउन सकिन्छ ।

५ घण्टाभित्र अस्पताल पुगेमा थ्रोम्बोलाइसिस प्रविधिबाट बिरामीलाई रिकभरि गर्न सकिन्छ । थ्रोम्बेक्टोमी ६ देखि २४ घण्टाभित्र गर्न सकिन्छ । मस्तिष्कको नसा ब्लक भएको अवस्थामा थ्रोम्बेक्टोमी (न्युरो इन्डोभास्कुलर प्रविधि) बाट ब्लक भएको नसा खोलेर बिरामी जोगाउन सकिने वरिष्ठ न्युरोसर्जन डा. बोहोराले स्पष्ट पार्नुभयो ।

मस्तिष्कघात हुनमा उच्च रक्तचाप, मधुमेह , बुढ्यौलीपन मुख्य कारण मानिन्छ । महिलाहरुको तुलनामा पुरुषहरुमा मस्तिष्कघातको संभावना बढी हुन्छ । यो वंशाणुगत पनि हुनसक्छ । मद्यपान, धुम्रपान, मुटुको चालमा गडबडी, मुटुुरोग तथा रक्तसञ्चारसम्बन्धित समस्या (जस्तै—एट्रियल—फ्रिबिलेसन, अथेरोस्क्लेरोसिस, डिप भेन थ्रम्बोसिस, एन्युरिजम, पुरानो माइग्रेन) ले मस्तिष्कघातलाई निम्त्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्