‘जब मैले शरीरको बोसो जमाएँ तब यस्तो भयो’
मोडल लिन्डा इभान्जेलिस्टाले एक सौन्दर्य बढाउने प्रक्रियाले आफ्नो शरीरलाई ‘क्रूरतापूर्ण ढङ्गले बिगारेको’ दाबी गरेकी छन्। उनीसँगै अन्य केही मानिसले पनि उक्त प्रक्रियाबारे आफ्नो अनुभव सार्वजनिक गरेका छन्।
फ्याट फ्रिजिङ चर्चित सौन्दर्य बढाउने प्रक्रिया हो, जस अन्तर्गत विश्वभरका क्लिनिक तथा स्पाहरूमा अनुमानित ८० लाखभन्दा बढी उपचार गरिन्छ। तर, हालसालै यस प्रक्रियाले गर्ने नकारात्मक असरका कारण यो विधि चर्चामा छ।
१९९० को दशकको ‘सुपर’ मोडलमध्ये एकको रूपमा परिचित क्यानडेली मोडल लिन्डा इभान्जेलिस्टाले फ्याट फ्रिजिङका कारण आफ्नो शरीर क्रूर रूपमा विकृत भएको दाबी गरेकी छिन्। साथै ५ करोड अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेकी छन्।
उनले आफूमा प्याराडोक्सिकल एडिपोज हाइपरप्लेसीया (पीएचए) भएको बताएकी छन्। पीएचए एक दुर्लभ असर हो जसले उपचार अघि भनिएको भन्दा ठिक विपरीत बोसोजन्य कोषिकाहरू बढाउँदै लगेको लिन्डाको दाबी छ। जसबारे उनलाई परामर्श दिइएको थिएन।
लिन्डाले जुन कम्पनीविरुद्ध मुद्दा हालेकी हुन् उक्त कम्पनीले हालसम्म बीबीसीले प्रतिक्रियाका लागि गरेको अनुरोधमा जवाफ दिएको छैन।
उक्त कम्पनीले हाल आफ्नो वेबसाइटमा “प्रयोगकर्ता अनुसार परिणाम फरक देखिन सक्छ” र “केहीमा दुर्लभ असर देखिन सक्छ” भन्ने उल्लेख गरेको छ। लिन्डाको वकिलका अनुसार उक्त चेतावनी पछि थपिएको हो।
के हुन् त शरीरको बोसो जमाउने प्रक्रियाको जोखिम? भन्नेबारे तीन मानिसले आफ्नो अनुभव साटेका छन्।
‘एउटा भ्याक्युम क्लिनर भित्र फसेको जस्तो महसुस भएको छ’
लन्डनकी ३९ वर्षीय आइल्सा बर्न- मर्डकका लागि सौन्दर्य प्रक्रियाहरू नौलो विषय होइनन्।
उनले किशोरावस्थादेखि नै आफ्नो शरीरसँग सङ्घर्ष गरिन्। २१ वर्षको उमेरमा उनले लिपोसक्शन अर्थात् शरीरको बोसो घटाउने प्रक्रिया र स्तन प्रत्यारोपण गरेकी थिइन् तर ती प्रक्रियाबारे आफ्नो परिवार र साथीहरूबाट गोप्य राख्ने निर्णय गरिन्।
“बोसो घटाउने प्रक्रिया गरेपछि मेरो खानपिन र शारीरिक बनावटमा समस्या आयो। मैले कहिले पनि लिपोसक्सन नगर्न पर्थ्यो तर त्यो निर्णय लिने बेलामा धेरै सानी थिएँ,” उनले बीबीसीसँग भनिन्।
क्यारिबियनमा बसाइ सर्ने योजनाबारे सोच्दा उनको शरीरको अङ्ग देखिने पुरानो डर बल्झन्थ्यो। त्यसैले उनले गत वर्ष काँध, पेट, पाखुरा र तिघ्राको बोसो घटाउने विकल्प रोजेकी हुन्। तीन महिनाको उपचारमा तीन वटा सत्र हुने रहेछन्।
उक्त उपचार प्रक्रियाबारे व्यापक खोजपछि उनले सबैभन्दा सस्तो विकल्प रोजिन्।
“मसँग सैलुनको मुनि भएको कोठा जुन एक महिलाले सञ्चालन गर्छिन् वा डिपार्टमेन्ट स्टोर भित्र रहेको फ्यान्सी क्लिनिकमध्ये दुई विकल्प थिए, ” उनले भनिन्,”जहाँ सस्तो म त्यहीतर्फ आकर्षित भएँ। त्यहीँ गरेँ।”
आइल्साले ८७५ अमेरिकी डलर खर्च गरेर बोसो घटाउने उपचार गरिन्।
युकेमा फ्याट-फ्रिजिङ उपचारको लागत एक सत्रका लागि ४०० पाउन्डदेखि ८०० पाउन्डसम्म खर्च लाग्छ। पूरा उपचार खर्च सत्रको सङ्ख्या र उपचार गर्नका लागि कहाँ गइन्छ भन्ने कुरामा भर पर्छ।
आइल्साका अनुसार उनलाई उपचार अघि कुनै परामर्श दिइएको थिएन। उनले चिकित्सकलाई समेत उपचारकै क्रममा भेटेकी हुन्।
हरेक सत्र करिब ४५ मिनेट लामो हुन्छ जसमा शरीरलाई एक यन्त्रसँग जोडिन्छ। “त्यति बेलमा मलाई भ्याक्युम क्लिनरले चुसिरहेको छ जस्तो लाग्थ्यो।”
“मलाई याद छ मेरो पेट नौनीको जमेको ढिक्कोजस्तो भएको थियो। छुँदा निकै चिसो र ढुङ्गाजस्तो दह्रो थियो।”
उपचार प्रक्रियापछि आफ्नो कुम लगायत शरीरको अन्य भागमा गहिरो र बैजनी रङको घाउ लागेको सम्झन्छिन् उनी। तर उक्त चोट दुखाइरहित भएको उनी बताउँछिन्।
उपचार प्रक्रिया सोचेजस्तै भए पनि उनले आफूमा कुनै परिवर्तन महसुस नगरेको सुनाइन्। “मेरो ६५० पाउन्ड खेर गयो।” उनलाई आफूले सस्तो उपचार रोजेका कारण प्रभाव नदेखिएको आशङ्का छ।
“मलाई अझै पनि कस्तो देखिन्छु भन्ने कुराले असर गर्छ। तर, मलाई थाहा छ कि शरीर मेरो समस्या होइन। झन् बोसो घटाउने उपचार त स्वास्थ्यको लागि ठिक हुँदै होइन,” उनले भनेकी छन्।
के हो त फ्याट- फ्रिजिङ?
फ्याट फ्रिजिङ क्रायोलिपोलिसिस नामक पद्धतिको प्रयोगमा गरिने गैर-आक्रामक प्रक्रिया हो। यसले जमेर बसेका बोसोजन्य कोषहरूलाई कम तापक्रममा जमाएर नष्ट गर्ने बताइन्छ।
संसारभरका धेरै क्लिनिकहरूले यस उपचार पद्धतिमार्फत् चिउँडो, तिघ्रा, पेट वा पाखुराको बोसो हटाउने बताइन्छ।
यस पद्धति तौल घटाउन चाहनेहरूका लागि भने उपयुक्त मानिँदैन। उपचारपछि केही मानिसमा भने घाउ लाग्ने, चिलाउने, सुन्निने जस्ता आम अल्पकालीन प्रभावहरू देखिन्छन्।
मोडल लिन्डाले आफूलाई भएको बताएजस्तै पीएएच अर्को एक दुष्प्रभाव हो। पीएएच हुनुको कारण प्रस्ट छैन तर उक्त समस्या प्राय पुरुषहरूमा देखिने बताइएको छ।
‘यो उपचार प्रभावकारी छ‘
‘लन्डनकी एक फोटोग्राफर जोआन मुहम्मदले चार वर्ष पहिले फ्याट-फ्रिजिङ गरेकी थिइन्। उनले भनिन्,”मेरो पेट लागेको थियो र त्यसमा बोसो थियो जुन जति कसरत गर्दा पनि घटेको थिएन।”
उनले उपचारबारे आफ्नो निर्णय आत्म-छविसँग सम्बन्धित भएको बताएकी छिन्। उमेरले ५० नाघेकी जोआन पनि फ्याट फ्रिजिङलाई आदर्श शरीर नभई आत्म प्रेमसँग सम्बन्धित भएको बताउँछिन्।
“यो एउटा प्रक्रिया मात्र हो जसले मलाई बिहान उठेर ऐनामा हेर्दा आफैसँग खुसी हुने बनाउँछ।” उनले लन्डनको एक क्लिनिकमा ४५० पाउन्ड खर्च गरेर तीन सत्रको उपचार गरिन्।
“उनीहरूले मलाई आवश्यक परामर्श दिएका थिए। सम्भावित असरबारे पनि सतर्क बनाएका थिए,” उनले भनिन्,”प्राविधिक गडबडीका कारण कुनै समस्या सिर्जना भए उनीहरूले नै मेरो उपचार खर्च बेहोर्ने बताएका थिए।”
उनले आफ्नो पेटमा भएको बोसो हटेको महसुस गरेकी छन्। तर, यस्ता उपचारलाई तत्काल समस्या समाधान गर्ने विधिको रूपमा हेर्न नहुने बताइन्। “यो उपचार पद्धतिले काम गर्छ। सँगसँगै आवश्यक कसरत गर्नुपर्छ, पानी पिउनु पर्छ र स्वस्थ जीवन शैली अपनाउनु पर्छ,” उनले भनिन्।
‘सबैले आफ्नो शरीरसँग के गर्न चाहन्छन् गर्न पाउनु पर्छ’
अकरा, घानाका खनन इन्जिनियर रेनेर जुआतीले उनी देखिने तरिका परिवर्तन गर्न दबाब महसुस गरिन्।
उनी उपचार गराउने बारे सोचिरहेकी थिइन्। तर, मोडल लिन्डाको केसमार्फत पीएएचबारे थाहा पाएदेखि फ्याट फ्रिजिङ सही विकल्प नहुन सक्छ भन्ने महसुस गरेकी छिन्।
रेनरले हुर्कँदै जाँदा आफ्नो शरीरको तौलमा उतार चढाव महसुस गरिन्। मोटो भएकै कारण विद्यालयमा धेरैले उनलाई गिज्याउँथे।
संस्कृति र सामाजिक सञ्जाल उनले शरीर परिवर्तन गर्न चाहनुको मुख्य कारणहरू हुन्। एक वर्ष लामो सन्तुलित भोजन र व्यायामपछि उनले ‘सजिलो बाटो’ रोज्ने विचार गरेकी हुन्।
२९ वर्षीय उनले आफ्नो मोटोपनका कारण परिवारकै सदस्यहरूले पनि आफूलाई हाँसोको पात्र बनाउने सुनाइन्।
त्यसैले उनी धेरै समय नपर्खी आफ्नो शरीरको बोसो नष्ट गर्न चाहन्छिन्। यसबारे मानिसले फेरि वचन लगाउँछन् भन्ने उनलाई थाहा छ। किनकि घानामा कस्मेटिक शल्यक्रिया अझै सामान्य बनेको छैन।
केही अघिसम्म त्यहाँ यसबारे छलफल नै हुँदैनथ्यो। हाल केही मानिस उपचारपछि विल्कुल फरक देखिने गरी फर्किएको उनले देखेकी छिन्।
भन्छिन्,”मानिसले आफ्नो शरीरसँग के गर्न चाहन्छन् गर्न सक्षम हुनुपर्छ।”
विज्ञहरू के भन्छन्?
प्लास्टिक सर्जन र ब्रिटिस एसोसिएशन अफ एस्थेटिक प्लास्टिक सर्जनका उपाध्यक्ष मार्क प्यासिफिको भने गैर स्वास्थ्यकर्मीद्वारा उपचार गरिने यस पद्धतिविरुद्ध चेतावनी दिन्छन्।
“उपचार गर्नेहरूले ग्राहक होइन बिरामीप्रति आफू जिम्मेवार छु भन्ने कुरा सुनिश्चित गर्न महत्त्वपूर्ण छ”, उनी भन्छन्।
प्यासिफिको “यो पीडा मुक्त छैन र यस बारे पूर्वानुमान गर्न सकिँदैन” भन्दै सावधान रहनु पर्ने बताउँछन्।
एस्थेटिक प्लास्टिक सर्जनहरूको ब्रिटिस सङ्घका अनुसार हालै गरिएको एक सर्वेक्षणमा फ्याट फ्रिजिङबाट जटिलता भएका २१ जना बिरामी देखिएका छन्।
उपचारपछि देखिन सक्ने पीएएच सामान्य नभएको प्यासिफिकोको दाबी छ। त्यस्तै गैर शल्य चिकित्सा उपचार जोखिममुक्त नभएको विज्ञहरू बताउँछन्। त्यसैले सङ्घले यस उपचार पद्धतिबारे नीति र उपयुक्त प्रचार प्रसारको माग गरेको छ। बीबीसी