Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

पूर्णअशक्तलाई निःशुल्क स्वास्थ्य बिमा



जनस्वास्थ्य सरोकार, गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले यसै वर्षदेखि प्रदेशका पूर्ण अशक्त व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गराउन पहल गर्ने बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको हकहितमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग भएको छलफलमा उहाँले पूर्ण अशक्तको स्वास्थ्य बिमा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीसहितको टोलीले मन्त्री बरालसमक्ष स्वास्थ्य बिमा कार्यक्रमसहित प्रदेशमा रहेका पूर्ण असक्तको तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य बिमामा फिजियो थेरापी, हेमोफेवियालगायत रोगको उपचार गर्न, उपचार सहज तथा सरल गराउनका लागि आवश्यक औषधि उपलब्ध गराउन र पायक पर्ने अस्पतालमा उपचार गर्ने वातावरण बनाउन सहभागीहरूले मन्त्री बरालसमक्ष माग गरेका थिए । महासङ्घका केन्द्रीय सदस्य अन्जना केसी, प्रदेश उपाध्यक्ष प्रमिला थकाली, श्रवण तथा दृष्टिविहीन सङ्घ नेपालका अध्यक्ष पुष्पराज रिमाल, सिर्जनशील अपाङ्ग समाज केन्द्रका अध्यक्ष फडिन्द्रप्रसाद पौडेललगायतले अपाङ्गता भएकाहरूका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

विसं २०६८ को जनगणनाअनुसार प्रदेशमा करिब ५७ हजार अपाङ्गता भएका व्यक्ति रहेकामा दुई हजार पूर्णरूपमा अशक्त भएका अध्यक्ष सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्