Logo
|
Friday 26th April 2024
Logo

epaper

झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी



जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्‍यो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । 

कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए । प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो । 

अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३ तीन ३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । 

अहिले पनि दैनिक १० जना भन्दा बढी उपचाररत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्युसमेत भएको छ । अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्कमा छ ।

“केही दिन कम भएको थियो, पछिल्लो समय फेरि दैनिक ८/१० जना बिरामी आउने गरेका छन्”, शिवराज अस्पतालका डा मुकेश चौधरीले भन्नुभयो, “अझै पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन, पहिलाको तुलनामा केही कम भएको छ, ।” गाउँमा बान्ता र पखालाका बिरामी अहिले पनि रहेका छन् । शिवराज नगरपालिका–७, ८ का गाउँमा झाडापखाला देखा परे पनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताउनुभयो । 

यता स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताउनुभयो । साँढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताउनुभयो ।

पहिलो चरणमा पाँच स्थानीय तहका नागरिकलाई खोप दिने तयारी छ । खोपसँगै नागरिकले पनि सफा पानी पाउने, हात धुनेलगायत सरसफाइमा विशेष ध्यान दिएमा मात्र नियन्त्रण हुने स्वास्थ्यकर्मीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्