Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोभिड खोपको ‘प्रतिरोधात्मक क्षमता घट्दै’

दुवै मात्रा खोप लगाएका मानिसलाई पनि जोखिम कायम



यूकेका स्वास्थ्य संस्था र चिकित्सकहरूले कोभिडविरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता घट्दै जाँदा कोरोनाभाइरस सङ्क्रमणले मृत्युसम्म हुन सक्ने चेतावनी दिएका छन्।

कोभिड खोपका पूर्ण मात्रा लिएका व्यक्ति कति सुरक्षा बाँकी छ त?

मानव शरीरमा प्रतिरक्षा प्रणालीको दुई ठूला भूमिका छन्: शरीरलाई सङ्क्रमित हुनबाट रोक्ने र सङ्क्रमण रोक्न नसकेको अवस्थामा शरीरमा भएको सङ्क्रमण हटाउने।

एउटा काल्पनिक अवस्था सोचौँ: मानौँ शरीरको प्रतिरक्षा प्रणाली मध्यकालीन गढ हो। त्यस गढ वरपर कोरोनाभाइरस पक्षका निर्दयी सेनाहरू छन्। उनीहरू महलभित्र छिर्न खोज्दै छन्।

हाम्रो पहिलो रक्षा धनुर्धारी सेनाको बाहिरी पर्खाल हो। यो शरीरको एन्टिबडी हुन्। एन्टिबडीले विपक्षी सेनालाई रोक्न सके भने हामी सङ्क्रमित हुँदैनौँ।

तर यदि ती पर्खालहरू भत्किए र एन्टिबडी कमजोर प्रस्तुत भएको अवस्थामा भाइरस भित्र पस्छ। अर्थात् हामी सङ्क्रमित हुन्छौँ।

सङ्क्रमण हुनु पूर्ण हार होइन। अझै पनि गढको भित्री भागमा केही सैनिक बाँकी छन्।

उनीहरू हाम्रो शरीरमा भएको ‘मेमोरी बी’ र ‘मेमोरी टी’ कोशिका हुन्। ती घोडसवार सैनिकजस्तै गरी निस्कन सक्छन्। जसले प्रतिरक्षात्मक क्षमतालाई अघि बढाई आक्रमणकारीहरूलाई बाहिर निकाल्न सक्छन्।

कोभिड खोपले हाम्रो शरीरको सैनिकहरू एन्टिबडी र मेमोरी कोशिकाहरूलाई तालिम दिइरहेको छ। यो तालिम कोरोनाभाइरसविरुद्ध लड्नका लागि हो।

तीमध्ये कम्तीमा एक प्रतिरक्षक कमजोर भइरहेको छ भने त्यो कुनै आश्चर्यजनक विषय होइन। यो प्रक्रिया हरेक पटक सङ्क्रमण हुँदा वा कुनै खोप लगाए पछि दोहोरिन्छ।

“एन्टिबडीहरू समयसँगै कम भइरहेका छन् भन्ने कुरा पुष्टि गर्ने बलियो प्रमाण छ र यसले हामीमा केही स्वाभाविक कमजोरी पनि छोडेको छ,” एडिनबर्ग विश्व विद्यालयका रोग प्रतिरक्षा विज्ञ प्राध्यापक एलेनोर रिलेले भने।

डेल्टा भेरिअन्टको उदयले ती एन्टिबडीलाई झनै खराब स्थितिमा पुर्‍याएको छ। उक्त भेरिअन्ट बढी सङ्क्रामक छ र मानव शरीरमा सहजै प्रवेश गर्छ।

नतिजा हामीले देखेका छौँ: दुवै मात्रा खोप लगाएका मानिसहरू पनि कोभिड-१९ बाट सङ्क्रमित छन्।

प्रकाशन हुन बाँकी एउटा अनुसन्धानले के अनुमान गरेको थियो भने अस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउने बित्तिकै कोरोनाभाइरस सङ्क्रमणको लक्षण ६६ प्रतिशतले कम गर्छ।

ठिक पाँच महिनापछि उक्त आँकडा ४७ प्रतिशतमा झर्‍यो। फाइजर खोपको हकमा उस्तै आँकडा ९० प्रतिशतबाट ७० प्रतिशतमा झर्‍यो।

यो भाइरसको सङ्क्रमण नियन्त्रण गर्न खोजिरहेका सरकारहरूका लागि गम्भीर समस्या हो।

सङ्क्रमणले शरीरमा गम्भीर असर गर्छ कि गर्दैन भन्ने कुरा रोग प्रतिरोधी क्षमतामा भर पर्छ। यद्यपि हालका लागि खोपले कमै मात्र मानिसलाई अस्पताल जान नपर्ने अवस्था सिर्जना गरेको छ।

ब्रिस्टल विश्वविद्यालयका प्राध्यापक एवं सरकारी खोप सल्लाहकार एडम फिन भन्छन्: “हामीले धेरै सङ्ख्यामा खोप लगाएका र खोप नलगाएका दुवै किसिमका मानिसहरू अस्पतालमा आएको देखिरहेका छौँ।”

“खोपका कारण हामी सङ्क्रमणका सामान्य लक्षणविरुद्ध त सुरक्षित छौँ। तर यसले अस्पतालमा पुग्न वा सङ्क्रमणकै कारण हुने मृत्यु रोक्न बिस्तारै कम भइरहेको छ।”

अस्पतालमा उपचार आवश्यक पर्ने वा मृत्युसम्म पुग्ने जोखिम वृद्धहरूमा बढी छ। दुवै मात्रा खोप लगाएका मानिसहरूको मृत्युको ठूलो सङ्ख्या ७० वर्षभन्दा माथि उमेर समूहको रहेको छ। युवा समूहमा उक्त जोखिम कम छ।

मानव शरीरको प्रतिरक्षा प्रणाली निर्माण गर्नेसहित हरेक कोशिका समयसँगै पुरानो हुन्छन्। कोशिकाहरू पुरानो वा बुढो हुनुको अर्थ खोपहरूमार्फत प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउन कठिन हुनु हो। त्यसले सङ्क्रमण भएको अवस्थामा पनि ढिला प्रतिक्रिया जनाउँछ।

यसका कारण एन्टिबडीहरू कम हुँदै गएका छन् जसका कारण प्रतिरक्षा प्रणालीमा असर परेको छ।

“सुरुवाती चरणमा वृद्ध मानिसलाई खोपले सुरक्षा दिनु सम्भव थियो तर अब एन्टिबडीहरू कमजोर भएका छन्। तिनीहरूसँग दोस्रो पटक कोभिड-१९ विरुद्ध सुरक्षा दिने क्षमता नहुन सक्छ,” प्राध्यापक रिलेले भने।

सोही कारण वृद्ध सङ्क्रमितहरूले दुवै मात्रा खोप लगाए पनि मृत्यु भएको हुनसक्ने बताए। यसमा बुढ्यौलीसँगै आउने शारीरिक स्वास्थ्य समस्याहरू पनि कारक बन्न सक्छन्।

सबैतिर जोखिममा रहेका वृद्धवृद्धालाई सुरुवातमा खोप दिइएको थियो। त्यसैले हाल उनीहरूको शरीरमा एन्टिबडी कम हुँदै गएको उनले बताए।

त्यस्तै क्यान्सरका बिरामी वा अङ्ग प्रत्यारोपण गराएका बिरामीहरूको शरीरले पनि खोपलाई उचित प्रतिक्रिया जनाएन। यसको कारण उनीहरूको प्रतिरक्षा प्रणाली पहिल्यै कमजोर हुनु हो।

अक्सफोर्ड-अस्ट्राजेनेका र फाइजर-बायोएनटेक खोपहरूबीच महत्त्वपूर्ण भेद छन् जसले यूकेका मानिसहरूलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

“ती खोप प्रतिरक्षा प्रणालीको फरक भागहरूका लागि उचित देखिएका छन्,” डा. हेलेन प्यारीले भनिन्।

उनका अनुसार फाइजरजस्ता एमआरएनए खोपहरूले एन्टिबडी विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरे भने अस्ट्राजेनेकाले शरीरमा टी-सेल प्रतिक्रिया विकास गर्न।

माथि उल्लेखित गढको प्रसङ्गमा फाइजर पर्खालबाहिर रहेका धनुषधारी भएर सङ्क्रमणलाई भित्र पस्न नदिन उपयोगी देखिए। त्यस्तै अस्ट्राजेनेकाले महलको भित्री पाटो सुरक्षित राख्यो। सकारात्मक पक्ष के हो भने एन्टिबडी कम हुँदै जाँदा केही एकदम प्रभावकारी खोपहरू विकास भएका छन्। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्