Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

हैजाविरुद्धको खोप लगाइँदै, दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आइपुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई कोलेराविरुद्धको खोप हस्तान्तरण गर्नुभयो ।

युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गर्नुभएको हो । कतार एयरको नियमित उडानबाट दुई लाख ५२ हजार ३६३ मात्रा खोप दिउँसो ३ बजे काठमाडौँ आइपुगेको हो ।

सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो । कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप काठमाडौँ आइसकेकोले अर्को हप्ता कपिलवस्तुका हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयवासीलाई लगाइने बताउनुभयो । खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने विभिन्न अध्ययनले देखाएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिका हैजा प्रभावित क्षेत्र रहेका छन् ।

ती पालिकाका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याई हैजा नियन्त्रण गर्न मङ्सिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताउनुभयो । अन्य चार पालिकामा मङ्सिर ७ गतेदेखि खोप सञ्चालन हुने बताइएको छ । गोरखापत्रदैनिकबाटसाभार

प्रतिक्रिया दिनुहोस्