Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पश्चिमी वायुको प्रभावले चिसो अझै बढ्ने, जनस्वास्थ्यमा असर पर्ने भएकाले तयारी थाल्न विज्ञको सुझाव



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् ।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरूपमा हुन नसक्दा यसको सीधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरूले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्‍बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनैतिक तयारी थाल्नुपर्ने बताउनुभयो ।

उहाँले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरू आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणवद्ध तयारी थाल्नुपर्ने बताउनुभयो। मास्कले कोभिड साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भएको भन्दै उहाँले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गर्नुभयो।

वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उहाँले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउनसक्ने तर्फ सरोकारवालाहरूलाई सचेत गराए । डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसधानहरू बन्द गर्नेलगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताउनुभयो।

डा उप्रेतीले राष्ट्रिय आपत्कालीन केन्द्रले आउँदै गरेको जोखिमलाई मध्यनजर गरी त्यसबारेमा आम नागरिकहरूलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले वायुप्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउने चेतावनीसमेत दिनुभयो । वायुप्रदूषणजन्य विपद्बाट बच्न बहुप्रकोपीय उपाय अपनाउन पनि उहाँले आग्रह गार्नुभयो।

प्रतिक्रिया दिनुहोस्