स्टार अस्पतालको ५० बेडको ‘स्टार नुवाकोट अस्पताल’ नुवाकोटको विदुरमा सञ्चालन
नुवाकोट, धादिङ्ग र रसुवाका ३ लाख भन्दा बढी जनसंख्याले लाभ लिने विश्वास
जनस्वास्थ्य सरोकार, नुवाकोट । ललितपुरको सानेपास्थित अत्याधुनिक स्टार अस्पतालले नुवाकोटको विदुरस्थित ढुंगे –१ मा ‘स्टार नुवाकोट अस्पताल’ सञ्चालनमा ल्याएको छ ।
उपत्यका बाहिर बसोबास गर्ने नागरिकलाई सरल र सुलभ दरमा बिशेषज्ञ सेवामा पहुँच विस्तार गर्ने योजना अनुसार ५० बेडमा स्तरोन्नति गरेर सञ्चालन गरिएको हो ।
स्टार अस्पताल सानेपाका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले औपचारिक रुपमा सो भवनको उद्घाटन गर्नुभयो । अस्पताल स्थापना सँगै नुवाकोट, धादिङ्ग र रसुवाका ३ लाख भन्दा बढी जनसंख्याले लाभ लिन सक्ने विश्वास अध्यक्ष मर्हजनको छ ।
स्टार अस्पतालका मेडिकल डाइरेक्टर एवं वरिष्ठ ग्याँस्ट्रोइन्टेस्टाइन सर्जन डा. शैल रुपाखेतीले स्टार नुवाकोट अस्पताल एउटा नाफामुलक संस्था मात्रै नभएर स्वास्थ्य सेवामा छुटै पहिचान बनाएको संस्था भएको बताउनुभयो । स्टार अस्पताल सानेपामा सबै खालका विशेषज्ञ सेवा नियमित उपलब्ध भइरहेको भन्दै नुवाकोटका जनताको लागि पनि विशेषज्ञ सेवा उपलब्ध गर्न स्टार नुवाकोट अस्पताल सञ्चालनमा ल्याएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नुवाकोट जिल्लाका विभिन्न संघ, संस्थामा आबद्ध गन्यमान्य व्यक्तिहरुको सहभागिता रहनुका साथै, स्टार नुवाकोट अस्पताल उद्धघाटनको उपलक्ष्यमा ४ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरसमेत आयोजना गरेको छ ।