Logo
|
Friday 31st January 2025
Logo

epaper

वरिष्ठ न्युरो सर्जन प्रा.डा. देवकोटाको सपना साकार पार्दै उहाँका अब्बल चेलाहरु

जसले सेवाको गुणस्तरमा कमी हुन दिएका छैनन्



जनस्वास्थ्य सरोकार, काठमाडौं । कतिपयले भन्ने गर्थे वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको देहवसानपछि उहाँले स्थापना गरेको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेसको यात्रा बन्द हुनसक्छ भनेर । प्रा.डा. देवकोटाको अभाव त कसैगरी पनि पूरा गर्न सकिदैन । तर प्रा.डा. देवकोटाले देखाएको बाटो पहिल्याउँदै उहाँबाट तालिम प्राप्त न्युरो सर्जन, न्युरोलोजिष्टसमेतको टिमले अस्पतालमा आउने बिरामीलाई डा. देवकोटाको अभावको महसुस हुन दिएको छैन ।

सेवाको गुणस्तर अव्वल भएको सेवाग्राही बिरामी र उसका आफन्तहरुले बताउने गरेका छन् ।


तीन वर्षअघि निधन हुनुभएका प्रा.डा. देवकोटाको ६७ औं जन्मजयन्तीको अवसरमा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालबाट डा. देवकोटाले सर्वसुलभ रुपमा न्युरो तथा न्युरोसम्बद्ध सेवाहरु उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको विशिष्टिकृत अस्पतालबाट उपलब्ध गराइने सेवाको गुणस्तरमा कुनै पनि कमी नभएको जानकारी दिइयो ।


अस्पतालबाट अत्याधुनिक न्युरो सर्जरी, न्युरोलोजी, इन्टरभेन्सनल न्युरो रेडियोलोजी, न्युरो क्रिटिकल केयर, साइक्याट्रि एवं क्लिनिकल साइकोलोजी, नाक,कान, घाँटी, फिजियोथेरापी र रिह्याविलिटेसन ( पुनस्र्थापना सेवा), म्याग्जिलोफेसियल सर्जरी, अर्थोपेडिक एवं ट्रमा, अप्थाल्मोलोजी, जनरल सर्जरी सेवा एउटै छातामुनि उपलब्ध गराउन सकेकोमा आफूहरु गौरवान्वित भएको अस्पतालकी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाले बताउनुभयो ।


मस्तिष्क तथा स्नायु रोगको संवेदनशीलतालाई ध्यानमा राखी पेसेन्ट फस्ट अर्थात पहिला बिरामी भन्ने प्रतिपादित विशिष्त सिद्धान्त अनुरुप बिरामीलाई केन्द्रबिन्दुमा राखी अति विशिष्ट चिकित्सक एवं प्राविधिक स्वास्थ्यकर्मीको टोलीबाट रोगको निदान एवं उपचारको समुचित व्यवस्थापन गरिएको प्रा.डा. मधुले स्पष्ट पार्नुभयो ।


पहिला एन्युरिजम जस्तो जटिल समस्यामा टाउको खोलेर क्लिपिङ गरिदै आएकोमा अहिले टाउको नखोली गरिने न्युरो इन्डोभास्कुलर प्रविधिले धेरैको ज्यान जोगाउन अस्पताल सफल भएको छ । हाल अस्पतालमा विगत २ वर्षदेखि नेपालकै पहिलो वाइप्लेन क्याथल्याबबाट पक्षघात तथा एन्युरिजमजस्ता रोगहरुको उपचार टाउको नखोलीकन गर्न सम्भव बनाएको अस्पतालका न्युरो इन्डोभास्कुलर रेडियोलोजिष्ट डा. सुवास फुयालले जानकारी गराउनुभयो ।


१ सय शैयाको अस्पतालमा कार्यरत स्वास्थ्य एवं अन्य कर्मचारीहरुको सक्रियतामा अस्पतालले बर्षेनी करिब ३५ हजार बिरामीलाई सेवा दिन सफल भएको छ भने देशका अरु भागमा पनि स्नायु शल्यचिकित्सकहरुको उपलब्धताका लागि प्रा.डा. देवकोटाले थालेको न्युरो सर्जरीको सुपर स्पेशियालिटी तालिमलाई निरन्तरता दिन अस्पताल सफल भएको छ । हाल अस्पतालबाट १६ जना न्युरो सर्जनले सुपरस्पेशियालिटी तालिम प्राप्त गरेर देशका विभिन्न ठाउँमा कार्यरत छन् ।


चिकित्सा शिक्षा, गुणस्तरीय सेवा एवं स्नायुविज्ञानको प्राविधिक उन्नयनमा अस्पतालका संस्थापक प्रा.डा. देवकोटाले देखेको सपना साकार पार्न आफूहरुबाट चालिएको कदमबाट आम बिरामीको गुणस्तरीय उपचारमा कुनै कमी हुन नदिने प्रा.डा. देवकोटाको चेला एवं वरिष्ठ न्युरो सर्जन शिखर श्रेष्ठ एवं वरिष्ठ न्युरो फिजिसियन डा. बाबुराम पोख्रेललगायतका चिकित्सकहरुले स्पष्ट पार्नुभयो ।


हरेक वर्ष पुष ४ गते पर्ने प्रा.डा. देवकोटाको जन्मजयन्तीका अवसरमा निशुल्क कन्सल्टेसन सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्