Logo
|
Friday 26th April 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगद्धारा अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।

आयोगले मंगलबार सूचना प्रकाशित गरी चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ को उपदफा १ अनुसार कारबाही हुने जनाएको हो । उक्त दफामा तोकेभन्दा बढी शुल्क लिएमा र आयोगको निर्देशन पटक‍पटक उल्घन गरेमा मेडिकल कलेजको एक वा सोभन्दा बढी कार्यक्रमको सम्बन्धन खारेज गर्न विश्वविद्यालयलाई सिफारिस गर्ने उल्लेख छ ।

आयोगले पटकपटक बढी शुल्क नलिन मेडिकल कलेजहरूलाई सचेत गराउँदै आएको छ । कानुनसम्मत बाहेक अनिवार्य नभएका विषयमा अनिवार्य भनी अतिरिक्त शुल्क लिँदा छात्रवृत्तितर्फ कानुनले संरक्षण गरेका अति न्यून आयस्रोत भएका विद्यार्थीसमेत पढाइबाट बञ्चित हुने स्थिति आएको आयोगले जनाएको छ ।

बढी शुल्क लिएको बिबादमा काठमाडौंको काठमाडौं मेडिकल कलेज, पोखराको मणीपाल र विराटनगरको नोबेल मेडिकल कलेजमा पठनपाठन सुरु हुन सकेको छैन । अतिरिक्त शुल्क लिने कलेजलाई कारबाहीका लागि जिल्ला प्रशासनका कार्यालयमा सिफारिस गर्ने तयारीसमेत गरिएको आयोगले जनाएको छ ।

शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याव, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कलाई बुझाउने भएकाले शिक्षण शुल्क भित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्क जस्ता विद्यार्थीहरूको पढाइ पूरा गर्न आवश्वयक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश भएको हुनाले यी विषयमा थप शुल्क नलाग्ने आयोगले प्रष्टाएको छ ।

काउन्सिल रजिष्ट्रेशन जस्ता शुल्क विद्यार्थी स्वयंले सम्बन्धित काउन्सिलमा बुझाउन सक्ने र शिक्षण संस्थाको होस्टेल, मेस जस्ता शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने जनाइएको छ । कान्तिपुरबाट साभार

प्रतिक्रिया दिनुहोस्