Logo
|
Friday 27th May 2022
Logo

epaper

जाडोमा हीटर र गिजरले निम्त्याउन सक्छन् कहालीलाग्दो जोखिम, यस्ता छन् जोगिने उपाय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत साता सोमवार काठमाण्डूको बागबजारस्थित काठमाण्डू मोडेल कलेज (केएमसी) को छात्रावासमा एक विद्यार्थीको मृत्यु भयो। नुहाउने क्रममा बेहोस भएका उनलाई अस्पताल लग्दालग्दै मृत्यु भएको कलेजका प्रधानाध्यापक डा. नवीन्द्र बहादुर अर्यालले जानकारी दिनुभयो । मृतक विद्यार्थी कक्षा १२ मा अध्ययनरत थिए।

घटनालगत्तै कलेजका अन्य विद्यार्थी आन्दोलनमा ओर्लिए। उनीहरूले कलेजको होस्टलमा उचित हो भेन्टिलेशन नभएका कारण निसासिएर आफ्ना साथीको ज्यान गएको दाबी गरेका छन्। कलेज व्यवस्थापनले लापरबाही रहेको उनीहरूको आरोप छ।

प्रधानाध्यापक अर्यालले बीबीसीसँग भन्नुभयो ”घटनाबारे अझै पनि अनुसन्धान भइरहेको छ। कस्ता कमजोरी भए र अबदेखि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ।”

चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हीटर तथा गिजरका कारण भएको भनिएको यो पहिलो घटना भने होइन। जाडो महिनामा त्यस्ता उपकरणको प्रयोगपछि दुर्घटनामा परी अस्पताल भर्ना हुने र मृत्यु हुनेको सङ्ख्या उल्लेख्य मात्रामा हुने चिकित्सकहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका डा. नीरज बम भन्नुहुन्छ,”मृत्युका घटना बाहिर आउँछन् तर घाइते हुनेहरूबारे कसैलाई थाहा हुँदैन। यस वर्ष जाडो लागेपछि थुप्रै बिरामी नुहाउँदानुहाउँदै वा आगो ताप्दाताप्दै निसासिएको, बेहोस भएको भन्दै ल्याइएका छन्। उनीहरू ठिक भएर घर फर्किन्छन्।”

के कारण निसासिन्छन् मानिस?

ग्यासबाट चल्ने हीटर र गिजर चलाउँदा वा कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरू बताउँछन्। जुन कोठा वा नुहाउने कोठामा फैलिन्छ। चिसो मौसममा कोठाको झ्यालढोका बन्द रहने भएकाले बाहिरबाट अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट दूषित कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन।

“त्यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड हामी सासबाट लिन थाल्छौँ। त्यो मानिसको फोक्सोमा पुग्छ र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिन्छ” डा. बम भन्नुहुन्छ ।

सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पुर्‍याउँछ। तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ। “त्यसपछि मानिसमा निसासिने समस्या देखिन थाल्छ,” उहाँले भन्नुहुन्छ । उहाँको अनुसार यो अवस्थालाई कार्बन मोनोक्साइड पोइजनिङ भनिन्छ।

पल्मनरी एन्ड क्रिटिकल केअरविज्ञ डा. रक्षा पाण्डेलेकार्बन मोनोक्साइडको रङ्ग र गन्ध नहुने भएकाले झट्ट पहिचान गर्न गाह्रो हुने जानकारी दिनुभयो । अक्सिजनको तुलनामा कार्बन मोनोक्साइड चाँडो हेमोग्लोबिनमा टाँसिन्छ।

कस्ता समस्या देखिन्छन् ?
कार्बन मोनोक्साइड शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रुङ्गो हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता समस्या आउने डा. बमले बताउनुभयो ।

”समस्या भोगिरहेको मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरू बाहिर निस्किन पनि सक्दैनन्। त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्यान जान सक्छ,” उहाँले भन्नुभयो ।

मुटुले अक्सिजन नपाउने यस अवस्थालाई ‘एरिद्निया’ भनिन्छ। यस अवस्थामा मुटुको गति र ताल असन्तुलित हुने चिकित्सकहरू बताउँछन्।

यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हीटर बालेर सुतिरहेको अवस्थामा हुन सक्ने चेतावनी उहाँले दिनुभयो । “सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन्। न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै। त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन्।”

के हुन् समाधानका उपाय?
तातोका लागि ग्यासबाट चल्ने वा विद्युतीय उपकरण प्रयोग गर्दा बाह्य र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँ बनाउँदा तथा झ्याल वा भेन्टिलेशन खुला राख्दा जोखिम घट्ने डा. बमको कथन छ। उनले कार्बन मोनोक्साइड हावामा हलुका हुने र खुला ठाउँबाट बाहिर निस्किने जानकारी दिनुभयो।

र्घटना भइहालेको अवस्थामा अस्पताल पुर्‍याउनुको विकल्प नभएको उनी बताउँछन्। “कार्बन मोनोक्साइड पोइजनिङ भएकाहरूलाई तीव्र गतिमा प्रवाह हुने अक्सिजन सहायतामा राख्नुपर्छ। परीक्षणपछि बिरामीको शरीरको कहाँ कस्तो असर परेको छ सोहीअनुरूप ‍औषधिउपचार गरिन्छ,” बमले भने।

अरू कस्तो जोखिम?
केही वर्षअघि पुस महिनाको ७ गते। कलङ्की बस्ने इन्जिनियर दम्पती पुष्करराज जोशी र अप्सरा श्रेष्ठको कोठाबाट धुवाँको मुस्लो निस्कियो। धुवाँसँगै हारगुहारको आवाज सुनेपछि छिमेकीहरू उद्धार गर्न गए।

कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुर्‍याउँदासम्म त उनीहरू होसमै थिए। उनीहरूका १४ महिने छोरालाई भने त्यहाँ बच्चाको भेन्टिलेटर नभएकै कारण भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पताल पुर्‍याइयो।

उपचार र ठिक हुने आशाबीच घटना भएको पाँच दिनपछि पुष्करको निधन भयो। त्यसको चार दिनपछि पुस १६ गते अप्सराको पनि मृत्यु घोषणा भएको उनका बुबा प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उनीहरूका छोरा अहिले चार वर्षका भए। उनी शरीरको विभिन्न भागमा पोलेको घाउ बोकेर हजुरबुबा र हजुरआमासँग हुर्किरहेका छन्।

प्रहरीका अनुसार घटना भएको रात कोठामा ग्यास हीटर प्रयोग भएको थियो। त्यही हीटरको ग्यास चुहिएर आगलागी भएको प्रहरीको अनुमान छ।

नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरका बर्न वार्ड प्रमुख डा. सुरेन्द्र बस्नेतका अनुसार जाडोमा हुने यस्तै दुर्घटनाका कारण अस्पतालमा जलनका बिरामीको सङ्ख्या ह्वात्तै बढ्छन्। उनका अनुसार वार्षिक करिब ६०० जलनका बिरामी आउँछन्। तीमध्ये २० देखि २५ प्रतिशतको मृत्यु हुन्छ।

“जाडोमा न्यानोका लागि हीटर, गिजरको प्रयोग गरिन्छ। गाउँघरतिर आगो बालिन्छ। पानी पनि तातै पिउँछौँ। यी सबैको प्रयोगमा सतर्क नहुँदा दुर्घटना हुन्छ,” बस्नेतले भन्नुभयो ।

कस्ता हुन्छन् जलनका प्रकार?
डा. बस्नेतका अनुसार प्रायः तातो पानी शरीरमा पोखिएर हुने जलनको पीडित बालबालिका छन्। सोही उमेर समूहका बालबालिकाहरूले बलिरहेको हीटर समातेर वा हीटरको रापले उनीहरूको लुगा पगालेर भएका घटनाहरू समेत देखिने उहाँले बताउनुभयो ।

सहरी क्षेत्रमा ग्यास हीटर लीक वा विद्युतीय हीटर शर्ट भएर पनि दुर्घटनाहरू भएको विवरण दिनुभयो । उहाँले भन्नुभयो , ”ग्यास लीक भएको छ कि छैन जाँच नगरी वा तार सही छ कि छैन जानकारी नराखी उपकरण प्रयोग गर्दा आगलागी हुन्छ र जलनमा परेकाहरू उपचारका लागि आउँछन्,” उहाँले भन्नुभयो ।

यस्ता दुर्घटनाहरूले शारीरिक जलन मात्र गराउने नभई श्वासप्रश्वास प्रक्रिया र फोक्सोमा समेत असर पुर्‍याउने बताउनुभयो । त्यस्तै दाउराको आगलागीमा परेकाहरू भने प्रायः ग्रामीण भेगबाट आउने उहाँको भनाइ छ।

आगोका अरू कस्ता दुष्प्रभाव ?
जाडो छल्न मात्र नभई खाना बनाउन प्रयोग गरिने आगो र त्यसको धुवाँका कारण दीर्घ दम तथा खोकी ९सीओपीडी० को समस्या बढिरहेको डा. नीरज बम बताउँनुहुन्छ । उहाँ यसलाई उपयुक्त भेन्टिलेशन नहुँदाको परिणाम मान्छन् ।

धुवाँमा हुने फरक किसिमका ग्यास, रासायनिक तत्त्वले गर्दा दमसँगै नियमित रुघाखोकी, श्वासनली साँघुरो बनाउने जस्ता समस्या निम्त्याउने बताउनुभयो । ”दीर्घकालीन रूपमा क्यान्सरको समस्या पनि सिर्जना हुन सक्छ।”

यस समस्याको समाधान पनि उचित भेन्टिलेशन नै भएको बताउनुभयो।

न्यानोको विकल्प एअर कन्डिशनर ९एसी० ले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्। बन्द कोठालाई चिसो बनाएर बस्नेहरूमा फ्लूको समस्या अधिक हुने र तापक्रम बढाएर बस्नेहरूमा छालाको एलर्जी, आँखा र नाक चिलाउने जस्ता समस्या देखिने बताउनुहुन्छ ।

“समग्रमा यस्ता उपकरणहरूले हानि नै गर्छन्। प्रयोग गर्नु पर्ने बाध्यताहरू हुन्छन् तर सतर्क भएर चलाउनुपर्छ।” बीबीसी

प्रतिक्रिया दिनुहोस्