Logo
|
Thursday 2nd May 2024
Logo

epaper

चिसो बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह



जनस्वास्थ्य सरोकार, मुस्ताङ । केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

चिसो बढेसँगै सतर्कता अपनाउन र कुनै पनि समस्या परेमा प्रशासन कार्यालय तथा सुरक्षा निकायमा सम्पर्क गर्न स्थानीयवासीमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लावासी धेरै जाडो छल्न पहाडी जिल्ला तथा पोखरा, काठमाडौँ गइसकेका छन् भने भेडीगोठ कुरुवा र कर्मचारीमात्रै मनाङमा छन्। चिसो बढेसँगै जिल्लामा बसिरहेका स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा सुरक्षा निकाय प्रमुख र सम्बन्धित कार्यालयका प्रमुखसहित हुम्दे एयरपोर्टको भौतिक संरचना तथा अवस्थाको निरीक्षण अनुगमन गरिएको छ। हिमपातका कारण उक्त संरचनाको मर्मतसम्भार तथा सदुपयोग गर्ने उपायका बारेमा तत्काल खोजी र प्रारम्भ गर्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो।

मनाङ ङिस्याङ गाउँपालिकामा पर्यटन तथा स्थानीय जनजीवनको अवस्था, हिमपात र चिसो बढेपछिको प्रभाव एवं स्थानीयवासीको दैनिकी र प्रहरी तथा निजामती कर्मचारीको स्थितिको अवलोकन गरिएको उहाँले बताउनुभयो । साथै पर्यटकीय पदमार्ग चामेबाट तलेखु, भ्राताङ, ढिकुरपोखरी, पिसाङ, ग्रीन ताल, सीमा प्रहरी चौकी हुम्डे, मुङ्जे, भ्राका, मनाङ र टङ्की मनाङसम्मको अनुगमन पनि गरिएको आचार्यले बताउनुभयो ।

अमेरिकन तथा रसियनलगायत देशका पर्यटकले अनुभवी गाइड एवं शेर्पालाई साथमा लिई थोराङ्ला पासतर्फ जाने क्रम जारी रहेको र बङ्गाली पर्यटक भने यात्रा अघि नबढाई फर्किएको पाइएको बताउनुभयो । ग्रिनलेकबाहेकका ताल एवं छहरा तथा साना खोलाखोल्सामा बग्दै गरेको पानी पूर्णरूपमा जमेको र घाम लागेसँगै पग्लिएर बग्ने गरेको पाइएको आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्