बिहारका ६५ वर्षिय एक व्यक्ति जसले लगाए ११ पटक कोरोना विरुद्धको खोप
जनस्वास्थ्य सरोकार । भारतमा एक व्यक्तिले गत वर्ष कम्तीमा आठ पटक कोभिड-१९ विरुद्धको खोप लगाएको तथ्य बाहिर आएको छ । बिहार राज्यका ६५ वर्षीय ब्रह्मदेव मण्डलले आफूले खोपको ११ मात्रा प्राप्त गरेको दाबी गरेका छन्। उनी सेवानिवृत्त हुलाकी हुन्।
मण्डलले खोपले आफूलाई पीडामुक्त बनाएको र स्वस्थ रहन सहयोग पुर्याएको बताएका छन्। खोपका कारण आफूलाई कुनै नराम्रो असर नपरेको उनको दाबी छ।
गत साता फेरि कोभिड खोप लिन लाग्दा उनलाई रोकियो। मधेपुरा जिल्लामा परिवारसँग बस्दै आएका मण्डलले कसरी त्यति धेरै पटक खोप लगाए भन्नेबारे अनुसन्धान भइरहेको छ।
‘उनले चार फरकफरक ठाउँबाट आठ पटक खोप लगाएको प्रमाण हामीलाई प्राप्त भइसकेको छ’ मधेपुराका सरकारी चिकित्सक अमरेन्द्र प्रताप शाहीले बीबीसीलाई भने।
गत वर्ष ज्यानुअरी १६ मा खोप कार्यक्रम सुरु भएदेखि भारतले स्वदेशमै उत्पादित कोभिशील्ड र कोभ्याक्सीन खोपका दुई मात्रा वितरण गर्दै आएको छ।
ती खोपको पहिलो मात्रा लिएको क्रमशः १२ र देखि १६ हप्ता र चारदेखि छ हप्ताको अन्तरमा दोस्रो मात्रा दिइन्छ।
भारतमा कोभिड खोप लगाउनु स्वैच्छिक छ। राज्यद्वारा भारतभरि ९०,००० वटाभन्दा बढी केन्द्रबाट खोप दिइरहेको छ। तिनमा अनलाइन दर्ता नगरी तत्काल गएर खोप लगाउने केन्द्र पनि समाविष्ट छन्।
खोप पाउनका लागि व्यक्तिले बायोमेट्रिक कार्ड, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये एक परिचयको प्रमाण पेस गर्नुपर्छ।
विभिन्न खोप केन्द्रबाट सङ्कलित तथ्याङ्क भारतीय खोपसम्बन्धी पोर्टल कोविनुमा अप्लोड गरिएको छ।
प्रारम्भिक अनुसन्धानमा मण्डलले एकै दिन आधा घण्टाभित्र खोपका दुई मात्रा लगाएको देखियो। अनि ती दुवै मात्रा खोपको विवरण पोर्टलमा दर्ता भएको छ।
‘यो सबै कसरी सम्भव भयो भन्नेबारे अन्यौल छ। पोर्टलमा प्राविधिक त्रुटि भएको जस्तो देखिन्छ। खोप केन्द्र सञ्चालन र व्यवस्थापन गर्नेहरूबाट कुनै लापरबाही भएको हो वा होइन भन्ने पत्ता लगाउने प्रयास पनि गरिरहेका छौँ, शाहीले भने।
केन्द्रहरूमा सङ्कलित तथ्याङ्क लामो समयपछि मात्र अप्लोड गरिएकाले उक्त त्रुटि भएको हुनसक्ने जनस्वास्थ्य विशेषज्ञ चन्द्रकान्त लहरियाले बीबीसीलाई बताए।
‘तर म अझै पनि आश्चर्यमा छु यति लामो समयावधिसम्म त्यति धेरै पटक खोप लगाएको तथ्य कसरी पत्ता लागेन’
ब्रह्मदेव मण्डलले गत वर्ष फेब्रुरीदेखि डिसेम्बरको बीचमा ११ मात्रा खोप लगाएको दाबी गरेका छन्। उनले प्रत्येक मात्राको मिति, समय र शिविरबारे जानकारी लेखेर राखेका छन्।
उनले मधेपुराका सम्पूर्ण खोप शिविर र कम्तीमा दुईवटा छिमेकी जिल्ला गएर खोप लगाएको बीबीसीसँग बताए। एकचोटि त उनी १०० किलोमिटर परको शिविरसम्म पुगेका थिए।
उनले हरेक पटक नाम दर्ता गराउन फरकफरक परिचयपत्रको प्रयोग गरेका थिए।
मण्डलले हुलाकी बन्नुअघि आफूले गाउँमै झारफुकको अभ्यास गरेको र आफूलाई रोगका बारे केही जानकारी भएको बताए।
खोप लगाएपछि मेरो शरीरको पीडा बाँकी रहेन। पहिले मेरो घुँडा निकै दुख्थ्यो र लट्ठी टेकेर हिँड्थेँ। तर अहिले त्यसको आवश्यकता पर्दैन। म ठिक छु।
कोभिड-१९ विरुद्धको खोप लगाउँदा हल्कादेखि मध्यम ज्वरो, टाउको दुखाइ र थकानजस्ता सामान्य प्रभाव देखिन्छन्। गम्भीर प्रकृतिका एलर्जीहरू भने निकै कम मानिसलाई हुन्छ।
‘प्रायः मानिसले सामान्यतया पहिलो र दोस्रो मात्रा खोप लगाएपछि उल्लिखित प्रतिक्रियाहरू महसुस गर्छन्। यी खोपहरूको धेरै मात्रा लगाउनुले धेरै हानि गर्दैन होला। किनकि व्यक्तिको शरीरमा एन्टिबडीहरू पहिले नै बनिसकेका हुन्छन् र खोपहरू पनि हानिरहित पदार्थ मिलेर बनेका छन्’ डा. लहरियाले भने।
भारतको वयस्क जनसङ्ख्यामध्ये करिब ६५ प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन्। झन्डै ९१ प्रतिशत मानिसले कम्तीमा एक मात्रा लगाएका छन्।
बिहारमा खोप लगाउने मानिसको सङ्ख्या कम छ। त्यहाँ वयस्क जनसङ्ख्याको ३६ प्रतिशतले मात्र पूर्ण रूपमा खोप लगाएका छन् भने ४९ प्रतिशतले मात्र पहिलो मात्रा खोप पाएका छन्। बीबीसीबाट