Logo
|
Friday 26th April 2024
Logo

epaper

जाडोयाममा बाथरोगः तपाईंको तिघ्रामा बोक्सीले चुसेर निलो टाटु भएको होइन

जाडोले बाथ होइन, बाथको समस्या बढाइदिन्छ



यतिखेर काठमाडौंलगायत देशका विभिन्न भागमा चिसो निकै बढेको छ । यो मौसममा बाथरोगलागायतका दीर्घ रोगीहरुलाई निकै असर पारेको पाइन्छ । वास्तवमा जाडोयाममा बाथरोगको प्रभाव बढ्छ ।

जाडोयाममा चिसो पानीमा हात राख्दा सेतो, निलो, रातो हुने गर्छ । घाउहरु आउँछन् । घाममा बस्दा छालामा रातो पुतलीको प्वाँखजस्तै स्किन र्यासेस आउँछ । जसलाई हामी वटरफ्लाई र्यासेस भन्दछौं ।

साथै कपाल झर्ने, तिघ्रालगायत शरीरका विभिन्न भागमा बोक्सीले टोकेजस्तो निलो रातो टाटु देखिने गर्छ । यो बोक्सीले टोकेको होइन, यो नसा फुटेर भएको समस्या हो यसलाई भास्कुलाइटिस आर्थराइटिस भनिन्छ । यो धेरैलाई देखिने गर्छ ।

जाडोयाममा शारीरिक अभ्यास, खानपानमा ध्यान नदिँदा समस्या बढ्छ । जाडो मौसममा उच्च प्रोटिनयुक्त खाना खाइदिन्छौं, मदिरा सेवन गर्छौं । रातो मासुहरु बढी खान्छौं । यसले जाडोयाममा युरिक एसिडको बाथ बढ्ने गर्छ । कहिलेकाँही जाडो मौसममा रिडको हड्डी दुख्ने गर्छ । अतः जाडोले बाथ हुने होइन, बाथको समस्या बढाइदिने गर्छ । जस्तोः १० प्रतिशत बाथ भएका व्यक्तिहरुलाई ५० प्रतिशतसम्म जाडोले बढाइदिने गरेको पाइएको छ । जाडोमा शारीरक अभ्यास कम हुने भएकाले बाथरोगीहरुलाई समस्या पार्ने गर्छ ।

त्यसैले हामीले वाथ के हो ? यो कुन कारणले हुन्छ ? र समयमा उपचार नगर्दा यसले भविष्यमा कस्तो असर गर्छ ? भन्ने कुरा बुझ्न जरुरी हुन्छ ।

नसा वा मांशपेशी दुखेर उत्पत्ति हुने रोगलाई हामी बाथरोग भन्दछौं । वाथ प्राणघातक रोग पनि हुनसक्छ । यसले मानवको अस्थिरपञ्चर प्रणालीलाई प्रतिनिधित्व गरेको हुन्छ । यो हड्डीको रोगबाट शुरु भएर शरीरका आन्तरिक महत्वपूर्ण अंग जस्तैः मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छालासमेतलाई असर गर्छ । बाथरोग सयौं प्रकारका हुन्छन् ।

वाथरोग नवजात शिशुदेखि ८०—९० वर्ष उमेर समूहका जो कसैलाई, जुनसुकै उमेरमा हुनसक्छ । वास्तवमा हामीले २० औं वर्ष अगाडि खासै वाथरोगलाई केयर गरेका थिएनौं । तर विभिन्न वाथका रोगीहरुको बढ्दोक्रमसँगै यसको उपचार सम्भव हुने प्रति ज्ञान बढ्दै गयो ।

लक्षण

वाथरोग जोर्नी दुखाईको रोग हो । बिहान उठ्दा हातगोडको जोर्नी सुन्निने, दुख्ने र कर्कक्क हुने समस्या हुन्छ । यसलाई अर्लि मर्निङ स्टेफनिस भनिन्छ । त्यसपछि कुन किसिमको बाथले शरीरको कुन अंगमा प्रभाव गरेको छ भन्ने आधारमा लक्षण देखिन्छ । जस्तैः टाउको, गर्दन, पाखुरा दुख्ने, चलाउन निकै कठिन पर्ने, कुहिने दुख्न,े सुन्निने, औंलाका आँख्ला सुन्निएर दुख्ने, कर्कक्क हुने, कम्मर, ढाड, घुँडा, गोलिगाँठो दुख्ने सुन्निने आदि गर्छ । वाथरोगको समस्यामा दुखाइको साथै ज्वरो पनि आउँछ ।

समयमा उपचार नपाएको अवस्थामा हड्डीहरु कुज्जिने, बांगिने गर्दछन् । त्यसपछि मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छालासमेतलाई नराम्रो किसिमले असर गर्दै जान्छ ।

विशेषगरी वाथरोग महिलाहरुमा बढी देखिएको छ । के कारणले महिलालाई बाथ बढी हुन्छ ? भन्ने कुरा पनि महत्वपूर्ण छ । वास्तवमा बाथरोग संक्रामक रोग होइन । यो नसर्ने वर्गको रोग हो । यसलाई हामीेले अटो इम्युना रोगमा राखेका हुन्छौं । वाथरोग यही कारणले हुन्छ भन्ने कुरा विज्ञानले समेत पत्ता लगाउन सकेको छैन । बाथरोग लागेको मानिसमा शरीरभित्र रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति (इम्युनो पावर ) क्षमता घटेर शरीरको प्रतिरोधात्मक क्षमता विरुद्ध ति असामाजिक तत्व (एन्टिवडी) उत्पत्ति भएर शरीरमा आघात पुर्याउँछ । वंशाणुगत कारणले पनि बाथ रोग हुनसक्छ । रहन सहन र अस्वस्थ्यकर खानपानले युरिक एसिड वाथको समस्या हुनसक्छ । युरिक एसिड वाथ पनि सयौं प्रकारका बाथमध्ये एउटा हो । यो शहरी क्षेत्रमा बढी देखिएको छ । उच्च प्रोटिनयुक्त खाना, मदिरा सेवन, रातोमासु खाने व्यक्तिहरुमा शरीरमा युरिक एसिडको मात्रा बढी भएर क्रिष्टल डिपोजिट गरिदिन्छ ।

कति बाथ टाउकोबाट खुट्टासम्म झर्छ भने युरिक एसिडको बाथ खुट्टाबाट माथि जान्छ । खुट्टाको बुढी औंला रातो निलो भएर दुख्छ र सुन्निन्छ । यसले हिँड्न, बस्न, उठ्न गार्हो गरिदिन्छ । युरिक एसिड वाथ प्रायः युवावस्थामा हुने गर्छ ।

बालबालिकालाई हुने बाथलाई जुबिनाइल आर्थराइटिस भनिन्छ । युवालाई हुने बाथलाई र्युमेटोयड आर्थराइटिस भनिन्छ । कतिपय बाथ महिलाहरुलाई मात्र हुन्छ ।

त्यसैले जाडोयाममा औषधिसँगसँगै शारीरिक क्रियाकलापमा जोड दिनुपर्छ । उच्च प्रोटिनयुक्त खाना कम खानुहोला । चिसोबाट आफूलाई बचाउनुहोला । (डा. गुप्ता र्युमाटोलोजी एण्ड आर्थराइटिस सेन्टरमा कार्यरत हुुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्