Logo
|
Saturday 20th April 2024
Logo

epaper

शुक्रबारदेखि खोप कार्ड अनिवार्य



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरुलाई खोपका लागि अभिप्रेरित गर्ने उद्देश्यले माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताउनुभयो ।

खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रुपमा लिइएको पनि उहाँले बताउनुभयो । कोभिड – १९ विरुद्धको खोप कार्डलाई अनिवार्य गरिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जहाँसम्म खोप कार्डको विषय छ यो खोप कार्डलाई खोप प्राप्त गरिसकेका व्यक्तिहरु पनि अभिलेखिकृत हुने र खोप प्राप्त गर्न बाँकी व्यक्तिहरु पनि खोप लगाउनलाई उत्प्रेरित गर्ने हिसाबले खोप कार्ड अनिवार्य गरिएको छ र यो खोप कार्डको माध्यमबाट व्यक्तिको जोखिमलाई मध्येनजर गर्दै खोप लगाइसकेका व्यक्तिहरु जोखिमको हिसाबले कम जोखिमपूर्ण हुने भन्ने मान्यता अनुसार खोप कार्डलाई एउटा आधारको रुपमा लिइएको छ । र खोपलाई प्रमाणित गर्ने हिसाबले पनि, खोप प्राप्त गरेको, नगरेको विषयलाई प्रमाणित गर्ने हिसाबले पनि खोप कार्ड यो सन्दर्भमा अहिले जोडिएर आएको विषय छ ।’

उहाँले थप्नुभयो-‘अब ७ गते पछाडी खोप कार्ड लिएका व्यक्तिहरुले सार्वजनिक सेवा लिन जाँदा त्यसलाई देखाउने कुरा भयो । र खोप कार्डको आधारमा सेवा प्राप्त गर्ने विषयलाई जोडिएको छ र त्यसलाई सम्बन्धित सेवा प्रदायक निकायहरुले नै आफ्नो सेवा दिने स्थानमै त्यसलाई उहाँहरुले हेरेर आवश्यक समन्वय गर्नुहुन्छ । खोपकार्डलाई सबैले अनिवार्य राख्नलाई हामीले भनेका छौँ । खोपकार्ड नभएकालाई खोप लिनलाई भनेका छौँ । बिस्तारै हामीले यसलाई व्यवहारिक रुपमा परिणत गरेर यसको कार्यान्वयन गर्नमा त्यही ढंगले हामीले आफुलाई परिचालित गरेका छौँ । यो अनिवार्य जस्तै हुन्छ ।’ न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्