Logo
|
Friday 19th April 2024
Logo

epaper

कोभिड–१९ र चिसो मौसम बाथ रोगीका लागि दुष्मन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । जाडो मौसममा सबै बाथरोगीहरुको जोर्नी दुखाइ बढ्नसक्छ । यो मौसममा जोर्नी दुख्ने, सुन्निने, अर्हरोपनाकासाथै माशंपेशीको दुखाइसँगै मांशपेशीको अररोपना पनि बढ्ने गर्छ । । यस्तो हुनुमा मौसम नै एउटा कारण हो । जाडो मौसममा शरीर सेन्सिटिभ भइरहने भएकाले बाथरोगीमा जोर्नीको दुखाई बढाउँछ । साथै जाडो मौसममा वायुमण्डलको प्रेसर कम हुने कारण जोर्नीको प्रेसर बढेर दुखाई पनि बढ्छ । जाडो मौसममा शारीरिक अभ्यास कम हुने भएकाले बाथरोगीहरुमा जोर्नीको दुखाइ बढाइरहेको हुन्छ ।

खासगरी पानी पर्ने मौसम एवं आकाशमा बादल लागेर टम्म भएको दिनमा बाथरोगीहरुमा दुखाई बढ्ने गरेको नेशनल बाथरोग सेन्टरकी बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी बताउनुहुन्छ ।

बाथरोगबाट बच्न के गर्ने ?

जाडो मौसममा बाथरोगीहरुले सक्दो चिसोबाट बच्नुपर्छ । यसका साथै चिसो पानीको प्रयोग सक्दो कम गर्ने, चिसो वतावरणमा नबस्ने, जोर्नीहरुलाई तातो बनाउने, दैनिक बिहानबेलुका ५ देखि १० मिनेट तातो पानीमा जोर्नीहरुलाई डुबाउने, धुम्रपान नगर्ने, धुँवाजन्य वस्तुबाट टाढा रहने आदि । जाडोयाममा औषधि नियमित सेवन गरिरहनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ डा. नकर्मी । जाडो मौसममा कतिपय बाथ रोगीहरुमा औषधि अपग्रेड गर्नुपर्ने समेत हुने भएकाले औषधिको मात्रा मिलाउन चिकित्ससँग परामर्श लिइरहनुपर्छ । यो बेला जोर्नीको दुखाई बढ्यो भनेर पेनकिलर सेवन गर्न हुँदैन । यसले दुखाइ मात्र कम गर्छ । तर बढेको बाथलाई कम गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

जाडो मौसममा बाथरोगीहरुले शारीरिक क्रियाकलाप गरिरहनुपर्छ । शारीरिक अभ्यास गर्नुभन्दा पहिला जोर्नीहरुलाई रवर व्यागलगायतका तातो वस्तुले सेक्नुपर्छ । यसले मांशपेशीको स्टफनेस कम हुने डा. नकर्मीको भनाइ छ ।

छालासम्बन्धी बाथरोग भएका व्यक्तिलाई समस्या

जाडोयाममा छाला सम्बन्धि समस्या स्केलेरोडर्मा र लुपस वाथ भएका व्यक्तिहरुमा रेनट्स फेनोमेनाको समस्या देखिन सक्छ । रेनट्स फेनोमेना भनेको चिसोमा एक्पोज भएपछि औंलाको रंग परिवर्तन भएर सेतो, निलो, पहेँलो हुने समस्या हो ।

जाडो मौसममा रेनट्स फेनोमेना बढ्ने भएकाले हातका औंलाको टुप्पोहरुमा घाउ हुने, पाक्ने सम्भावना बढ्नसक्छ । त्यसैले स्केलेरोडर्मा र लुपस वाथ भएका व्यक्तिहरुले चिसो पानी खेलाउनुहुँदैन । गृहिणीहरुले लुगा धुँदा र भाँडा माज्दा सकेसम्म तातो पानी अथवा मोटो खालको रबरको पञ्जा प्रयोग गर्न डा. नकर्मी सझाव दिनुहुन्छ ।

औषधि/उपचार
बिरामीको अवस्था र बाथ बढे/नबढेको हेरेर औषधिको मात्रा बढाउनुपर्ने पनि हुनसक्छ । बिरामीको रोगको स्थिति हेरेर औषधि घटबट भइनै रहन्छ । तर बिरामी आफैंले औषधिको मात्रा घटबढ गराउन हुँदैन । दुखाइ बढेमा डाक्टरलाई जँचाउन जान डा. नकर्मी सल्लाह दिनुहुन्छ । परीक्षणपछि मात्र दुखाई मात्र बढेको हो वा बाथ पनि बढेको हो भन्ने एकिन हुने गर्छ ।

मर्ने संभावना

दुखाइको कारणले बाथरोगीको मृत्यु हुने संभावना रहँदैन । तर छालासम्बन्धिको बाथ लुपसले फोक्सोलगायतका भित्री महत्वपूर्ण अंगहरुमा असर गरेर समयमा उपचार हुननसकेको अवस्थामा अंग विफल भएर व्यक्तिको मृत्यु हुनसक्छ ।

गठिँया, स्केलेरोडर्माका बाथरोगीहरुमा फोक्सोमा जाली पर्ने सम्भावना रहन्छ । यस्ता बिरामीहरुमा निमोनिया हुने मौका धेरै हुन्छ । यस्ता व्यक्तिहरुलाई कोभिडले सिकिस्त बनाउन सक्ने डा. नकर्मीको भनाइ छ ।

बाथरोगीलाई कोभिड जटिलता हुने सम्भावना कति ?

बाथलगायत सबै दीर्घकालीन रोगीहरुमा कोभिडको जटिलता धेरै हुन्छ । बाथको औषधिले पनि कोभिडको कम्लिकेसन अलि बढी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्