Logo
|
Saturday 20th April 2024
Logo

epaper

बाथरोगमा नियमित औषधि र पहिचानमा कति खर्च लाग्छ ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विगत केही वर्षदेखि बद्री तिर्थ आर्थराईटिस सोसाइटी र नेशनल बाथरोग सेन्टरको सहकार्यमा माघ महिनामा बाथरोग जागरण अभियानका रुपमा निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।

‘कोरोना संक्रमणका कारण गत वर्ष धेरै हदसम्म काम गर्न सकेनौं । सामाजिक सञ्जालमार्फत केही हदसम्म बाथरोगबारे जानकारी दिने प्रयास ग¥यौं’—नेशनल बाथरोग सेन्टरका निर्देशक डा. रोशन कक्षपति भन्नुहुन्छ— ‘यो वर्ष पनि कोरोना भाइरस संक्रमणदर बढिरहेकाले एकसाता बाथ परामर्श र पहिचान निःशुल्क गर्यौं ।’

खासगरी समुदाय, छरछिमेकमा औंलाहरु दुख्ने, सुन्निने समस्या भएकाहरु निःशुल्क परीक्षण गरेर बाथरोग हुनसक्ने सम्भावना पहिचान गर्न सकिन्छ । बाथरोगको पहिचानपश्चात् थप उपचारका लागि मार्गदर्शन गर्न सहज हुने विश्वास लिएको डा. कक्षपतिको भनाई छ ।

अभियान

यस अभियानअन्तर्गत बाथको लक्षण देखिएका जनसंख्याको पहिचान गर्ने र उपचारमा रहेका व्यक्तिहरुलाई निरन्तर उपचार गर्न प्रेरित गर्ने यसको उदेश्य रहेको कक्षपतिले स्पष्ट पार्नुभयो ।

‘आठ वर्षको अनुभवबाट यस किसिमको सोच आएको हो । काठमाडौं, भक्तपुर, ललितपुर, वुटवल, पोखरा, बिर्तामोडमा सेन्टरका शाखाहरु विस्तार गरिएको छ ।’—कक्षपति भन्नुहुन्छ—‘तुलसीपुर, टनकपुर र चितवनमा पनि शाखाहरु बिस्तार गर्दैछौं । अवका दिनहरुमा केन्द्रमा मात्र केन्द्रित नभई जिल्ला, गाउँमा पनि पुग्न आवश्यक छ । सबै नागरिक काठामाडौँमा आउनसक्ने अवस्था नभएकाले गाउँ–गाउँमा पुगेर बाथरोगसम्बन्धि जानकारी र उपचार दिने हाम्रो लक्ष्य हो ।’

केन्द्रले समुदायस्तरमा बाथरोग सेवा प्रदान गर्न अर्को योजना बनाएको छ । वेभ वेस क्लिनिकअन्तर्गत बाथरोगमा काम गर्न चाहने स्वास्थ्यकर्मी, नर्स, हेल्थ असिस्टेन्टहरुलाई तालिम दिएर दुर्गम ठाउँहरुमा सेवा दिने योजना बनाएको कक्षपतिले स्पष्ट पार्नुभयो ।

बाथरोग उपचारमा लाग्ने खर्च

बाथरोग पहिचान गर्दा शुरुमा अलि महँगो पर्छ । पहिचानको क्रममा इम्युनोलोजिकल टेस्टहरु अलि महँगो पर्नसक्छ । यसमा करिब ८—१० हजार खर्च हुनसक्छ । तुलनात्मक रुपमा परीक्षण शुल्क केही हदसम्म सस्तो भएको छ । समयमै बाथरोगको पहिचान गर्नसके स्वास्थ्यको गुणस्तरतामा वृद्धि हुने उहाँको बुझाइ छ ।

औषधि सेवन गरिरहेका बाथरोगीहरुले औषधिको साइड इफेक्ट र रोग नियन्त्रण भएनभएको एकिन गर्न ६ महिनाको बीचमा सिआरपी, सिभिसी, एलएफटी, आरएफटी गरिरहनुपर्छ । यो शुल्क करिब तीन हजार जति पर्नसक्छ । तर औषधिको सरदर खर्च मासिक रुपमा १ हजार ८ सयदेखि २ हजारसम्म आउँछ । तर रोग निको भयो भनेर औषधि छोडेर पुनः बाथ बल्झिएर आएका बिरामीहरुको सबै परीक्षण गर्नुपर्ने भएकाले खर्च बढ्छ । त्यसैले बाथरोगीहरुले नियमित औषधि सेवन गर्नुपर्ने कक्षपतिको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्