Logo
|
Saturday 20th April 2024
Logo

epaper

ओमिक्रोन संक्रमणबाट विकास भएको एन्टीबडीले डेल्टा भेरियन्टविरुद्ध सुरक्षा प्रदान गर्छः अध्ययन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ओमिक्रोन संक्रमण भइ निको भएका व्यक्तिको शरीरमा विकास हुने एन्टीबडीले कोरोनाका सबैखाले भेरियन्टविरुद्ध सुरक्षा प्रदान गर्ने एक अध्ययनले देखाएको छ ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले हालसालै गरेको एक अध्ययनका अनुसार ओमिक्रोन भेरियन्टबाट संक्रमणमुक्त भएका व्यक्तिको शरीरमा बनेको प्राकृतिक एन्टीबडीले कोरोनाको घातक डेल्टा भेरियन्ट विरुद्ध सुरक्षा प्रदान गर्ने देखाएको हो ।

आइसीएमआरका अनुसार ओमिक्रोन भेरियन्टबाट संक्रमित ३९ जना व्यक्तिहरुको नमुना संकलन गरिएको थियो । जसमध्ये २५ जनाले कोरोना विरुद्धको खोप कोभिशिल्डको पूर्ण मात्रा लगाएका थिए । यस्तै ८ जनाले फाइजर एन्ड बायोएनटेकको पूर्ण मात्रा खोप लगाएका थिए । बाँकी ६ जनाले भने कोरोनाविरुद्धको कुनैपनि खोप लगाएका थिएनन् ।

अध्ययनमा सहभागी २८ जना दुबई, अमेरिका र ब्रिटेनबाट स्वदेश फर्किएका थिए । बाँकी ११ जना उनीहरुको प्रत्यक्ष सम्पर्कमा आएका थिए ।
संक्रमणमुक्त भएका सबै व्यक्तिहरुको शरीरमा विकसित भएको रोग प्रतिरोधात्मक क्षमता (एन्टीबडी) ले ओमिक्रोन, डेल्टा र अन्य सबै प्रकारका भेरियन्टबाट सुरक्षा दिन सक्षम रहको अध्ययनमा उल्लेख छ ।

यद्यपि, नमूनाको आकार सानो भएकाले यस अध्ययनमा केही सीमितता रहेको अध्यनकर्ताले बताएका छन् । साथै कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिको नमूना र संक्रमण पछिको अवधि पनि थोरै रहेको उनीहरुको भनाई छ ।

ओमिक्रोन संक्रमणबाट निको भएका व्यक्तिहरूमा कोरोनाका सबै प्रकारविरुद्ध बलियो प्रतिरोधात्मक क्षमता देखाउनु राम्रो संकेत हो । ओमिक्रोनका कारण संक्रमणका घटनाहरू तीव्र गतिमा बढ्दै गए पनि यसले डेल्टा जस्ता खतरनाक भेरियन्टलाई रोक्न मद्धत गर्ने विज्ञको भनाइ छ ।

आइसीएमआरले गरेको यो अध्ययन २६ जनवरीमा Bio-Rxiv प्री प्रिन्ट सर्भरमा प्रकाशन भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्