Logo
|
Friday 29th March 2024
Logo

epaper

‘खर्चको अभावमा बिरामीलाई अस्पतालले निकाल्दा मन कटक्क खान्छ’



जनस्वास्थ्य सराकोर, काठमाडौँ । विगत आठ वर्षदेखि नर्सिङ पेशामा समर्पित भएर काम गरिरहुनभएकी चन्द्रिका लामालाई आँखा अगाडि जीवन र मृत्युबीच लडिरहका बिरामी देख्दा भक्कानो छुटेर आउँछ ।

‘पेशाले नर्स भएपनि मभित्र पनि मानवता छ । कतिपय व्यक्तिहरु उपचार खर्च भुक्तानी गर्न नसकेर अस्पतालबाट निकालिन्छन् ।’—नर्स चन्द्रिका भन्नुहुन्छ—‘यस्ता घट्नाहरु देख्दा मन दुख्छ । पीडित व्यक्ति म कहाँ आएर रुँदा मन कटक्क खान्छ । तर नर्स पोशाक लगाइसकेपछि मन दह्रो बनाएर सेवामा खटिनु नर्सको बाद्यता रहेछ ।’

नर्स चन्द्रिकाले सन् २०१८ मा ब्याचलर इन नर्सिङको अध्ययन ‘बीएन्डबी मेडिकल इन्स्टिच्युट’ बाट पूरा गर्नुभयो । उहाँले ब्याचलर इन नर्सिङ अध्ययन सकेपछि बीएन्डबी अस्पतालमै करिब सात वर्ष काम गर्नुभयो । कामको शिलशिलामा उहाँले अस्पतालको काम र बिरामीको अवस्थालाई नजिकबाट नियाल्ने अवसर पाउनुभयो । हाल उहाँ एउटा क्लिनिकमा आंशिक समय काम गरिरहनु भएको छ । भविष्यमा चन्द्रिकाले नर्सिङमा मास्टर गर्ने सोच बनाउनु भएको छ ।

निरन्तर आठ वर्षदेखि बिरामीको सेवामा तल्लिन रहनुभएकी चन्द्रिकासँग बिरामीसँग कस्तो व्यवहार गर्ने ? बिरामीको उपचार सहज तरिकाले कसरी गर्न सकिन्छ ? बिरामीको विश्वास कसरी जित्नेलगायतका व्यवहारिक ज्ञान छ ।

उहाँले प्रायः अस्पतालका सबै ठाउँतिर काम गर्ने अवसर पाउनुभयो । जसमध्ये उहाँ सबैभन्दा बढी मेडिकल वार्ड, सर्जिकल, आइसियू र कोरोनाकालमा दुई वर्ष ड्युटीमा खटिनुभयो ।

नर्स र बिरामीबीचको सम्बन्ध

‘सात वर्षको अनुभवमा मैले धेरै कुरा सिक्ने मौका पाएँ । बिरामीको नजिक गएर उहाँहरुको कुरा सुनिदिँदा पनि उपचारमा धेरै सहज हुँदोरहेछ । सर्वप्रथम नर्सहरुले बिरामीको विश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हो ।’

चन्द्रिका भन्नुहुन्छ— ‘बिरामीकोे शारीरिक र मानसिक अवस्था बुझेर व्यवहार गर्न धेरै आवश्यक हुन्छ । बिरामीले नर्सप्रति विश्वास गरेपछि सम्बन्ध आफैँ सुमधुर भएर जान्छ ।’

जिम्मेवारी धेरै

झट्ट हेर्दा नर्सिङमा धेरै जिम्मेवारी नभए जस्तो देखिन्छ । कतिपय व्यक्तिले नर्सको काम बिरामी वार्डमा जाने, रक्तचाप जाँच्ने, औषधि दिने मात्र हो, भनेर बुझ्नुहुन्छ । तर नर्सको हरेक व्यवहारलाई बिरामीले नजिकबाट नियालिरहेका हुन्छन् । धेरैजसो बिरामी इन्जेक्सन लगाउँदा डराउने, रुने, रिसाउने, आनाकानी गर्ने गर्नुहुन्छ । यस्तो परिस्थितिमा नर्सहरुले संयम भएर बिरामीको मनोदशा बुझेर व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो ।

बिरामी अनुकूल व्यवहार

बिरामीलाई कुन किसिमको सहयोग चाहिएको छ ? यस कुरालाई नर्सले विशेष ध्यान दिनुपर्छ । बिरामीको अवस्था हेरेर के कुरालाई प्राथमिकता दिने भनेर नर्सलाई हेक्का हुनुपर्छ ।

नर्सहरु चौबीसै घण्टा ड्युटीमा हुने भएकाले बिरामी अनुकूल व्यवहार गर्न पनि सिक्नुपर्ने उहाँको सुझाव छ ।

खुसीको क्षण

बिरामी निको भएर घर जाँदा खुसी लाग्छ । सुरुमा खराब स्थितिमा आएको बिरामी उपचारपछि ‘सिस्टर, म निको भएँ नि’ भनेर आउँदा गर्व महशुस हुन्छ । नर्सको व्यवहारबाट खुसी भएर कतिपयले उपहार पनि बोकेर आउनुहुन्छ । धेरै जना बिरामी निको भएर गइसकेपछि पुनः सम्झेर भेट्न आउँदा आफू र पेशाप्रति गर्व लाग्ने नर्स चन्द्रिको भनाइ छ ।

सपना

अस्पतालमा काम गर्दा गरिब, असहाय व्यक्तिहरुले साथमा यथेष्ट उपचार खर्च नभएर धेरै दुःख पाएको देखेको छु । त्यसैले भविष्यमा आर्थिक रुपमा सक्षम भएपछि आपत्मा परेका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने उहाँको सपना छ ।

राज्यस्तरबाट सुधार आवश्यक

नर्सहरुले धेरै कुरा नजिकबाट देखिरहेका हुन्छौं । त्यसैगरी राज्यस्तरबाट पनि अस्पतालहरुको अवलोकन गर्न आवश्यक छ । राज्यले नयाँ–नयाँ उपकरण ल्याएर उपचार सहज र सर्वसुलभ बनाउनुपर्छ । प्राथमिक उपचार तथा सडक दुर्घटना भएका व्यक्तिहरुको उपचार छिटो, छरितो हुनुपर्ने नर्स चन्द्रिको सुझाव छ ।

नर्सको व्यवस्थापनतिर पनि राज्यको ध्यान जाुनपर्छ । नर्सहरुको व्यवस्थापनमा ध्यान नदिँदा धेरैजना विदेश जान बाध्य छन् । स्वदेशको जनशक्तिलाई सही तरिकाले परिचालन गर्न आवश्यक भएको चन्द्रिका बताउहुन्छ ।

प्रतिक्रिया दिनुहोस्